अमेरिकी सेनाले छाडेको ४५ दिनमै ढल्यो अफगान सत्ता !

अनलाइनखबर

चिरञ्जीवी आचार्य

अफगानिस्तानको एकपछि अर्को शहर कब्जामा लिएको चरमपन्थी विद्रोही संगठन तालिबानका लडाकु राजधानी काबुल प्रवेश गरेका छन् । यससँगै राष्ट्रपति असरफ घानीले देश छाडेका छन् ।

तालिबानसामु काबुल तीन महीना पनि नटिक्ने अमेरिकी गुप्तचर एजेन्सीको रिपोर्ट एक साता पहिला मात्र सार्वजनिक भएको थियो । तर, त्यसको केही दिनमै तालिबान लडाकु काबुल प्रवेश गरेका छन् ।

राष्ट्रपति घानी सरकारसामु तालिबानसँग संघर्ष गर्ने वा आत्मसमर्पण गर्ने मात्र बाटो थियो । किनकि तालिबानले अफगानिस्तानका ३४ मध्ये कम्तीमा २५ प्रान्तीय राजधानीमा कब्जा गरिसकेको छ ।

जलालबाद, घान्जी, फेरुज काेजस्ता धेरै शहर त उसले विना युद्ध जितेको थियो । अफगानी सेना तथा वरिष्ठ अधिकारीले आत्मसमर्पण गर्दै तालिबानलाई आफ्नो शहर सुम्पिरहेका छन् । आइतबार पनि नान्गरहार प्रान्तका गभर्नरले आत्मसमर्पण गरे, जसका कारण तालिबानले जलालबादलाई विना युद्ध नियन्त्रणमा लिएको थियो ।

तालिबान पुनरोदयको सुरुवात

२० वर्षअघि अफगानिस्तानको सत्ताबाट च्युत भएको तालिबानको पुनरोदयको सुरुवात २०१९ लाई मानिएको छ ।

त्यसअघिसम्म तालिबानले सरकारी र विदेशी सेनामाथि आक्रमण गरे पनि मुलुकका अधिकांश भूभाग र प्रान्तीय शहर अफगान सरकारकै नियन्त्रणमा थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले नै तालिबानलाई वार्ताको निम्तो दिए र २०१९ को सेप्टेम्बरको पहिलो साता सहमति भयो । यद्यपि सम्झौतामा हस्ताक्षर भने २०२० को फेब्रुअरीमा भएको थियो । कतारको दोहामा भएको सहमतिमा अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना सबै सैनिक मे २०२१ सम्म फिर्ता लैजाने उल्लेख गरिएको थियो । त्यसअनुसार ट्रम्पले आफ्नो शासनकालमा अफगानिस्तानमा अमेरिकी सैनिकको संख्या २५०० मा झारेका थिए ।

प्रकाशित मिति: : 2021-08-16 07:21:00

प्रतिकृया दिनुहोस्