आमाले बिहेका लागि केटी हेरेकी थिइन्, दसैँकाे मुखमा छाेरा विदेशमै बितेकाे खबर आयाे

शिलापत्र

काठमाडौँ

वैदेशिक रोजगार विभागको ढाेकानजिकै पर्साकाे कुसुमारीकी बेजेन्द्रनी तरुनी थारु झोला भिरेर बसेकी थिइन्। वैदेशिक रोजगारीका क्रममा यूएईमा कार्यरत छाेराकाे मृत्यु भएपछि उनी विभागमा क्षतिपूर्तिका लागि आएकी रहेछिन्। 

‘खोई कहाँ छोरोकाे मृत्यु भयाे रे’ विभागको गेटमा थुचुक्क बसेकी उनी भन्दै थिइन्। उनलाई आफ्नो छोराले विदेशमा ज्यान गुमाएकाे कुरा राम्राेसँग थाहा थिएन। 'दुई छोरा थिए । एउटा विदेश गएकाे थियाे। उतै बित्याे भन्ने सुनेकी छु', उनले भनिन्, 'सरकारले क्षतिपूर्ति दिन्छ भन्ने सुनेर यहाँ आएकी हुँ।'

यूएईको कागज उत्पादन कम्पनीमा कार्यरत हरिन्द्र थारुको दसैँकाे मुखमा मृत्यु भएको थियो। उनको अचानक मृत्यु भएको खबर परिवारले पाएका थिए। बेजेन्द्रनीले अहिलेसम्म छोरा गुमेकाे खबर मात्र सुनेकी छन् कहाँ र कसरी मृत्यु भयाे भन्नेबारे उनलाई केही थाहा छैन। 

हरिन्द्रकाे शव नेपाल ल्याएर अन्तिम संस्कार भइसकेकाे छ। त्यसपछि ६० वर्षीय आमा अर्का छाेरालाई साथमा लिएर क्षतिपूर्तिका लागि विभाग आएकी हुन्। ‘काम गर्ने कहाँ पो गएको थियो रे। उतै के भएर बितेछ। शव मात्र आयो। मेरो छोरो त बित्याे याे पैसाले के गर्नु’, उनी भन्दै थिइन्, ‘छोरोको विहे गर्न केटी हेरिसकेकी थिएँ', नातिनातिना खेलाउने मेराे रहर अधुरै रह्याे।'

प्रकाशित मिति: : 2021-11-08 13:23:00

प्रतिकृया दिनुहोस्