ओलम्पिक: अष्ट्रेलियासँग अर्जेन्टिनाको हार

Photo - AFP
Photo - AFP

टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा अर्जेन्टिनाको यु–२३ टोलीले अष्ट्रेलियासँग हार बेहोरेको छ।

बिहीबार भएको खेलमा अष्ट्रेलियाले अर्जेन्टिनालाई २-० गोल अन्तरले पराजित गरेको हो। अष्ट्रेलियाको जितमा लाचलान वालेस र मार्काे टिलियोले गोल गरे।

खेलको १४औं मिनेटमा लाचलान वालेसले गोल गर्दै अष्ट्रेलियालाई १–० को अग्रता दिलाए। उनले मिटचेल डुकेको पासमा गोल गरेका थिए। पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा फ्रान्सिस्को ओर्टेगा दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि अर्जेन्टिनामा समस्यामा परेको थियो।

खेल सकिन १० मिनेट बाँकी रहँदा मार्काे टिलियोले गोल गर्दै अर्जेन्टिनालाई २–० को हार चखाए।

मार्काे टिलियोले मिटचेल डुकेकै पासमा गोल गरेको थियो। यो समूहको अर्काे खेलमा इजिप्ट र स्पेनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। 

जितसँगै समूह सी को अष्ट्रेलियाले ३ अंक जोडेको छ। अर्जेन्टिनाले भने हारबाट ओलम्पिकको सुरुवात गरेको छ।

प्रकाशित मिति: : 2021-07-23 06:15:00

प्रतिकृया दिनुहोस्