सरकारले तीन दिनको अविरल वर्षातपछि आएको बाढीपहिरो र डुबानमा परेकाहरूको खोज तथा उद्धारमा नीजि हेलिकप्टर पनि प्रयोग गर्ने भएको छ।
अहिलेसम्म नेपाली सेनाको हेलिकप्टरले मात्रै उद्धार गरिरहेकोमा अपुग हुने देखिएपछि नीजि कम्पनीका हेलिकप्टर पनि प्रयोग गर्न लागिएको हो।
मुलुकभर नै निरन्तरको वर्षातपछि आएको बाढी र पहिरो तथा भएको डुबानमा परेकाहरूको खोज तथा उद्धार कार्यका लागि गृहमन्त्री बालकृष्ण खाँणको सक्रियतामा नीजि हेलिकप्टर पनि ‘स्टायण्डबाई’ राख्न लागिएको हो।
गृह मन्त्रालयमा बिहान गृहमन्त्री खाँणको पहलमा गृहसचिव टेकनारायण पाण्डे, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, पर्यटन मन्त्रालयका वायु सेवा हेर्ने सहसचिव बुद्धिसागर लामिछाने, नीजि वायुसेवा कम्पनीहरूको एसोसिएसनका कार्यकारी निर्देशक कमलेशकुमार वर्मा र गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका उपसचिव दिलकुमार तामाङसहितको बैठक बसेको थियो।
बैठकमा वर्षात निरन्तर भइरहेको र सेनाको हेलिकप्टरले मात्रै विपद्मा परेकाहरूको खोज तथा उद्धारमा नीजि हेलिकप्टर प्रयोग गर्ने विषयमा कुरा भएको थियो।
नीजि वायुसेवा कम्पनीहरूको एसोसिएसनका कार्यकारी निर्देशक वर्माले विपद्मा परेकाहरूको खोज तथा उद्धार गर्ने दायित्व आफूहरूको पनि भएको भन्दै सरकारले खोजेमा आफूहरू सेवा दिन तयार रहेको बताएका थिए। उनले बैठकमा नीजि वायुसेवा कम्पनीसँग ३५ हेलिकप्टर भएको जानकारी दिएका थिए।
त्यसपछि बैठकमा ती हेलिकप्टर कहाँ छन् भन्ने लोकेसन एसोसिएसनले गृह मन्त्रालयलाई उपलब्ध गराउने र गृहले आवश्यकता अनुसार खटाउने सहमति बनेको छ। त्यसको समन्वय गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाले गर्ने सहमति पनि बनेको छ।
नीजि हेलिकप्टर प्रयोग भएवापतको भुक्तानी गृह मन्त्रालयले दिनेछ। बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय विपदको सामना गर्दै नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए।
उनले विपद्मा परेकाहरूको उद्धार गर्न ‘कम्प्रमाइज’ सेवा उपलब्ध गराउन नीजि वायुसेवा कम्पनीहरूलाई आग्रह गरे।