नयाँ पुस्ता तयार नहुँदा नवदुर्गाको मुकुण्डो बनाउने पेशा सङ्कटमा

File photo
File photo

लक्ष्मी गारु 
भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्वको नवदुर्गा देवगणको मकुण्डो बनाउने पेशा सङ्कटमा परेको छ। आर्थिक अभावसँगै मुकुण्डो बनाउन नयाँ पुस्ता तयार नहुँदा यो पेशा सङ्कटमा परेको हो। नवदुर्गा गण नाचका लागि आवश्यक विभिन्न देवीदेवताको १३ वटा मुकुण्डो बनाउने कार्यमा अहिले पूर्ण चित्रकार एक जनामात्र संलग्न छन्। उनको परिवारका सदस्यसमेत यो पेशाबाट विमुख हुँदै गएका छन्। पूर्ण चित्रकारपछि यो पेशा कसले सम्हाल्ने, यसको जवाफ कसैसँग छैन। 

प्रत्येक वर्ष नयाँ बनाउनुपर्ने मुकुण्डो तयार नभए नवदुर्गा नाचसमेत बन्द हुन्छ। भक्तपुरको सबैभन्दा महत्वपूर्ण नाचको रुपमा रहेको नवदुर्गा नाचको मुकुण्डो बनाउन नयाँ कालिगढ तयार गर्ने सम्बन्धमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन। नवदुर्गा देवगणको १३ वटा मुकुण्डो तीन महिनामा तयार गर्नुपर्दछ। घण्टाकर्ण चतुर्दशीका दिन मुकुण्डो बनाउने कार्यको शुभारम्भ हुन्छ। मुकुण्डो बडादसैँको महानवमीका दिन प्रदर्शन गर्न तयारी अवस्थामा राख्नुपर्दछ। तर यो वर्ष देवगणहरूका नकीं विवादले दुई हप्तापछि मात्र मुकुण्डो बनाउने कार्य थालेको हो।

मुकुण्डो बनाउन कालोमाटो, विभिन्न किसिमका ढुङ्गाबाट बनेको रङ्ग, सुन, मैदा, मट्टितेल, कपास, नेपाली कागज, जुटको बोरा, कोरा कपडालगायत सामग्री आवश्यक पर्दछ। हेर्दा सजिलो लाग्ने तर अत्यन्त कठिन कार्य भएकाले कामदारसमेत पाउन मुस्किल रहेको चित्रकार बताउछन्। 

मुकुण्डो बनाउन पहिला माटोलाई धुलो बनाएर चाल्ने, त्यसपछि मैदाको माड बनाई धुलो माटो हाल्दै मुछ्ने र डल्ला डल्ला बनाई राखिन्छ। सो डल्लो सुकेपछि कपास र नेपाली कागज राखी फुटाउनुपर्छ। अनिमात्र मकुण्डो बनाउने कार्य सुरु हुने चित्रकारले बताए। 'मुकुण्डो बनाइसकेपछि घाममा सुकाउनु हुँदैन हावाले मात्र सुकाउनु पर्छ। एउटा मुकुण्डो सुकाउन कम्तीमा दुई हप्ता लाग्छ' उनले भने। 

मुकुन्डो मात्र बनाएर पुग्दैन घण्टाकर्णका दिन नवदुर्गाको मुकुण्डो बनाउनलाई माटोको पूजा गर्नुपर्दछ। यसरी माटोलाई पूजा गर्न आउने बाजागाजासहितको टोलीलाई भोज खुवाउनुपर्ने बाध्यता छ। नवदुर्गा नाचलाई जीवन्तता दिई परम्परा लोप हुनबाट बचाउने हो भने सम्बन्धित निकायले बर्सेनि मुकुण्डो बनाउनका लागि उचित आयस्ताको बन्दोबस्त गर्न चित्रकारले माग गरेका छन्। मुकुण्डो बनाउन आवश्यक रकमको जोहो भए मात्र नयाँ पुस्ता तयार हुनसक्ने उनले बताए। 

मुकुण्डो बनाउन कामदारको ज्याला, आवश्यक सामग्री खरिद र आफ्नो ज्यालासमेत जोड्दा बर्सेनि रु तीन लाख खर्च हुने गरेको उनले बताए। हजार र बनेपा नगरपालिकाबाट रु १२ हजार दिने गरेको उनले बताए। 

अन्य आय स्रोत केही छैन। अरु सहयोग दातासँग मागे मात्र हो। उनले भने, 'आम्दानीभन्दा बढी खर्च हुने भएकाले घरपरिवारले समेत मुकुण्डो नबनाउन दवाब दिने गरेको छ। आम्दानीभन्दा खर्च बढी।' 

उनले रकम नपुग भएको विषयमा गुठी संस्थानमा पटकपटक गुनासो लिएर गए पनि हुन्छहुन्छ भन्ने तर सहयोग भने नगर्ने गरेको गुनासो गरे। उनले भने, 'गुठीका हाकिम वर्षदिन नपुग्दै सरुवा हुन्छ र अर्को आउँछ । कति ताकेता गर्नु ? आश्वासन बाहेक केही पाइएन।' 

गुठी संस्थान भक्तपुरका आन्नद कर्माचार्यले मुकुण्डोको बनाउन बर्सेनि रु ४० हजार दिँदै आएको जानकारी दिए। रकम अपुग भएको स्वीकार गर्दै प्रमुख आचार्यले भने, 'गुठीबाट दिइरहको रकम अलि अपुग होला तर उनले मागेको रकम गुठीबाट उपलब्ध गराउनु अलि सम्भव छैन। यो नै पहिलो भने बढाएको दिएको हो। उहाँको मागलाई केन्द्रमा पठाएको छु गुठीले बेवास्ता गरेको छैन। उहाँको माग पूरै पूरा नहोला तर केही सम्बोधन भएर आउन सक्छ ।'

विसं. २०२० देखि नवदुर्गा देवगणको मुकुण्डो बनाउँदै आएका चित्रकार अहिले ७५ औँ बसन्त पार गर्ने तरखरमा छन्। उनले धर्म संस्कृतिको जगेर्नाका लागि मात्र मुकुण्डो बनाउन नछोडेको स्पष्ट पारे। उनको उमेरले समेत साथ छोड्दै ल्याएकाले आफूपछि कसले मुकुण्डो बनाउँछ भन्ने चिन्ता लाग्न थालेको बताए। 

सम्बन्धित निकायले चासो दिएर आवश्यक रकमको बन्दोबस्त गरिदिए मुकुण्डो बनाउन नयाँ पुस्ता आकर्षित हुने, नभए आफूसँगै मुकुण्डो बनाउने कार्य लोप हुने भयले सताउन थालेको उनले बताए।

नवदुर्गाको मुकुण्डो मैले नबनाए जिम्मेवारी कसले बनाउँछ ? यो पेशालाई कसले निरन्तरता दिन्छ ? उनको प्रश्न छ। उनले भने, 'अरुको त के कुरा गर्ने मेरा छोराहरूले नै यस कार्यलाई निरन्तरता नदिने भन्छन्। यसको निरन्तरताका लागि सम्बन्धित निकायले आवश्यक आर्थिक सहयोग गर्ने भए यो कार्यलाई निरन्तरता दिन सकिन्छ नत्र सकिन्न। रासस  

प्रकाशित मिति: : 2021-10-06 20:59:00

प्रतिकृया दिनुहोस्