'अन्तरिक्ष पर्यटन'काे औपचारिक यात्रा सुरू, यी हुन् सबैभन्दा पहिले अन्तरिक्ष घुम्ने भाग्यमानी यात्रु

विजय बस्नेत

काठमाडौँ
Photo : Alliance/SpaceX/AP

प्रविधिले अब कुनै पनि काम असम्भव नहुने भएकाे छ। मानिसकाे जस्ताेसुकै कठिन कल्पना र सपना पनि प्रविधिले सजिलै पुरा हुने वातावरणलाई नकार्न सकिदैन।

कहिल्यै कल्पना नगरिएकाे अन्तरिक्ष पर्यटनले पनि विस्तारै पृथ्वीलाई नयाँ रुप दिँदै छ।

विश्वका विभिन्न अर्बपतिहरुले अन्तरिक्ष पर्यटनकाे कल्पना गरेर भलै  ठूलाे महत्वकांक्ष देखाएका हुन्, तर उनीहरुकाे याे प्रयासले भने नयाँ दुनियाँ निर्माण गर्न ठूलाे सहयाेग गर्दैछ।

यसैबीच अर्बपति एलन मस्कको अंतरिक्ष कम्पनी 'स्पेस एक्स'ले प्रविधिकाे युगमा नयाँ कीर्तिमान कायम गरेकाे छ। अन्तरिक्षमा पहिलाेपल्ट सर्वसाधारण नागरिकलाई पुर्याएर 'स्पेस एक्स'ले नयाँ कीर्तिमान बनाएकाे हाे।

गत सेप्टेम्बर १६  मा स्पेस एक्सको 'फाल्कन-९' ले सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेपछि अन्तरिक्ष पर्यटनको औपचारिक यात्रा सुरु भएकाे छ।

स्पेस एक्सले 'इन्सपिरेसन-४ मिसन'अन्तर्गत फ्लोरिडास्थित नासाको 'केनेडी स्पेस सेन्टर'को ऐतिहासिक लन्च कम्प्लेक्स '३९ A'  बाट अन्तरिक्ष उडान भरेको थियो।

यो मिसनमा चार जनाले अन्तरिक्षकाे भरपुर मजा लिए। ३८ वर्षीय अर्बपति जेरेड इज्याकम्यान, २९ वर्षीया हेले अर्सेनियूस, ५१ वर्षीया सियान प्रोक्टर र ४२ वर्षीय क्रिस सेमब्रोस्कीले यसकाे आनान्द लिएका हुन्।

यो मिसनकाे सबै लगानी भने इज्याकम्यानले नै गरेका हुन्। उनले आफूसहित अन्य तीन जनालाई छनाेट गरेका थिए। उनीसँगै गएकी अर्सेनियूस हेलेले बाल अवस्थामा क्यान्सरलाई जितेकी थिइन्। उनी हाल सेन्ट ज्युड अस्पतालमा फिजिसियनका रूपमा कार्यरत छिन्। उनी इजाकम्यानको अनुरोधमै अन्तरिक्ष यात्रामा सहभागी भएकी हुन्।

सियान प्रोक्टर भने भौगर्भविद् हुन्। उनी एक सामुदायिक क्याम्पसकी शिक्षिका हुन्। उनले सामाजिक सञ्जालमार्फत अन्तरिक्ष यात्राका लागि अवसर पाएकी थिइन्। त्यस्तै क्रिस सेमब्रोस्की पनि  'लकहिड मार्टिन कम्पनी'का कर्मचारी हुन्। उनीहरुकाे सबै खर्च जाेड्ने हाे भने करिब  २ करोड डलर हुन्छ, जुन सबै इज्याकम्यानले व्यहाेरेका थिए।

आइज्याकम्यानले आफूसहित तीन यात्रुको भाडा रकम एलन मस्कलाई तिरेका थिए। उनीहरू सबैजना पृथ्वीको कक्षको भ्रमण गर्ने पहिलो सर्वसाधारण यात्रु बनेका छन्।

उनीहरुले शनिबार राति ११ बजे समुन्द्रमा अवतरण गरेका थिए। चार प्याराशुटको सहायताले उक्त यानको क्यापसुल सुस्त बनाउँदै पानीमा झरेका थिए। त्यसपछि स्पेस एक्सकै डुङ्गाले उनीहरूलाई बाहिर निकालेका थियाे।

अन्तरिक्षको सफल यात्राबाट फर्किएलगत्त खुसी हुँदै आइज्याकम्यानले गजबको यात्रा भएकाे प्रतिक्रिया दिएका छन्। यान फिर्ता भएपछि मिसन निर्देशक टड एरिकसनले प्रेस सम्मेलनमा अन्तरिक्ष पर्यटनले नयाँ युग सुरु भएकाे बताए।

यान उडानमा रहँदा कम्प्युटर प्रणालीले 'ड्र्यागन क्याप्सुल'माथि उसको यात्राभर नियन्त्रण राख्न र त्यसको निगरानी पृथ्वीमा रहेको स्पेश एक्स समूहले निरन्तर काम गरिरहेकाे थियाे। 'ड्र्यागन' भने अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन नजिक जाने गरी यात्रा मिलाइएको थिएन। साेही कारणले उक्त यानले ५७५ किलोमिटर उचाइमा स्वतन्त्र उडान गरेको थियो।

उडान भर्नुपूर्व चालक दलले ६ महिना लामो तालिम गरेका थिए। तालिम गर्दा हरेक दिन पृथ्वीको १५ पटक चक्कर लगाउने गरि तालिम दिईएको थियो।

विज्ञहरूले उनीहरूको रगतमा अक्सिजनको मात्रा, निद्रा, तापक्रम र अन्य मांशपेशीहरूकाे स्वास्थ्य परिक्षण गरेका थिए। गैर पेशेवर यात्रीहरू अन्तरिक्षमा जाँदा उनीहरूमाथि पर्न सक्ने सम्भावित असर जाँच्नका लागि स्वास्थ्य परिक्षण गरिएकाे हाे।

यो यात्राले टेनेसीस्थित सेन्ट जुड्स चिल्ड्रेन्स रिसर्च हस्पिटलका लागि कोष सङ्कलनको लागि कोष पनि स्थापना गरेको छ। उक्त अस्पतालमा  नै हेलीको उपचार भएको थियो। अहिले उनी त्यहीँ  अस्पतालमा कार्यरत छिन्।

यसअघि सर रिचर्ड ब्रान्सन र जेफ बेजोसले पनि पृथ्वीको वायुमण्डलको यात्रा गरेका थिए। तर धेरैले उनीहरुको अलोचना गरेका थिए।
 

प्रकाशित मिति: : 2021-09-20 22:15:00

प्रतिकृया दिनुहोस्