आज प्रतिस्थापन बजेट ल्याउँदै लुम्बिनी, एमालेले अवराेध गर्ने

न्युज कारखाना
न्युज कारखाना

लुम्बिनी प्रदेश सरकारले आज दिउँसो प्रतिस्थापन बजेट ल्याउँदैछ । त्यसका लागि दिउँसाे १ बजे प्रदेशसभा बैठक बस्दैछ।

बुधबार बिहान बसेकाे मन्त्रिपरिषद्ले प्रतिस्थापन विधेयकमार्फत आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए।

यसअघि तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले अध्यादेशबाट बजेट ल्याएका थिए । प्रतिस्थापन बजेट प्रस्तुत गर्नुअघि अघिल्लो सरकारले ल्याएको बजेटसम्बन्धी अध्यादेश खारेजीका लागि सदनमा प्रस्ताव लगिने छ ।

अर्थसम्बन्धी आर्थिक अध्यादेश २०७८ खारेज गर्न संविधानको धारा २०२ को उपधारा २ (ख) बमाजेजिम प्रदेश प्रमुखलाई सिफारिस गर्ने, प्रदेश संचित रकमबाट खर्च गर्ने अधिकार सम्बन्धी जारी विनियोजिन अध्यादेश खारेज गर्न नेपालको संविधान २०२ को उपधारा २ (ख) अनुसार प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय भएंकाे प्रवक्ता खड्काले बताए।

प्रमुख विपक्षी एमालेले भने प्रदेश सभाको बैठक अवरुद्ध गर्ने बताएको छ। एमालेले स्वतन्त्र सांसद अजय शाही र गत १९ वैशाखमा माओवादी केन्द्र रोजिसकेकी विमला खत्री वलीलाई पदमुक्त गर्नुपर्ने मागसहित एमाले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ।

एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले एमालेले निर्णय गरी कारबाहीका लागि पठाएका दुई सांसदलाई कारबाही नहुँदासम्म विरोध कायम रहने बताए । उनले नयाँ बजेटका विषयमा मंगलबार कार्यव्यवस्था परामर्श बैठक बसेकाे थियाे।

१ भदाैबाट सुरु संसदको नवौँ अधिवेशन एमालेले अवरुद्ध गर्दै आएको छ। एमालेकाे अवरोध र बहिस्कारकाबीच ७ असाेजमा  मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिएका थिए। 

प्रकाशित मिति: : 2021-10-06 11:11:00

प्रतिकृया दिनुहोस्