रतनसिंहकाे विस्तार भएकाे सेवा: मोटरसाइकलमा बिरामी बाेक्नेदेखि आफ्नै खर्चमा उपचार गराउनेसम्म (भिडियोसहित)

अघिल्लो वर्ष लकडाउन हुँदा मोटरसाइकलमा गाउँका बिरामी अस्पताल पुर्‍याएर उपचार गराउन सहयाेग गर्ने जुम्ला गुठीचौर गाउँपालिका वडा नं. २ गुठी गाउँका रतनसिंह बाेहाेराकाे स्वयंसेवाबारे बिएल नेपाली सेवामा स्टाेरी प्रकाशन भएकाे थियाे। 'बाइक एम्बुलेन्स बनाएर बिरामी बोक्ने केटो' शीर्षकमा। उनले त्यतिबेला भनेकाे एउटा मार्मिक भनाइ थियाे, 'हरेक बिरामीमा आमाको अनुहार देख्छु।'

उनले यसाे भन्नुकाे पछाडि एउटा मन रुवाउने कथा छ। जाे एकादेशकाे नभई उनकी आमाकाे हाे। उपचारका लागि खर्च र सुविधासम्पन्न अस्पतालकाे अभाव भएपछि उनी आमाले अकालमा मृत्युुवरण गरेकी थिइन्। त्यस बेला आमाले भाेगेकाे पीडाले आज पनि उनलाई बेचैन बनाउँछ। त्यसपछि उनी आमाले जस्तै उपचार नपाएर काेही मर्नु नपाराेस् भने लागिरहेका छन्।

घटना रतनसिंह १२ वर्ष हुँदाकाे हाे। त्यतिबेला उनकी आमा गर्भवती थिइन्। उनलाई सुत्केरी व्यथा लाग्यो। घरमा आमाको चित्कार यति भयानक थियो कि जसले घरको वातावरण आतङ्कमय बनायाे। सुरुको दिनमा त सुडेनी बज्यैहरुले आमालाई आफ्ना कहानी सुनाएर सान्तवना दिइरहेका थिए। बा र उनी भने डराउँदै भित्र बाहिर गरिरहे।

आमाको चित्कारले आतङ्कित बनेका उनीहरु कति बेला भाइ वा बहिनी रोएको आवाज आउँछ भनेर कान ठाडा बनाइहे। यसरी कान ठाडा बनाएको दुई दिनसम्म आमाकाे चित्कार मात्र सुनियाे। तेस्राे दिनको दिन साँझतिर भाइ रोएको आवाज आयो। बल्ल उनीहरु र सुडेनी बज्यैहरूले लामो सास फेरे। आमा भने विश्वयुद्धमा घाइते भएको सिपाही जस्तो थकित थिइन्।

रतनका भाइको आगमन पछि सुडेनी बज्यैहरु आ–आफ्नो घर लागे। बाले आमाको स्याहार गर्न थाले। तीन दिनसम्मको लामो अनि भयानक युद्व लडेर भाइलाई जन्म दिन सकेकी आमा भाइ जन्मेकै दिन सदाका लागि बिदा भइन्।

आमा बिदा भए पनि उनले भाइ नासो छाेडेर गएकी थिइन् तर घरमा महिला कोही थिएनन्। सुत्केरी महिला खोज्दै गाउँ चाहार्दै भाइकाे लागि दूधकाे बन्दाेबस्त गर्नुपर्थ्याे तर संयाेग प्रशस्त दूध आउने काेही महिला भेेटिएनन्।

शायद् उनीहरुले पोषणयुक्त खाना पाएका थिएनन्। केही दिन त उनीहरुले आफ्ना बच्चाको भाग काटेर भाइलाई दिए पनि तर सधैँ त्यो सम्भव भएन। अनि राति उनीहरुका दूधबाट टाढा रहने भाइको पेट आधा हुन्थ्यो।

जन्मिँदै अघाउन्जेल दूध खान नपाएको टुहुरो भाइको पेट भर्न उनीहरुले सकेनन्। परिणाम, जन्मेको बीसौँ दिनमा भाइले पनि आमाको बाटो समात्यो। भाइ जन्मिँदा आमाले भोगेको प्रशव पीडा र आमाको मृत्युपछि दुध खान नपाएको भाइको विजोग देखेर रतनलाई अहिले पनि रिँगटा लागेर आउँछ। आज आएर आमा र भाइ सम्झना मात्र सीमित छन्। उनीहरुकाे सम्झनलाई जीवित बनाइराख्न पनि उनी माेटरसाइकलमा बिरामी बाेक्ने र बिरामीलाई सहयाेग गर्ने गरिरहन्छन्।

आमाको गहिरो स्मृति सुनाउँदा उनीका आँखा नरसाएकाे सायदै हाेला। आमाको वियोगले भारी बनेका उनी आँसु खसाल्दा थोरै हल्का हुन्छन्। बिरामीको सेवा गर्दा भने पानी परेपछि निख्रिएको आकाश जस्तै हुन्छन्। बिरामीको सेवा गर्दा उनलाई प्रशव पीडा खेपेर सन्तान जन्माएकी आमालाई झैँ औधि सन्तुष्टि मिल्छ।

