२४ वर्षीय अतुल हाँक्दैछन् लक्ष्मी स्टिल कम्पनी

सेतोपाटी

काठमाडौँ

निर्मला घिमिरे 

 

अध्ययनका लागि विदेसिएका अधिकांश नेपाली युवा उतै केही पेसा-व्यवसाय गरेर बस्छन्। कमै युवा फर्किएर काम गर्छन्। तिनै कममध्ये एक हुन् २४ वर्षीय अतुल न्यौपाने।

अमेरिकाबाट बिबिए सकाएका उनी हाल लक्ष्मी स्टिल हाँकिरहेका छन्। कम्पनीमा निर्देशकका रूपमा जिम्मेवारी सम्हाल्दा अतुल मात्र २२ वर्षका थिए।

'अमेरिकामा अन्तिम सेमेस्टर पढ्दै थिएँ, कोरोना महामारी सुरू भयो। नेपाल फर्किएर अनलाइनबाटै परीक्षा दिएँ। त्यसपछि अब यतै केही गर्छु भनेर लक्ष्मी स्टिल रोजेको हुँ,' अतुलले भने।

व्यापारिक घराना सौरभ समूह अतुलका हजुरबुवा लिलारामले स्थापना गरेका हुन्। यसका दर्जन भगिनी कम्पनीमध्ये लक्ष्मी स्टिल एक हो। अतुलका बुवा टिकाराम अहिले कम्पनीमै निर्देशक छन्।

अतुल सानै उमेरदेखि विदेश बसेका हुन्। विद्यालय तह भारतमा र बाँकी लन्डन हुँदै अमेरिकामा पढे। विदेशमै हुर्किए पनि पहिलेदेखि नेपालमै केही गर्ने सोच थियो उनको। यसमा पनि स्टिल व्यवसायमा रूचि भएकाले सोही क्षेत्र रोजेको उनी बताउँछन्।

'स्टिलको बजार एकदमै प्रतिस्पर्धी छ। काम गर्न मज्जा लाग्ने भएकाले मैले यही कम्पनी रोजेँ,' लक्ष्मी स्टिलमा आवद्ध हुनुको कारण सुनाए उनले।

प्रकाशित मिति: : 2021-07-27 21:04:00

प्रतिकृया दिनुहोस्