चिनियाँ लगानीका परियोजना समयमै सक्छौँ, सहयोग जारी होस्: अर्थमन्त्री शर्मा 

अर्थमन्त्री जनार्दन शर्माले चिनिया राजदुत होउ याङछीलाई चिनिया लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधीन परियोजनाहरु सम्पन्न गर्नको लागि नेपाल सरकारले गर्नुपर्ने कामहरुको सम्बन्धमा गंभीरतापूर्वक ध्यान दिने प्रतिवद्धता व्यक्त गरेका छन्।

मन्त्री शर्माले चीनको सहयोगमा नेपालमा संचालित विभिन्न आयोजनाहरुको कार्यन्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्यसम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने पनि बताए। अर्थ मन्त्रालयमा शुक्रबार भएको शिष्टाचार भेटमा  अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पछिको पुनर्निर्माणमा प्राप्त भएको चिनिया सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनिया सहयोग र सदभाव निरन्तर रहने विश्वास व्यक्त गरे।

मन्त्री शर्माले कोभिडविरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गरे। उनले चीनबाट थप खोप खरिदको लागि प्रक्रिया अघि बढाएकोले त्यस कार्यमा राजदुतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरे।

भेटको क्रममा चिनिया राजदूत होउले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आएपनि नेपाललाई हेर्ने चिनिया नीति र दृष्टिकोणमा परिवर्तन नआउने धारणा व्यक्त गरे।

चिनिया जनता र त्यहाँको कम्युनिष्ट पार्टीसँग नेपाली जनता र यहाँका राजनीतिक दलहरुको राम्रो सम्बन्ध रहेको चर्चा गर्दै राजदुत होउले कोभिड महामारी विरुद्धको लडाईंमा आफूहरु नेपालको साथमा रहँदै आएको बताए।

चीनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिईसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्राप्त गर्ने जानकारी दिए।

भूकम्पपछिको पुननिर्माणमा पनि चीनले नेपालमा विभिन्न २५ वटा परियोजनाहरुको पुननिर्माणमा सहयोग गरेको र आधाजसो काम सकिएको उल्लेख गर्दै उनले दरबार हाइस्कुलको पुननिर्माण सकिएको, वसन्तपुरको नौ तले दरबारको काम सकिन लागेको र बाँकी रहेका अन्य परियोजनाहरुको काम पनि चाँडै सम्पन्न गरिने आश्वासन दिए।

प्रकाशित मिति: : 2021-07-30 16:50:00

प्रतिकृया दिनुहोस्