विप्लवलाई खुल्ला पत्र 

Breaknlinks
Breaknlinks

कमरेड नेत्रविक्रम चन्द 'विप्लव'
नेकपा, हेडक्वाटर।

कमरेड, तपाईलाई थुप्रै पत्र लेखियो। पुग्यो-पुगेन थाहा भएन। कुनै प्रतिक्रिया पनि आएन। सायद पुगेन होला। बीचैमा हाम्रो पत्रहरु अलपत्र परेजस्तो लाग्यो।

मलाई थाहा छ, तपाईं एउटा सम्भावना बोकेको नेता हुनुहुन्छ। तपाईंसँग मजदुरहरुको क्याम्प-क्याम्पमा गएर मजदुरहरुले पकाएका खाना सँगै खाएको छु। तपाईंको इमान्दारीतामा प्रश्न उठाउने ठाउँ खासै देख्दैन। तर क्रान्तिलाई अगाडी बढाउने सवालमा तपाईं मात्रै सक्षम भएर हुँदैन। सिङ्गो टिम सक्षम हुनुपर्छ। तपाईंको टिमका केही कमरेडहरुको क्षमतामाथि आज प्रश्न उठाउने बाध्य भएका छु।

यो खुल्ला पत्र मैले आफ्नो ज्यानकाे माया मारेरै लेखिरहेको छु। यो भन्दा अगाडी पनि थुप्रै भौतिक आक्रमणका धम्कीहरुको सामना गरिसकेको छु। यद्यपि, जे लेख्नेछु- मेरो ब्रम्हाले सत्य ठानेका कुराहरु नै लेख्नेछु। तर लेख लेख्नुअघि तपाईंलाई केही विषयगत प्रश्नहरु गर्न चाहन्छु।

- के संगठनभित्र लुकेर सुन तस्कर गरिरहेकाहरुलाई कारबाही गर्नुपर्छ भन्ने कुरा गलत हो ? 
- के मानव तस्करहरुलाई संगठनबाट निलम्वन गर्नुपर्छ भन्ने कुरा गलत हो ?
- मजदुरहरुले उठाएको लेवीबाट नेताहरुलाई टिभी, ल्यापटपजस्ता सामानहरु किनेर प्रभावमा नपारौं भन्ने कुरा गलत हो ?
- दुई-दुई वर्षसम्म जिल्ला समितिको बैठक बोलाउन नसक्ने नेतृत्वको आलोचना गर्नु गलत हो ?
- के २७ जना जिल्ला समितिमा २० जनालाई कारबाही गरेर निष्कासन गर्नु गलत थिएन ?
- विभागले पठाएका सर्कुलरहरु आफू अनुकुल प्रयोग गर्नु गलत होइन ?
- आफ्नो प्रभुत्व सिद्ध गर्न कुवेत मोर्चाको नक्कली आइडी बनाएर भ्रामक प्रचार गर्न मिल्छ ?

प्रिय कमरेड, 
माथिका प्रश्नहरु यदि सही थिए भने कमरेड कंचनले मलाई कसरी कथित भनेर वक्तव्यमा किटान गर्नुभयो ? यदि एकिकृत क्रान्तिले ती प्रश्नहरुलाई जायज मान्छ भने एकजना जिल्ला सदस्यलाई कारबाही किन गरियो ?

अनि एउटा भुँइ मान्छेको चरित्र हत्या गर्न, एउटा समर्थकलाई थुचुक्कै पार्न एकै मितिमा दुई-दुई पटक वक्तव्य कसरी निकालियो ? विभागको लेटरप्याड त एउटै हुने होइन र ? अनि फरक-फरक 'फन्ट' भएको लेटरप्याड कसरी आयो ? जब कि चलानी नम्बर एउटै छ, पत्र संख्या एउटै छ। र, दुई वटैमा कंचन कमरेडको हस्ताक्षर छ।

तपाईं अहिले सामाजिक सञ्जालमा छरपस्ट वक्तव्यबाजी देखिरहनु भएको छ ? एकपटक ईतिहासतर्फ लागौं। यो विवाद अहिलेको होइन, पुरानै हो।

प्रचण्ड कमरेडसँग सम्बन्धविच्छेद गरिसकेपछि मध्यपूर्वका देशहरुमा आस्थाको आधारमा वैदेशिक शाखाहरु पनि विभाजित भए। वैद्य कमरेडको समर्थकहरुले नेपाली जनप्रगतिशिल मोर्चा गठन गरे। त्यसको केही महिना भित्रै 'नेपाली जनप्रगतिशिल मोर्चा मध्यपूर्व' निर्माण गरिने भयो तर युएईका तत्कालिन मोर्चा अध्यक्ष कमरेड रमेश गिरी र साउदी मोर्चाका तत्कालिन अध्यक्ष बिक्रम पौडेलको बीचमा नेतृत्वको विषयलाई लिएर विवाद भयो। त्यही विवादकै कारणले मध्यपूर्व गठन हुन सकेन।

