आगामी १७ र २० गते भारतसँग हुने दुई मैत्रीपूर्ण खेलको लागि नेपाल राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्द सहभागी नहुने भएका छन्। इन्डोनेसियाको लिग वान अन्तर्गत पर्सिजा जाकर्तामा रहेका रोहित चन्द नयाँ सिजनको लिग सुरु हुने भएसँगै जाकर्ता पुगेका हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरले रोहित भारतबिरुद्धको दुबै खेलमा उपलब्ध नहुने जानकारी दिए। 'लिग खेल्न रोहित जाकर्ता पुगेका छन्। उनी भारतविरुद्ध उपलब्ध हुने छैनन्,' महासचिव तुलाधरले भने।
भारतविरुद्ध उपलब्ध नहुने भए पनि रोहित साफ च्याम्पियनसिपमा भने टोलीलाई उपलब्ध हुने तुलाधरले बताए।
यता, रोहितले आफू ८ दिनको क्वारेन्टाइन पूरा गरि लिग खेल्न तयार रहेको बताएका छन्। उनले आफ्नो एजेन्ट टिकासँग डिनर गरिरहेको फोटो समेत पोस्ट गरेका छन्।
कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको प्रशिक्षणमा नेपाल हाल पोखरामा अभ्यास गरिरहेको छ। रोहित पोखरामा चलिरहेको अभ्यास छाडेर जाकर्ता लागेका हुन्। रोहित प्रशिक्षक अब्दुल्लाहको अन्तिम २५ टोलीमा रहेका थिए।
मैत्रीपूर्ण खेलका लागि भारतले नेपालविरुद्ध सुनिल क्षेत्रीको कप्तानीमा २५ सदस्यीय टोली घोषणा गरिसकेको छ। दुबै टोलीले आगामी साफ च्याम्पियनसिपको तयारी स्वरुप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन्।
साफ अक्टोबर १ देखि १६ सम्म माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा हुनेछ।