अघिल्लो लकडाउनदेखि याे निषेधाज्ञाकाे अवधिसम्म रतनले कति बिरामी बाेके याद छैन। त्यसकाे लेखाजोखा राख्नलाई उनी स्वयंसेवामा लागेका पनि हाेइनन् तर याे असारमा मात्रै १५ जना बिरामी बाेकेकाे देखेपछि उनीकाे बारेमा फेरि लेख्न मन लाग्याे।

यसबीचमा हामीले कयौँपटक सँगै बसेर कफी खायाैँ। धेरै पल्टआधा कफी खाँदै उनी निस्किएका छन्, बिरामी बाेक्ने भनेर। कति पटक बाइक बिरामी बाेकेकाे देखेका छाैं। केही दिनअगाडि उनी जुम्ला एयरपोर्टमा भेटिएका थिए। त्याे दिन उनी एक जना सिकिस्त बिरामी काठमाडौं पठाउन लागेका थिए।

गाउँबाट बिरामी बाेकेर अस्पताल ल्याउँदा डाक्टरले 'यहाँ उपचार नहुने' भन्दै काठमाडौं रेफर गरे। तर बिरामीसँग पैसा थिएन। उनले ५० हजार रुपैयाँ सहयोग गरेर काठमाडौं पठाए। नेपालजन्जमा उनका बिरामीलाई काठमाडौं लैजान हवाइजहाजकाे लागि टिकटकाे व्यवस्था पनि उनी आफैँले गरे।

मैले उनलाई पैसाकाे व्यवस्थापन कसरी भइरहेको छ? भनी प्रश्न गरेका थिए। उनले आफ्नाे याेजना सुनाए, 'हामीले गाउँमा झण्डै पचार हजार वर्गमीटर जमिन भाडामा लिएर जडिबुटी खेती गर्ने याेजना बनाएका छाैँ। त्यही अनुसार काम पनि भइरहेको छ। अहिले झण्डै सय जना कामदार काम गरिरहेका छन्। उनीहरु सबैजनाले पाउने ज्याला र हाम्राे कमाइबाट दैनिक २५ रुपियाँ सङ्कलन गरेर वेल्फेयर फन्ड बनाएका छाैं। यसले कामदार, उनीहरुकाे घर परिवार तथा गाउँमा काेही विपन्न बिरामी हुँदा उपचार गर्नलाई खर्च व्यहाेर्ने भनेका छाैं।'

यसपालि उनले आफ्नै गाेजीकाे पैसा दिएर उक्त काेषलाई चलायमान बनाए। यसरी गाउँकाे बिरामीलाई अस्पताल पुगाउन दिलाेज्यान लगाउने प्रेरणका स्राेत उनीकी आमा हुन। जुन कुरा बताउन उनी कहिल्यै पछि पर्दैनन्।

उनलाई लाग्छ– उपचार नपाएर आमाको मृत्यु भएको आजै हाे। त्यसैले गाउँमा कोही महिला बिरामी परेपछि उनमा आमाको अनुहार देख्छन् र उनलाई असह्य पीडा हुन्छ। महिला  मात्र होइन हरेक बिरामीमा उनी आफ्नी आमाको पीडा देख्छन्। उनलाई लाग्छ, 'मैले यिनीहरुको नियति मेरो आमाजस्तो हुन दिनुहुन्न।' जब उनी बिरामीलाई अस्पतालको शैय्यामा पुर्‍याउँछन् तब उनी सन्तोषको सास फेर्छन्।

'आमाले उपचार पाएर बाँचेजस्तो कल्पना गर्छु। सन्तोषको सास फेर्छु। लाग्छ आमा बाँचेको भए म झन् कत्ति खुसी हुन्थेँ होला,' लामो सास तान्दा उनको अनुहार बिहानको सूर्यजस्तो चम्किलो भयो।

बिएल नेपाली सेवामा पहिलाे पटक उनकाे बारेमा स्टाेरी आएपछि उनका धेरै आफन्त साथीभाइले फाेन गरेर धन्यवाद दिए। निरन्तरताकाे कामना गरेे। उनी झन् उत्साहित भए। यस्ताे बेला उनी अक्सर आमालाई सम्झिन्छन्। २० दिनका भाइकाे निर्दोष चेेहेरा उनकाे अगाडि झल्झली खेल्न थाल्छ।

दूध खान नपाएर झाेक्राएकाे अनुहार देख्दा उनलाई असैह्य पीडा हुन्छ। पीडा कम गर्न पनि मोटरसाइकल कुदाइरहन्छन्। जब बिरामी मोटरसाइकलमा बसेर उनकाे पिठ्युँमा टाँसिन पुग्छन् तब आमाले धाप मारेर स्याबास भनेझैं लाग्छ। मोटरसाइकल गुड्दा चल्ने सिरसिर बतासले उनलाई शितल बनाउँछ।

