पाकिस्तानका १९ वर्षे काशिफ बने 'माउन्ट केटु' चढ्ने कान्छो हिमाल आरोही

Photo : Sheroze Kashif Facebook
Photo : Sheroze Kashif Facebook

पाकिस्तानका १९ बर्षे काशिफ विश्वकाे दाेस्राे अग्लाे हिमाल 'माउन्ट केटु' चढ्ने कान्छो हिमाल आरोही बनेका छन्।

शेरोज काशिफले मंगलबार बिहान १० बजेर १० मिनेटमा 'माउन्ट केटु' (८६११ मीटर) चढेका हुन्।

सामाजिक सञ्जालमा आफ्नाे खुशी साट्दै उनले लेखेका छन्,''मेरा प्रिय पाकिस्तानी साथीहरू, मसँगै 'हिमालको राजा' माउन्ट केटु आराेहण गरेकोमा धन्यवाद।''

पाकिस्तानको अल्पाइन क्लबले १९ वर्षीय पाकिस्तानी युवक विश्वको दोस्रो अग्लो हिमाल चढ्ने सबैभन्दा कान्छो व्यक्ति भएको बताएको छ।

काशिफले कलिलो उमेरदेखि नै हिमाल चढ्न सुरु गरेका हुन्। उनले १२ वटा अन्य अग्ला हिमाल आरोहण गरिसकेका छन्। उनले १७ वर्षकाे उमेरमै ८०४९ मीटरका ब्रोड पिकसमेत चढेका थिए।

त्यस्तै उनले ११ वर्षको उमेरमा मकरा पीक (३८८५), १२ वर्षको उमेरमा मुसा कामुसल्ला (४०८० मीटर) र चम्ब्रा पीक (४६०० मीटर), १३ वर्षमा मंगलिकसर (शिमशल, ५०५० मीटर), १४ वर्षमा गोन्डोगोरो ला के२ बेस क्याम्प (५५८५ मीटर), १७ मा खुर्दो पिन पास (५८०० मीटर), १७ मा ब्रोड पीक (८०४७ मी) र १८ वर्षको उमेरमा खुसार गङ (अल्पाइन शैली ६०५०) मीटर) चढिसकेका छन्।

यसअघि मे ११, २०२१ को दिन १९ वर्षको उमेरमै उनले विश्वकै सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि) चढेर पाकिस्तानकै कान्छा हिमाल आराेही बनेर कीर्तिमानी कायम गरेका थिए।


१९ वर्षे कान्छो पाकिस्तानी युवकले सगरमाथा चढे

प्रकाशित मिति: : 2021-07-29 07:54:00

प्रतिकृया दिनुहोस्