गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गरिएको छ।
संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतवार सम्पन्न बैठकले आगामी ६ महिनाभित्र निर्वाचन गर्ने गरी निर्धारित सम्मेलन स्थगित गरेको हो। महाधिवेशन तथा विश्व सम्मेलनमा प्रतिनिधि विवादबारे परराष्ट्र मन्त्रालयको पत्रमा अस्पष्टता देखिएपछि निर्वाचनका सबै प्रकृया रोकिएकाे प्रवक्ता डिबी क्षेत्रीले बताएका छन्।
एनआरएनएका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको भर्चुअल बैठकले मन्त्रालयबाट प्राप्त पत्रमाथि आवश्यक कानुनी परामर्श गर्नेसमेत निर्णय गरेको छ। संघको महाधिवेशन अक्टुबर २३ देखि २५ मा हुने तय भएको थियो। प्रतिनिधि चयन लगायतका विषयमा उजुरी परेपछि परराष्ट्र मन्त्रालयले दुई पटकसम्म पत्र काटेर विवादको टुंगो नलागेसम्म निर्वाचन नगर्न पत्राचार गरेपछि महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हाे।
एनआरएनएमा अध्यक्षका प्रत्यासी कूल आचार्य समूहले प्रतिनिधि चयनमा विवाद रहेको दाबी गर्दै परराष्ट्रमा उजुरी दिएपछि मात्र परराष्ट्रले एनआरएनएलाई पत्र काटेको थियो। हालको कार्यसमितिले मनोमानी ढगले पेल्ने नीति लिएपछि आचार्य समूह बाध्य भएर परराष्ट्र पुगेको उनीहरूको दाबी छ।
संघको विधान अनुरूप तोकिएको मितिमा महाधिवेशन नगर्ने अमेरिका, युके, पोर्चुगल, फ्रान्स, साइप्रस, डेनमार्क, ओमान लगायतका राष्ट्रिय समितिको वैधानिकतामाथि मन्त्रालयले प्रश्न उठाउँदै नयाँ निर्वाचन गर्न निर्देशन दिएको थियो। पत्रमा संघको कुनै राष्ट्रिय समितिमा विद्यार्थीहरू सदस्य बनेका छन् भने त्यसको पुनरावलोकन गर्नु भनेपछि स्थगनको निर्णयमा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय पुगेको हो। एनआरएनएमा आचार्य र बद्री केसीका साथै रविना थापाले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन्।