दार्चुलाकाे तुइन घटनालाई थामथुम पार्न खोजियो : एमाले 

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा (एमाले)ले जयसिंह धामी तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन अस्पष्ट रहेको बताएको छ।

एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै धामी तुइन घटनाका सम्बन्धमा बुझाइएको प्रतिवेदन हेर्दा सरकारले यस घटनालाई थामथुम गर्ने प्रयासमा लागेको देखिएको बताएका छन्।

धामीको सम्बन्धमा गृह मन्त्रालयका सहसचिव जर्नादन गौतमको संयोजत्वमा गठित छानविन समितिले गत १५ भदौमा गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको थियो।

‘आफ्नो नागरिक बेपत्ता पारिएको यति संवेदनशील घटनाका सम्बन्धमा भारतीय पक्षसँग जानकारी लिने, सोधपुछ गर्ने र आपत्ति जनाउने सामान्य औपचारिकता र कूटनीतिक पहल गर्न नसक्ने सरकारले नेपाली जनताको ध्यान यस घटनाबाट अन्यत्रै मोड्न खोजेको आशंका पैदा भएको छ’, ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

नागरिकको जीवनसँग जोडिएको गंभीर विषयमा सरकारले प्रदर्शन गरेको संवेदनहीनता र लाचारीप्रति खेद व्यक्त गर्दै एमालेले उक्त घटनाको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न, दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय सुनिश्चित गर्न माग गरेको छ।

१५ साउन २०७८ मा महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मीले तुइन चुँडाइदिएर दार्चुलाको व्यास गाउँपालिकाका- २ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए। उनी बेपत्ता भएको एक महिनापछि छानविन समितिले प्रतिवेदन बुझाएको थियो।

प्रतिवेदनमा उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा भएको देखिएकाले निजहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न र धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्ने उल्लेख छ।

साथै, उनका परिवारलाई सरकारका तर्फबाट पालनपोषण र शिक्षा-दीक्षाको व्यवस्थापन गर्न समितिले सरकारलाई सिफारिस पनि गरिएको छ।

प्रकाशित मिति: : 2021-09-02 18:10:00

प्रतिकृया दिनुहोस्