सन् २०१८ मा मध्यपूर्व जिल्ला समिति गठन भयो। त्यसपछि कतार मोर्चामा विवाद देखियो। त्यो आन्तरिक मोर्चाको विवाद थियो। मोर्चाभित्र रहेका कतिपय ब्यक्तिहरु सुन तस्कर र मानव तस्कर भएकाले ती ब्यक्तिहरुलाई कारबाही गर्नुपर्छ भन्ने कुरा हामीले उठायौं।

यो बीचमा कमरेड रमेश गिरीले जिल्ला समितिको ग्रुपमा लेवी रिसिभ गरेको प्रमाण दिनेगरी नेताहरुलाई टेलिभिजनमा पठाइदिने प्रस्ताव ल्याउनु भएछ। त्यस बिषयमा पनि ढटेर संघर्ष गर्‍यौं। यही कारण कतारमा दुई लाइन संघर्ष उत्कर्षमा पुग्यो। त्यसपछि कमरेड रमेश गिरीको गुटले हामी मोर्चाका बहुसंख्यक कमरेडहरुलाई कारबाही गर्‍यो। त्यसपछि कमरेड साजन गुरुङको नेतृत्वमा कतारमा समानान्तर कमिटी बनायौं।

कतारको समस्या चुलिएपछि साउदी र युएई मोर्चाले हस्तक्षेप गर्‍यो। साउदी र युएई मोर्चाले हाम्रो एजेन्डामा समर्थन जनायो। विवाद मिलाउन यी दुई देशका मोर्चाहरुले कमरेड रमेश गिरीलाई दबाब दिन थाले। तर समस्या समाधान देखिएन। त्यसपछि युएई र साउदीका जिल्ला सदस्यहरुले जिल्लाको बैठक बोलाउन ताकेता गरे। उहाँले बैठक छल्दै जानू भो। त्यो दुई वर्ष बित्यो।

दुई वर्षपछि थाहा पायौं कि २७ जना जिल्ला सदस्यमा २० जनालाई कारबाही गरेर समितिलाई ७ जनामा सिमित पारिएछ। कारबाहीमा परेका कमरेडहरुलाई कुनै जानकारी समेत दिइएको थिएन। त्यसपछि युएई मोर्चा र साउदी मोर्चाले कतारको समानान्तर कमिटीसंग मिलेर काम गर्न थालेको हो।

पछि विशेषत: युरोप, साउदी र युएईको पहलमा मोर्चालाई एकताबद्ध बनाउने काममा जोड दियौं। सफल पनि भयौं तर कमरेड गिरिले कमिटीमा आफ्नो बहुमत स्थापित गर्न फेरि हामी माथी राजनिती गर्नुभयो। केन्द्रको सर्कुलर भनेर युएई मोर्चाका उपाध्यक्ष कमरेड आक्रोशलाई जिल्लाबाट एरियामा झार्नु भयो। तर सोही सर्कुलर चाहिँ कतारमा लागू गर्नु भएन।

त्यसपछि पनि कतारको समस्या समाधान गर्नु भएन। कतारमा दुई लाइन संघर्ष जस्ताको त्यस्तै रह्यो। यी यावत बिषयमा छलफल गर्न युएई र साउदीले जिल्ला समितिको बैठक बोलाउन फेरि ताकेता गर्‍यो। बैठक त बोलाउनु भो तर प्राविधिक समस्या भनेर बैठक स्थगित गर्नु भयो। र, उहाँ नेपाल जानू भो।

कमरेड गिरी नेपाल छदै उहाँको गलत सर्कुलरको कारणले एकजना कमरेडलाई कारबाही गरेको वक्तव्य आयो। कमरेड गिरीले गरेको त्यस प्रकारको अराजक गतिविधिको परिणामस्वरूप मोर्चाका बहुमत कमरेडहरुले उहाँलाई निलम्बन गरे। त्यसपछि मेरो चरित्रहत्या गर्न आफूले पहुँच राखेका सबै मिडियामा प्रचारबाजी गरिरहनुभएको छ।

अन्तिममा मैले केही प्रश्नहरु राख्न चाहन्छु। के सामान्य लजिस्टिकमा र्याल चुहाउने र गलत मान्छेहरुको रबैया ढाकछोप गर्न आफू मातहतका सदस्यहरुलाई कथित भन्ने ब्यक्तिहरुबाट हाम्रो एकीकृत क्रान्तिको सपना पूरा होला ? हाम्रो देशमा भ्रष्टहरुको कमी छैन, अरु भ्रष्ट नेताहरु किन जन्माइरहेछौं ? किन ?

बेद बोहरा
संयोजक, नेपाली जनप्रगतिशिल मोर्चा मध्यपूर्व।

प्रकाशित मिति: : 2021-08-21 14:25:00

प्रतिकृया दिनुहोस्