नेपाल तेक्वान्दो संघले चाडपर्वको अवसरमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेश र जिल्ला तेक्वान्दो संघ कास्कीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा केन्द्रिय समितिका पदाधिकारीलाई बधाई तथा खेलाडीलाई सम्मान गर्दै सम्पन्न गरिएको हो।
गत भाद्र १८–२१ गतेसम्म भएको १० औं कोरियन एम्बसेडर खुल्ला पुम्से राष्ट्रिय तेक्वान्दोको यू–११ विधामा स्वर्ण पदक विजेता पोखरा अव्सुल्युट डोजाङका विजेता खेलाडीद्वय गुनमायाँ गुरुङ र सुभन गुरुङलाई सम्मान गरिएको थियो। उनीहरु कोरियामा हुने अन्तर्राष्ट्रिय भर्चुअल पुम्सेका लागि समेत छनोट भएका छन्।
उनीहरुलाई जनही नगद ५ हजार र सम्मान पत्रसहित सम्मान गरिएको हो। उनीहरुकी प्रशिक्षक अव्सुल्युट डोजाङ प्रमुख तथा कास्की तेक्वान्दोकी सदस्य रेख माया गुरुङलाई समेत सम्मान गरिएको थियो।
प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले खेल क्षेत्रभित्र सकारात्मक भन्दा पनि नकारात्मक टिका टिप्पणी उठिरहेको बताए।
हरेक कुरा सकारात्मक भएर सोचे मात्रै समाजसंगै खेलकुदको विकास अघि बढ्ने बताउँदै उनले प्रदेश खेलकुदले प्रदेशका ११ वटै जिल्लामा ‘टेयालेन्ट हन्ट’ कार्यक्रममार्फत प्रतिभावान खेलाडीहरुको खोजी गरिने बताए। उनले प्रदेश खेलकुदले चाँडै नै स्वयंसेवी प्रशिक्षकहरुको उत्पादन शुरु गर्न लागेको जानकारी दिए।
नेपाल तेक्वान्दो संघ गण्डकीका अध्यक्ष जगनबहादुर गुरुङले खेलकुदले नै समाजमा सभ्य नागरिक उत्पादन गर्न सक्ने धारणा अघि सार्दै त्यसमा तेक्वान्दो खेलको भूमिका अझै प्रभावकारी रहेको बताए।
तेक्वान्दो खेल क्षेत्रमा अरु भन्दा सफल भए पनि राज्यले कुनै सहयोग नगरेको उनले सुनाए। चौथो महाधिवेशनबाट सात वटै प्रदेश र ५८ जिल्लाबाट प्रतिनिधीहरु सहभागी भएको बताउँदै उनले उक्त अधिवेशन रोक्न चलखेल समेत भएकोमा दुःख व्यक्त गरे।
कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य योगेन्द्र शेरचन, जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँ, गण्डकी तेक्वान्दो संघका महासचिव रमेश पौडेल, जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङ, सचिव दिपेन्द्र पाहारी, सम्मानित प्रशिक्षक रेखमाया गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए।