भदौमै होला त कांग्रेस महाधिवेशन ?

अनलाइनखबर

खगेन्द्र भण्डारी

नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार काम भएको भए यति बेला क्रियाशील सदस्यताको सूची प्रत्येक वडामा पुगिसकेको हुन्थ्यो ।

गाउँगाउँमा महाधिवेशनको चहलपहल शुरु भइसक्थ्यो । १२ साउनमा वडा अधिवेशनको मिति तोकिएकाले केन्द्रीय नेताहरु पनि अहिले आआफ्नो गृहजिल्लामा पुगिसक्थे । तर स्थानीय अधिवेशन शुरु हुन तीन दिन मात्रै बाँकी हुँदा कांग्रेसको क्रियाशील सदस्यताको काम टुंगिएको छैन ।

क्रियाशील सदस्यता छानबिन नटुंगिएकै कारण शनिबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले १२ साउनमा तोकिएको वडा अधिवेशन स्थगित गरेको छ ।

महाधिवेशनको कार्यतालिका अनुसार २० असारभित्र क्रियाशील सदस्यता छानबिन समितिले सदस्यताको अन्तिम सूची सभापतिलाई बुझाइसक्नुपर्ने हो । ३० असारभित्र क्रियाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाइसक्नुपर्ने कार्यतालिकामा उल्लेख छ । तर समितिले सभापतिलाई अझै क्रियाशील सदस्यता सूची बुझाइसकेको छैन । यसका लागि छानबिन समितिले साउन १२ गतेको समय लिएको छ ।

कार्यतालिका अनुसार काम नहुँदा महाधिवेशन प्रभावित हुने निश्चित छ । महाधिवेशनलाई लिएर कांग्रेस नेता कार्यकर्तामा अनिश्चिता र अन्यौलता बढ्दै गएका बेला कांग्रेसले कुनै निर्णय गरिसकेको छैन ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशनको अन्तिम मिति नसर्ने गरी स्थानीय अधिवेशनको कार्यतालिका फेरबदल हुन सक्ने बताए । ‘केन्द्रीय महाधिवेशन भदौ १६-१९ गते नै गर्ने गरी अरु अधिवेशनको मिति केहि पर धकेलिनसक्छ,’ उनले भने, क्रियाशील सदस्यताकै काम नसकिएकाले कार्यतालिका प्रभावित भइसकेको छ ।’

४ असारमा बसेको केन्द्रीय समिति बैठकले अन्तिम पटकका लागि भन्दै महाधिवेशन कार्यतालिका परिमार्जन गरेको थियो । कार्यतालिका अनुसार वडा अधिवेश १२ साउन, पालिका अधिवेशन १६ साउन, प्रदेश सभा क्षेत्रीय अधिवेशन २० साउन, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन, प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन १६-१९ भदौमा काठमाडौंमा गर्ने गरी प्रस्ताव पारित गरेको थियो ।

पटकपटक कार्यतालिका संशोधन गर्दै आएको कांग्रेसका लागि भदौ तेस्रो सातासम्म महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने कानूनी बाध्यता छ । पार्टी विधान अनुसार प्रत्येक चार वर्षमा महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । २०७६ फागुनमै कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भइसक्नुपर्ने हो तर विधानले दिएको एक वर्षको सुविधा प्रयोग गर्दै २०७७ फागुन ७-१० गतेसम्म महाधिवेशनको समय तोकिएको थियो तर कोरोना महामारीसँगै पार्टीको सांगठानिक समायोजनको काम पनि बाँकी रहेकाले कांग्रेसले कानूनी सहारा लिँदै महाधिवेशन कार्यतालिका संशोधन गरेको हो । भदौमा महाधिवेशन गर्न नसके कांग्रेसको वैधानिकतामाथि प्रश्न उठ्ने जोखिम छ । त्यसैले पनि कांग्रेसलाई भदौमा महाधिवेशन गर्नैपर्ने दबाब छ ।

प्रकाशित मिति: : 2021-07-25 07:31:00

प्रतिकृया दिनुहोस्