श्रीमतीलाई बम्बैको कोठीमा बेच्ने श्रीमान पक्राउ

File photo
File photo

आफ्नै श्रीमतीलाई भारतमा लगेर बेचबिखन गरेको अभियोगमा श्रीमान पक्राउ परेको छ। 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नम्बर २६ का पीडितका श्रीमान चन्द्रबहादुर तामाङ र नुवाकोट दुप्चेश्चर गाउँपालिका १ का पासाङ तामाङ रहेका छन्।  

पीडित महिलालाई उनकै श्रीमानले २०७१ सालमा १ लाख ६० हजार रुपैयाँ लिई पासाङको जिम्मा लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

पासाङले बालाजुको होटलमा एक महिलाको जिम्मा लगाइ ती महिलाले काम बापत मासिक १० हजार दिन्छु भनि भिनाजु पर्ने पुरुषको जिम्मा लगाएको खुलेको छ। ती पुरुषले पनि सुनौली हुँदै भारतको नयाँदिल्लीस्थित म्हेण्डो तामाङको घरमा पुर्‍याएको र म्हेण्डोले अर्कै मान्छेको जिम्मा लगाई आग्राको बेश्यालयमा पुर्याएको खुलेको छ। 

८ महिनासम्म पुन: म्हेण्डोकै घरमा ल्याई ६४ नम्बरको गल्लीको कोठीमा राखी बेश्याबृत्तिमा लगाएकोमा पीडित महिलालाई नेपाली राजदूतावास र शक्ति समूहको सहयोगमा गत जेठ ३१ गते उद्धार गरिएको थियो। 

पीडितले गत भदौ १ गते प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उनीहरू विरुद्ध जाहेरी दिएपछि फरार रहेकामध्ये उनीहरूलाई ब्यूरोको प्रहरीले पक्राउ गरेको हो। 

उनीहरूउपर काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भईरहेको र अन्य फरार रहेकाहरूको खोजी भइरहेको उक्त ब्यूरोले जनाएको छ। 

प्रकाशित मिति: : 2021-10-05 19:19:00

प्रतिकृया दिनुहोस्