पर्सा प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। सूचना परिचालन तथा कारवाहीको सिलसिलामा खटेको पर्सा प्रहरीको टोलीले विभिन्न लागुऔषधसहित चार जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-२ का २३ बर्षीय सुरज पासवान, बर्दियाको गुलरिया घर भएका र हाल चितवनको भरतपुर महानगरपालिका-२२ मा बस्दै आएका २२ बर्षीय राजेश थारु, त्यही नगरपालिका ७ का ३२ बर्षीय सुरेश नेपाली र कन्चनपूरको भीमदत्त नगरपालिका-१६ का लक्ष्मण बिष्ट रहेका छन्।
वीरगञ्ज १६ शंकराचार्य गेट नजिकैबाट शंकाको भरमा सर्लाहीका लालबन्दी नगरपालिका २ का पासवान र कन्चनपुरको भीमदत्त नगरपालिका-१६ का बिष्टलाई रोकी चेकजाच गर्दा ३.४० ग्राम खैरो हिरोइन फेला परेपछि पक्राउ गरिएको प्रहरी प्रवक्ता ओमप्रकास खनालले जानकारी दिए।
त्यस्तै प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर-१४ गण्डक चोकमा पैदल हिँडिरहेका चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २२ र ७ का थारु र नेपालीलाई लागुऔषध विनरेक्स सिरप १०० एम एलको १२० बोतलसहित पक्राउ गरेको प्रहरी प्रवक्ता खनालले बताए।
पक्राउ परेका चारै जनामाथि अदालतबाट ७ दिनको म्याद थप गरी लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको उनले बताए।