सुदूरपश्चिम प्रदेशमा आज थप ३२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।
गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट दुई हजार ४१५ जनाको नमूना परीक्षण गर्दा ३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
सत्ताइस जनामा आरटी पीसीआर र पाँच जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो। पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १८, महाकाली अस्पतालमा सात, डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल बैतडीमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको हो। एन्टिजेन विधिमार्फत कञ्चनपुरमा चार र कैलालीका एक जनामा सङ्क्रमण देखिएको हो।
गएको २४ घण्टामा प्रदेशभर २२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनपुरका ८० वर्षीया महिला रहेकी छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।