पति आउने बाटो हेरेर बसेको दुई वर्षपछि जङ्गलमा कङ्काल भेटियो, किरिया खर्चको अभाव

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ घोराही–तुलसीपुर सडक खण्डको दुधरास चोकदेखि दक्षिण बगौसीमा एउटा सुकुम्बासी बस्ती छ। उक्त बस्तीमा एउटा एकतले कच्ची घर। घरमा बस्छन् बेलमती विक र उनका एक छोरा।

यस घरमा आमा छोरा मात्र बस्न थालेको दुई वर्ष भयो। तीन छोरी विवाह गरेर आ–आफ्नो घर गइसकेका छन्। छोराको पनि स्वास्थ्य अवस्था ठिक छैन। कमाउने कोही छैन। खेतीपाती गर्ने हो, आफैं सुकुम्बासी।

५० वर्षीया बेलमतीले जेनतेन मजदुरी गरेर घर चलाउने गर्छिन्। उनका श्रीमान जयबहादु विक घरदेखि निस्केको दुई वर्ष बढी भइसकेको थियो। उनी सम्पर्कमा थिएनन्। आज आउलान् भोलि आउलान् भन्दा भन्दै दुई वर्षपछि पनि श्रीमान आएनन्। बरु उनको २७ महिनापछि कंकाल फेला पर्‍यो।

५० वर्षीय जयबहादुर विस ०७६ साल असारमा घरबाट निस्किएका थिए। त्यस समयदेखि सम्पर्क विहीन भएका उनको कंकाल यहि असोज ३० गते तुलसीपुर १७ कै आफ्नो गाउँ नजिकैको जंगलमा फेला पर्‍यो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले ३० गते उनको कंकाल फेला परेको जानकारी दिए। स्थानीय जंगलमा घाँस लिन गएको समयमा कंकाल फेला परेपछि प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा कंकाल नजिकै रुखमा प्लाष्टिकको डोरी पनि फेला परेको थियो। प्रहरीको प्रारम्भीक अनुसन्धानमा जयबहादुरले डोरीमा पासो लगाएर आत्महत्या गरेको खुलेको छ। जयबहादुरको कपडा छोरीले चिनेपछि उनको कंकाल भएको पुष्टि भएको थियो।

प्रहरी प्रमुख (एसपी) काफ्लेले घरमा सम्पर्क हुन छाड्ने बित्तिकै प्रहरीलाई खबर गरेको भए यसरी जयबहादुरको कंकाल भेटाउनु पर्ने अवस्था नआउने बताए। उनले भने, ‘हराउने बित्तिकै प्रहरीलाई खबर गरेको भए पहिले नै भेटिने थियो। गाउँ नजिकैको जंगल रहेछ, तर खबरै गरेनन्।’

काफ्लेले यसरी दुई वर्षपछि मात्र कंकाल फेला परेको जिल्लामा पहिलो भएको पनि बताए। किन प्रहरीलाई परिवारले खबर गरेनन् होला भन्ने विएल न्युजको प्रश्नमा उनले भने, ‘जयबहादुर मादक पदार्थ खाने गर्दो रहेछन्। घरबाट निस्कँदा पनि खाएकै अवस्थामा निस्केको पाइएको छ,  घरपरिवारले कमाउन भारत गएको सोचेर खबर गरेनछन्।’

किरिया खर्च पनि छैन बेलमतीसँग 
जयबहादुरकी श्रीमती र छोरा किरिया बसेका छन्। घरमा खाने कुरा केही नभएपछि तुलसीपुरका पत्रकार तथा समाजेवी यज्ञ बहादुर ब्ढाको पहलमा ५० किलो चामल, २ किलो दाल र दुई बोटल तेल जोह भएको छ।

तर अब फेरि किरिया खर्च कसरी गर्ने भन्ने समस्याले बेलमतीलाई सताएको छ। ‘फोन गरेर मेरो शुद्दशान्ति गर्ने कपडा पनि छैन। मलाई एक जोडा कपडा किनिदिनुस् भन्नुभयो,’ पत्रकार बुढाले भने, ‘कोही सहयोगी छन् भने सहयोग गर्नुहोस्।’

छिमेकी कमान बहादुर बस्नेतले पनि घरमा आर्थिक अवस्था कमजोर रहेको र उनीहरु समस्या परेको विएल न्युजलाई बताए। ‘खाने खर्च पनि थिएन्, यज्ञ बाबुले ल्याइदिएपछि खाने भएको,’ उनले भने, ‘फेरि कपडा किन्ने पैसा छैन भनेपछि यज्ञ बाबुलाई नै भनेका छौँ।’ बेलमतीले यही ६ गते शुद्दशान्ति गर्दैछिन्।

के भन्छन् वडाध्यक्ष?
तुलसीपुर १७ का वडाध्यक्ष थलराम पुरीले बेलमतीका श्रीमानको कंकाल भेटिएको कुरा जानकारी भएपनि खाद्यान्न अभाव भएको आफूलाई भर्खर मात्र थाहा भएको बताए। ‘उनको श्रीमानको कंकाल भेटिएको खबरपछि हामी पनि गएका थियौं,’ वडाध्यक्ष पुरीले भने, ‘त्यस्तो अभावको कुनै थाहा भएन, अहिले मात्र थाहा भयो।’

उनले त्यस्तो अभाव भएको भए टोलको सिफारिस लिएर वडा कार्यालयमा आउन सुझाए। पुरीले भने, ‘त्यस्तो अभाव भए टोलको सिफारिस लिएर वडा कार्यालय आएपछि सक्दो सहयोग गर्छौँ।  हजुरले बरु त्यही भनिदिनुस्।’

उनले आफूले पनि बेलमतीको घरमा गएर भेट गर्ने पनि बताए। ‘भोलि म घोराही जाँदै छु, के रहेछ। त्यही बाटो गएर भोलि भेट्छु,’ उनले अगाडी भने।

दाङमा ६ महिनामा १६१ जना गरे आत्माहत्या
दाङमा गएको बैशाखदेखि यता ६ महिनाको बिचमा १ सय ६१ जनाले आत्माहत्या गरेका छन्। जसमा महिला भन्दा पुरुष धेरै रहेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ६ महिनाकोबीचमा जिल्लामा अशोज महिनामा सबैभन्दा धेरै २८ जनाले आत्महत्या गरेका छन्। जसमा १६ पुरुष २२ महिला छन्।

त्यसैगरी बैशाखमा १० पुरुष १२ महिला गरी २२ जना, जेष्ठमा १४ महिला र १४ पुरुष गरी २८ जना, असारमा १५ पुरुष ८ महिला गरी २३ जना, साउनमा ३ पुरुष १५ महिला गरी १८, भादौमा २३ पुरुष ९ महिला गरी ३२ जनाले आत्महत्या गरेका छन्। 

प्रकाशित मिति: : 2021-10-21 21:34:00

प्रतिकृया दिनुहोस्