रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमणको विषयमा आइतबार भएको झडपमा ४ जनाको मृत्यु भएको छ। घटनामा दर्जनाैँ घाइते भएका छन्।
सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा घाइतेहरूमध्ये ४ जनाको मृत्यु भएको हो।
मोतीपुर तनावग्रस्त बनेपछि रूपन्देही प्रशासनले कर्फ्यु आदेश जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आइतबार अपराह्न ४ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी सूचनामा बुटवल उपमहानगरपालिका वडा नम्बर १७ र १८ मा निर्माणाधीन मोतीपुर औद्योगिक करिडोर क्षेत्रको जग्गा अतिक्रमण गरी बस्ती बसाल्ने योजना बनाएकामा स्थिति नियन्त्रणभन्दा बाहिर जाने संभावना साथै सर्वसाधारणको शान्ति, सुरक्षाका लागि कर्फ्यू लगाइएको उल्लेख छ।
शासनले पूर्व तिनाउ नदी बुटवल उपममहानगरपालिका- १७ शिवनगरदेखि वडा- १८ सौरहिया पुलसम्म, पश्चिम हरिहरपुरको खोतीयोग्य जमिन (बुटवल उपमहानगरपालिका-१७) उत्तर शिवनगर बस्ती बुटवल उपमहानगरपालिका-१७ सम्म, दक्षिण बुटवल उपमहानगरपालिका- १८ औद्योगिक करिडोरको अमिन (धन्दापुर मौरहियासम्म) लाई चार किल्ला तोकेको छ।
औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोज्ने समूह, प्रहरी र स्थानीयबीच झडप भएको थियो। स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको थियो।
प्रहरीको गोलीबाट तीन जना स्थानीय र तीन जना सशस्त्र प्रहरी गरी छ जना घाइते भएका छन्। घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
औद्योगिक क्षेत्रको करिब साढे ८०० बिघा जग्गामध्ये ४०० बिघा जग्गा अतिक्रमण भएको छ। आइतबार बिहान ५ बजेदेखि नै तैनाथ भएका प्रहरीले अस्थायी रूपमा बनाइएका टहराहरू भत्काउन खोज्दा स्थानीयसँग झडप भएको हो।
बुटवल वडा १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो।
प्रशासनले तीन दिनदेखि राति टहराहरू भत्काइदिँदै आएको थियो। तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले आइतबार बल प्रयोग गरेको हो।