कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाका बिरामीको संख्या ४३० पुगेको छ।
कृष्णनगर नगरपालिकाको वडा नं ३, ४, ७, ८, ९ र १२ मा देखिएको झाडापखाला एवं वान्ताबाट ४३० जना पीडित भएका छन्। हालसम्म निको भएकाको संख्या ३१४ छ भने ८२ जना अझै उपचाररत छन्।
३४ जनालाई तौलिहवा अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा रिफर गरिएको छ। १८ असोजदेखि सुरु भएको झाडापखालाको संक्रमणबाट अहिलेसम्म दुई जनाको मृत्यु भइसकेको छ।
पिउने पानी सप्लाइ गर्न बिच्छ्याइएको पाइप फुट्दा उक्त ठाउँबाट नै संक्रमण फैलिएको अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गरेको छ।संक्रमणको कारण पहिचान गर्न पाँचजना बिरामीको दिसाको नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ।
मन्त्रालयले उक्त ठाँउमा संक्रमणबारे अनुगमन गर्न तीनजना चिकित्सकको टोली पठाएको छ। इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट डा. शशी कँडेल, कौशलचन्द्र सुवेदी र विश्व स्वास्थ्य संगठनबाट डा. रविन गौतमलाई मन्त्रालयले पठाएको हो।
साथै मन्त्रालयले पानी शुद्धीकरणका गर्न संक्रमित क्षेत्रमा ५० हजार ट्याब्लेट क्लोरिन र आवश्यक स्वास्थ्य सामग्री पठाएको छ।