इतिहास बोकेका सम्पदा कतिखेर संरक्षित भएको ठहरिन्छ ?
अधिकांशको मानसपटलमा बडीगार्ड र सीसीटीभी जडान भएका ठूलाठूला हल र संग्रहालयले डेरा जमाउन सक्छन् । हो, संग्रहालयले सम्पदालाई ओत मात्रै होइन, आँत पनि भरिदिएका छन् ।
तर, कतै इतिहास सुरक्षित राख्ने नाममा सम्पदाको भविष्य नै खोसेको त छैन संग्रहालयले ?
छाउनीस्थित राष्ट्रिय संग्रहालयमा रहेको विष्णुविक्रान्तको मूर्तिले सो प्रश्नलाई टड्कारो बनाइदिएको इतिहासविद् महेशराज पन्त बताउँछन् । उनी भन्छन्, ‘सबै परिस्थितिमा संग्रहालयको ओत पाउनु नै सम्पदाको संरक्षण भएको सावित नहुन सक्छ ।’
पुरातात्त्विक नियमअनुसार कुनै पनि सम्पदालाई स्थानान्तरण गर्न मिल्दैन । तिनलाई जहाँ भेटिन्छ, त्यहीँ नै रहन दिइनुपर्छ । तर, विडम्बना ! लाजिम्पाटको धोवीचौरमा रहेको छँदाखाँदाको विष्णुविक्रान्तको वामनमूर्ति छाउनी संग्रहालयमा संगृहीत हुन आइपुग्नु संरक्षित हुनु नभएर हाम्रो संरक्षण चेतको उपहास भएको पन्तको भनाइ छ ।
तर, यसो भन्दै गर्दा यथास्थानमा नै रहन दिइनु मात्रै पनि सम्पदाको संरक्षण हुनु भने किमार्थ होइन । यसको ज्वलन्त उदाहरण हो, पशुपतिको तिलगंगामा रहेको विष्णुविक्रान्तकै जुम्ल्याहा मूर्ति, जुन हाल ढलको आहालमा आफ्नो अस्तित्व जोगाउन संघर्षरत छ ।