डोल्पामा २ सय ८० घरधुरीलाई नि:शुल्क साेलार वितरण, पहुँच हुनेलाई मात्रै दिएकाे भन्दै स्थानीय आक्राेसित

डाेल्पाका त्रिपुरासुन्दरी नगरपालिकाका विभिन्न वडाका २ सय ८० घरधुरीलाई निःशुल्क सोलार वितरण गरिएको छ।

वैकल्पिक उर्जा पर्वद्धन केन्द्र काठमाडाैँको अनुदान सहयोगमा नगरपालिका अन्तर्गतका वडा नं.१ का ४०, वडा नं. २ का ७१, वडा नं. ३ का ३५, वडा नं. ४ का ३५, वडा नं. ७ का ४०, वडा नं. ८ का ३५ गरेर कुल २ सय ८० घरधुरीलाई सोलार वितरण गरिएको हो।

कार्यवाहक नगर प्रमुख चन्द्राकुमारी बुढाको रोहबरमा ८० वाटको सोलार, व्याट्री, तार, वल्ब लगायतका सामानहरु नि:शुल्क वितरण गरिएको सौर्य इनर्जी डोल्पाका प्रतिनिधि लिलराज रोकायले बिएल नेपाली सेवालाई बताए।

डोल्पासम्म सीधा यातायातको सुविधा नहुँदा वर्षातको समयमा एक दर्जन धेरै ठाउँमा गाडी परिवर्तन गर्दै अनेक दुख, कष्ट झेलेर सोलार ढुवानी गर्न सफल भएको उनले बताएका छन्। 

'जाजरकोटसम्म सडक कालोपत्रे भएकाले ढुवानी गर्न सजिलो छ, त्यहाँदेखि डोल्पासम्म पुग्न बीच बीचमा नदी र खोलामा पुल छैनन्, डोल्पासम्म सोलार पुर्याउन दर्जन धेरै ठाउँमा गाडी परिवर्तन गर्दा  ढुवानीमा घाटा व्यहोर्नु परे पनि स्थानीयलाई हस्तान्तरण गर्ने पाउँदा खुशी लागेकाे छ,' रोकायले भने।

दैनिक घण्टौँ लोडसेडिङ्को मारले अध्यारोमै जीवन गुजारा गरिरहेका ग्रामिण बस्तीका नागरिकहरुले सोलार पाएपछि खुशी भएका छन्।

साेलारकाे लागि त्रिपुरासुन्दरी नगरपालिकाका १७ सय घरधुरीले आवेदन दिएका थिए। प्रतिघरधुरी एक सय रुपैयाँ र नागरिकताको फोटोकपी बुझाएका चौध सय बीस घरधुरीले सोलार पाएनन्।

वैकल्पिक उर्जाले माग गरेजति सबै सोलार नदिएपछि आवेदन दिएका सबैघरधुरीले सोलार नपाएको नगरपालिकाले बताएको छ।

'सुरुमा एक सय रुपैयाँ र नागरिकता पेश गर्दा अनुदानमा सोलार पाइने भयो भनेर धेरै खुशी थियौँ, अहिले अन्तिमा आएर नगरपालिकाले उर्जाले पठाएको नामलिष्टमा नाम छैन भनेर भन्यो', त्रिपुरासुन्दरी नगरपालिका– १ का प्रेम शाहीले भने।

'गरीब विपन्नका लागि सोलार भनिएको थियो तर, कतिपय हुनेखाने र नेता र जनप्रतिनिधिलेनै सोलार पाए, वास्तविक विपन्न पनि छुटेकाछन्', उनले गुनासाे गरे।

स्थानीय राजबहादुर बुढामगले नगरका सत्र घरधुरीबाट प्रतिघरधुरी एक सय र बिद्यालयहरुबाट पाँच हजारका दरले उठाएको रकम कुनै हिसाब किताब नगरेको भन्दै स्थानीयले रकम फिर्ता गर्न माग गरेकाछन्।

नाम छनोटमा बिवाद

एकप्रति नागरिकताको फोटोकपी र एक सय रुपैयाँ उठाएका १४ सय २० घरधुरीका सबैले सोलार नपाएपछि बिवाद उत्पन्न भएको छ। सबै नागरिकको नाम सोलार पाउने सूचीमा छनोट नभएपछि बिवाद भएको हो।

सोलार पाउने व्यक्तिको नाम छनोटका बिषयमा यता वडाका कतिपय जनप्रतिनिधिलाई थाहै नभएको बताएकाछन्। आफ्नै वडामा पनि सोलार पाउनेको नाम पनि के कसरी छानियो आफूलाई थाहा नभएको वडा नं. १ का अध्यक्ष कर्मसिंह थापाले बताए।

यस बिषयमा वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र अन्तर्गत सौर्य तथा वायु उर्जा शाखाका सहायक निर्देशक डा.लक्ष्मणप्रसाद घिमिरेसँग बुझ्दा नगरपालिकाले नै नाम छनोट गरेर पठाएकाले त्यसैका आधारमा सूची प्रकाशित गरिएको बताए।

'नगरपालिकाबाट १७ सय घरधुरीकै नाम आएको थियो, माग भएजत्तीका सबैलाई सोलार दिन नसकिने भयो, फेरि सोलार पाउनै पर्ने बत्ती नपुगेका, विपन्न घरधुरीको नाम छनोट गरेर पठाउन भन्यौ, उता जुन नाम आयो तिनैको नाम हालियो, हामिले नाम छनोट गरेका होइनौ', घिमिरेले भने।

यो कार्यक्रममा लक्षित वर्ग भनेकै बत्ती नपुगेको ठाउँका नागरिक, दलित, विपन्न र गरीव नागरिक भएको घिमिरेको भनाई छ। नाम कसरी छनोट भयो भनेर नगरपालिकासँग बुझ्दा वैकल्पिक उर्जाबाटै आएको नामका आधारमा सोलार बितरण गरिएको बताएको छ।

प्रकाशित मिति: : 2021-11-09 19:42:00

प्रतिकृया दिनुहोस्