सकसपूर्ण सात महिना र ओली सत्ताको बहिर्गमन

अनलाइनखबर

काठमाडौं

सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभाबाट प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउनु नेपालको संसदीय इतिहासमा नौलो घटना बनेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा ६१ सांसद रहेको नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री हुनु र विश्वासको मत लिन जाँदा १६५ मत पाउनुमा नेकपा एमालेभित्रको कलह प्रमुख कारण थियो ।

२७ असारको १० बुँदे सहमतिअनुसार एमाले एकताबद्ध भएको भए देउवाले विश्वासको मत पाउँथे वा पाउँदैन् भने आफैंमा प्रश्न छ । किनकि दलगत रूपमा काँग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जनता समाजवादी पार्टी (जसपा) का २० र राष्ट्रिय जनमोर्चाका एक सांसद मात्र उनको पक्षमा देखिएका थिए ।

तर जसपाको महन्थ ठाकुर पक्षका १२ सांसद र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले पनि मत दिए । एमालेकै सांसदले प्रधानमन्त्री देउवालाई मत दिनु असाधरण, अस्वाभाविक र चरम अनैतिक भएको अध्यक्ष केपी शर्मा ओलीको निष्कर्ष छ । ‘माधव नेपाल कम्युनिष्ट आन्दोलनकै गद्दार हो’ सोमबार पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले भने ।

प्रधानमन्त्री पदबाट पदमुक्त भएपछि ओलीले माधव नेपालविरुद्ध एकपछि अर्को गम्भीर आरोप लगाइरहेका छन् । सरकारी निवास बालुवाटार छोडेर बालकोट फर्किएका ओलीले बार्दलीमा उभिएर नेपाललाई ‘गद्दार’को आरोप लगाएका थिए । जबकी एमालेमा एकताका लागि ठूलै प्रयत्न गरेका दोस्रो तहका नेताहरूले २७ असारमा १० बुँदे सहमति जुटाएका थिए ।

प्रकाशित मिति: : 2021-07-20 14:25:00

प्रतिकृया दिनुहोस्