अघिल्लो वर्ष दाेस्राे पटक लकडाउन लम्बिदा उनी नेपालगञ्जबाट जुम्ला फर्किने बेला बबईमा उनलाई प्रहरीले राेक्याे। उनीसँगै अरु यात्रुहरु पनि राेकिएका थिए तर उनीहरु सबैसँग प्रशासनले दिएकाे अनुमती पत्र थियाे। सबैलाई प्रहरीले एकएक गरि छाेड्याे। उनीमात्र एक्लै राेकिए।

प्रहरीले उनलाई पास बनाएर आउन भन्याे तर त्याे झञ्झटिलाे प्रक्रियासँग उनी परिचित थिएनन्। प्रशासनमा पहुँच पनि थिएन। एक्लै निराश भएकाे बेला उनलाई प्रहरीले साेध्याे, 'के गर्नुहुन्छ?' भनेर।

उनले भने, 'मैले माेबाइलमा बिएल नेपाली सेवामा आएकाेकाे स्टाेरीकाे फिचर फाेटाे स्क्रिन सट गरेर 'वालपेपर' बनाएकाे थिए। त्याे देखाएर बिरामी ओसारपसारकाे काम गर्छु भने। त्यसपछि प्रहरीले अघि नै देखाउनुपर्दैन भनेर छाेडिदियाे। मलाई त्याे घटनाले झन् उत्साहित गरायाे।'

लकडाउनको बेला सबैभन्दा बढी बिरामी बोकेका उनलाई सुरू–सुरुमा पुलिसले रोकेर सताउँथ्यो। उनले पास बनाएका थिएनन्। तर पछि बिरामी बोकिरहेको देखेपछि पुलिसहरुले रोक्ने र सोधपुछ गर्न छोडे। सायद उनले सेवा गरेको देखेर होला आजभोलि पुलिसहरु उनलाई देख्दा मुसुक्क मुस्काउँछन्। केही बोल्दैनन्। उनीहरुको मुस्कानले नै आत्मियता प्रकट गरिरहेको जस्तो लाग्छ। कडा निषेधाज्ञाकाे बीचमा पनि उनकाे मोटरसाइकल कुदिरहयाे।

यसरी उनले नाफाकाे लागि व्यवसाय गर्न खाेज्दा पनि सेवा भावनालाई उच्च प्राथमिकता दिएका छन्। त्यसैले उनकाे मोटरसाइकल निरन्तर चलिरहेको छ। उक्त फाेटाे गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले देख्दा 'राम्राे गरेकाे छस् है' भनेर उत्प्रेरणा दिए। यी सबै कारणले उनी आफ्नाे बाइकलाई सँधैभरिकाे लागि एम्बुलेन्स बनाइरहन चाहन्छन्।

यसअलबा उनले भविष्यमा आम्दानी राम्राे भएकाे खण्डमा एउटा गाडी किन्ने साेचेका छन्। त्यसलाई पनि एम्बुलेन्स जस्तै बनाएर गाउँका जनताकाे सेवा गर्ने उनकाे साेच छ। हालसम्म उनकाे गाउँमा सडक पुगेको छैन।

केही ठाउँमा सडक पुगेको भए पनि गाउँपालिकामा एम्बुलेन्सको सुविधा छैन। गाउँपालिकाका पदाधिकारी चड्ने महङ्गा गाडी किनिएका छन् तर बिरामी बाेक्ने एम्बुलेन्स किनिएकाे छैन, नत एम्बुलेन्स चल्ने राम्राे बाटाे नै बनेकाे छ। त्यसैले पनि रतनकाे मोटरसाइकल एम्बुलेन्स बनिरहेको छ।

उनकाे गाउँबाट हिँडेर बजारसम्म पुग्न पाँच घण्टा लाग्छ। उक्त बाटोमा बिरामीलाई स्ट्रेचरमा बोक्यो भने झन् अलमल हुन्छ। गुठी गाउँबाट बाइक चलाउन मिल्ने बाटोसम्म बिरामी बोकेर पुग्न आधा घण्टा लाग्छ। कच्ची बाटो भएकाले अस्पताल पुग्न तीन घण्टा लाग्छ।

हाल उनले गर्दै आएकाे जडीबुटीको व्यापारकाे दायरा घटाएका छन्। हिमाली जडीबुटी यार्सागुम्बा, ह्याड्या (सेतक चिनी) बाहेेक अरु वन लसुन, पदमचाल, जटामसी, पाखनवेद, भुल्तेकाे व्यापार गर्न छाेडेका छन् तर यी सबै जडिबुटीको व्यावसायिक खेती गर्ने याेजनासहित अघि बढेका छन्। यही कमाइको थोरै अंश समाज सेवामा लगाउने उनकाे सपना छ।

बिरामीको सेवा गर्दा उनी आमाको न्यानो काखकाे स्पर्श महशुस गर्छन्। त्यसैले नै उनलाई निरन्तर खटिरहने हौसला मिलेको छ भने सेवा भावनाका अनेक उपाय अपनाउन सकेका छन्।


बाइक एम्बुलेन्स बनाएर बिरामी बोक्ने केटो- हरेक बिरामीमा आमाको अनुहार देख्छु 

प्रकाशित मिति: : 2021-07-29 09:52:00

प्रतिकृया दिनुहोस्