यी हुन् प्रदेश १ का भावी मुख्यमन्त्री राजेन्द्र राई

फाइल तस्वीर
फाइल तस्वीर

कुनै चमत्कार नभएमा आज प्रदेश १ मा एमाले नेतृत्वको सरकार ढल्ने निश्चत छ। मुख्मन्त्री भीम आचार्यले विश्वासको मतका लागि आज समय तोके पनि यही अवस्थामा उनले विश्वासको मत पाउने सम्भावना छैन।

९३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश १ मा एमालेसँग ४१ जना छन्। तीमध्ये एक जना सभामुख छन्। अर्का एक सांसद सरकारी कागजत किर्ते गरेको मुद्दामा फरारको सूचीमा छन्।

सरकार टिकाउन ४७ सदस्य आवश्यक रहेकामा एमालेको त्यो सम्भावना नरहेको एमाले नेताहरू नै बताउँछन्। आचार्यले विश्वासको मत नपाउँदा प्रदेश १ मा मुख्यमन्त्री बन्ने छन् नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई।

भोजपुरको षडानन्द नगरपालिका स्थायी घर भएका राजेन्द्र भोजपुर क्षेत्र नम्बर 'क' बाट एमालेको तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।

उनी १९ हजार दुई सय ९७ मत ल्याएर प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। उनको मत निकतटम प्रतिद्वन्द्वी संघीय समाजवादीका अजम्बर काङ्माङ राईभन्दा सात हजार सात सय ५६ मत बढी ल्याएका थिए।

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको राजनीतिबाट मूलधारको राजनीतिमा प्रवेश गरेका राजेन्द्र अनेरास्ववियूको दुई कार्यकाल अध्यक्ष भए। उनी ५६ देखि ५९ र ५९ देखि ६१ सालसम्म उनी अनेरास्ववियूको दुई कार्याकाल अध्यक्ष भएका थिए। विद्यार्थी राजनीतिको उपल्लो तहमा पुगेपछि राजेन्द्र भोजपुरभन्दा बढि काठमाडौंमा बसे।

उनी पहिलोपटक एमाले वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत भए। उनले वैकल्पिक केन्द्रीय सदस्यको शपथ नलिने भन्दै शपथ कार्यक्रममा गएनन्। एमालेको बुटबल नवौ महाधिवेशनमा राजेन्द्र राई केन्द्रीय सदस्य निर्वाचित भए।

एमाले नेता माधब नेपाल नजिक रहेका राजेन्द्रलाई भीम आचार्य र शेरधन राईका बीचमा मुख्यमन्त्रीको रूपमा प्रतिस्पर्धा हुँदा विकल्पको रूपमा हेरिएको थियो। उनले प्रदेश सभाको निर्वाचन जितेसँगै आफू मुख्यमन्त्रीका लागि योग्य रहेको बताएका थिए। तर उनलाई त्यो बेला मुख्यमन्त्री बन्न भीम आचार्यले छेके।

माधव-झलनाथ गुटका नेताका रूपमा रहेका भीम आचार्य संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दा राजेन्द्रले भीम आचार्यको काँध थापे। भीम आचार्य शेरधन राईसँग दुई मतले संसदीय दलको नेतामा पराजित भएपछि एमालेको तर्फबाट शेरधन मुख्यमन्त्री बने।

एउटै जिल्लाका शेरधनसँग राजेन्द्रको भने हार्दिक सम्बन्ध भएन। जहिलै प्रतिस्पर्धीको रूपमा रहेका राजेन्द्रले बीचमा पनि शेरधन राई नेतृत्वको सरकार ढलाउन प्रयास गरे। तर त्यो बेला पनि उनले भीम आचार्यलाई मुख्यमन्त्री बनाउने जोड बल थियो। तर एमालेमा भएको १० बुँदे सहमतिसँगै भीम आचार्य एमालेमा बसे भने राजेन्द्र राईले एकीकृत समाजवादी रोजे।

प्रकाशित मिति: : 2021-10-24 11:48:00

प्रतिकृया दिनुहोस्