बागलुङ नगरपालिका-१ खनियाबासका कृष्ण माझी ३४ वर्षका भए। उनले जाने बुझेदेखि नै घरमा दसैंको टीका लगाउने गरिएको छ। टीका लगाए पनि घरमा जमरा राखेको भने उनलाई स्मरण छैन।
घरमा जमारा नराखे पनि उनीहरू विजया दशमीको दिन टीकासँगै जमरा भने लगाउँछन् । आफ्नै घरमा जमरा नराख्ने हुँदा टीकाको दिन जमरा माग्न अर्को समुदायमा जाने गरेको उनले बताए। घरमा जमरा राखे अनिष्ट हुने भनेर पहिलेदेखि नै भनिँदै आएकाले माझी समुदायमा पुस्तौँदेखि यसरी नै जमरा मागेर टीका लगाइन्छ।
‘यही जन्मे, यही हुर्के,’ ३४ वर्षीय माझीले भने, ‘अहिलेसम्म जमरा राखेको थाहा छैन। हाम्रो समुदायमा पहिलेदेखि नै चलेको चलन हो। त्यो परम्परालाई नयाँ पुस्ताले पनि निरन्तरता दिएका छन्।'
खनियाबासमा बिवाह गरेर आएकी फूलमाया माझीले पनि दसैंमा आफ्नै घरमा जमरा राख्ने नगरेको बताइन । फूलमायाकी सासुलाई पनि पनि घरमै जमरा राखेको याद छैन। उनले भनिन्, ‘पहिलेदेखि राख्दैनथे हामीले पनि राख्ने आँट गरेनौं।’
तर फूलमायाको माइतीघरमा भने माझी नै भए पनि जमरा राख्थे । ‘माझी भए पनि हाम्रो माइतीमा त जमरा राख्नुहुन्थ्यो,’ उनले भनिन्, ‘खैं कुन्नी किन हो, यहाँ त जमरा नराख्ने चलन रहेछ। जिजु बाजेको पालामा त जमरा राख्थे रे, कुन्नी के नराम्रो घटना भएपछि राख्न छाडेको भन्ने सुनिन्छ,’ उनले थपिन्, ‘खनियाबास र मालढुङ्गाका माझी समुदायमा भने घरमा जमरा राख्ने चलन रहेनछ।’
जमरा नराखे पनि धुमधामसँग मनाउँछन् दसैं
घरमा जमरा नराखे पनि माझीहरूले दसैं धुमधामसँग मनाउँछन्। अर्काको घरबाट जमरा ल्याएर भए पनि टीकासँग जमरा लगाउँछन्। मिठो खाने र नयाँ लुगा लगाउनेमा पनि अन्य समुदायकै जस्तै परम्परा छ।
खनियाबासका ६७ वर्षीय सोमबहादुर माझीले जिजुबाजेको पालादेखि नै घरमा दसैंका लागि जमरा राख्न छोडेको बताए। ‘जुन वर्ष जमरा राख्यो त्यो वर्ष घरकी कन्याको मृत्यु भएछ। सोही कारण जमरा राख्न छोडेको रहेछ,’ उनले भने, ‘जमरा राख्दा वर्षैपिच्छे घरकी छोरीको मृत्यु हुने गरेका कारण जमरा नराख्ने भनेर सल्लाहमै निर्णय गरेको विश्वास छ।’ अन्यत्रका माझी समुदायले भने जमरा घरमै राखेर दसैंमा लगाउने गरेका छन्।