नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ।
नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे। खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपाल र भारतबीचको दोस्रो खेल आइतबार हुनेछ।
साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुँदैछ।
मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि दर्शकलाई मैदानमा प्रवेश गरी अवलोकन गर्न दिइने भएको छ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले दर्शकलाई मैदान प्रवेशका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालय र कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले अनुमति दिएको जानकारी दिए।
दर्शक मैदानमा प्रवेशका लागि एन्फाले आज अनुमतिपत्र पाएको हो। नेपाल र भारतबीचको पहिलो खेलका लागि पाँच हजार १०० दर्शक मैदान प्रवेशका लागि अनुमति पाएको शेर्पाले बताए।