एमसीसी अन्ततः देउवाकै काँधमा

अनलाइनखबर

कमलदेव भट्टराई

२०७४ सालमा आफैं प्रधानमन्त्री हुँदा अमेरिकी सरकारसँग सम्झौता गरेको ५०० मिलियन अमेरिकी डलर बराबरको एमसीसी सम्झौता संसदबाट पारित गर्ने जिम्मेवारी घुमिफिरी अन्ततः प्रधानमन्त्री शेरबहादुर देउवाकै काँधमा आएको छ ।

त्यतिबेला देउवाका विश्वासपात्र ज्ञानेन्द्रबहादुर कार्कीले अर्थमन्त्रीको हैसियतमा अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौतामा हस्ताक्षर गरेका थिए । कार्की अहिले पनि देउवाको क्याबिनेटमा छन् तर कानूनमन्त्रीको हैसियतमा ।

देउवाले अमेरिका लगायत पश्चिमा मुलुकहरूसँग राम्रो सम्बन्ध भएको नेताको परिचय बनाएका कारण पनि उनले एमसीसीलाई अगाडि बढाउने धेरैको बुझाइ छ । प्रतिपक्षमा रहँदा देउवाले पटक–पटक सार्वजनिक रूपमा एमसीसीलाई जस्ताको तस्तै पारित गर्नुपर्ने अभिव्यक्ति दिएका छन् ।

मंगलबार देउवाले प्रधानमन्त्रीको रूपमा शपथ खाएलगत्तै सबैभन्दा पहिले नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले बधाई दिएका थिए । बिहीबार अमेरिकी राजदूतसँगको भेटपछि देउवाले ट्वीट गर्दै भनेका छन्, ‘मेरो कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध र साझेदारी अझै गहन बनाउन चाहेको छु ।’

नेपालमा यतिवेला अमेरिकी सरकारको एउटा महत्वपूर्ण प्राथमिकता एमसीसीको अनुमोदन हो । एमसीसीलाई पारित गर्ने सम्बन्धमा सत्तारुढ नेपाली कांग्रेसभित्र विवाद छैन । तर, सत्ताको एक प्रमुख घटक नेकपा माओवादी केन्द्रभित्र भने एमसीसीको विषयमा विभिन्न मत रहेका छन् ।

माओवादीका केही नेता एमसीसीलाई कुनै पनि हालतमा पारित गर्नुहुन्न भन्ने पक्षमा छन् । अध्यक्ष पुष्पकमल दाहालले भने यसमा केही संशोधन आवश्यक रहेको तर मूलभूत रूपमा पारित गर्ने पक्षमा आफू रहेको सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।

कूटनीतिक मामिलाविज्ञ गेजा शर्मा वाग्ले आफ्नो कार्यकालमा हस्ताक्षर भएको एमसीसीलाई कार्यान्वयन गर्नु देउवाको उच्च प्राथमिकता हुने बताउँछन् । ‘तर गठबन्धनमा रहेको माओवादीको एमसीसीमा रिजर्भेसन भएको हुनाले अहिले देउवाले माओवादी लगायत प्रमुख राजनीतिक दलहरूसँग परामर्श र माओवादीलाई समेत फेस सेभ हुने गरी एमसीसी कार्यान्वयनलाई उच्च प्राथमिकता दिने देखिन्छ,’ वाग्लेले भने, ‘एमसीसी र बीआरआई जस्ता परियोजना राष्ट्रिय आवश्यकता र राष्ट्रिय सहमतिको आधारमा अगाडि बढाउनु उपयुक्त हुन्छ । त्यो वास्तविकतालाई पनि देउवाले आत्मसात् गर्न जरूरी छ ।’

प्रकाशित मिति: : 2021-07-15 15:34:00

प्रतिकृया दिनुहोस्