कसरी काममा फर्किँदैछन् सर्वोच्च अदालतका न्यायाधीशहरु ?

अनलाइनखबर

काठमाडाैँ

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराप्रतिको दृष्टिकोणलाई कायम राख्दै सर्वोच्च अदालतका न्यायाधीशहरु नियमित इजलासमा फर्किने भएका छन् । विहीबारको पूर्ण बैठकबाट मंसिर १५ देखि गोला प्रथाबाट पेशी व्यवस्थापन गर्ने निर्णय गरेका न्यायाधीशहरु सोही दिनदेखि काममा फर्किन लागेका हुन् ।

‘विभिन्न आरोपमा मुछिएका प्रधानन्यायाधीशको बहिर्गमनमा दवाव पुगोस् भन्ने उद्देश्यले हामीले अवज्ञा गरेका थियौं । तर उहाँमा कुनै नैतिकता र जवाफदेहीपन देखिएन । अब हामीले नै जिम्मेवारीबोध गरेर इजलासमा फर्किने समझदारी गरेका छौं’ सर्वोच्च अदालतका एक न्यायाधीशले अनलाइनखबरसँग भने । 

ती न्यायाधीशका अनुसार सर्वोच्चका सबै १९ न्यायाधीशका बीचमा प्रधानन्यायाधीशप्रतिको ३ वटा विषयमा भने साझा दृष्टिकोण बनेको छ । पहिलो, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाट अब न्यायपालिकाको नेतृत्व सम्भव छैन, दोस्रो, अहिले न्यायपालिकामा देखिएको समस्याको निकासको रुपमा प्रधानन्यायाधीशको बहिर्गमनलाई नै पहिलो माग हो र तेस्रोमा, प्रधानन्यायाधीश जबरालाई गोलाप्रथामा सहभागी नहुन अनुरोध गर्ने र सहभागी भएमा उनीसँग इजलासमा नबस्ने ।

ती न्यायाधीशले भने, ‘यति हुँदाहुँदै पनि उहाँ (प्रधानन्यायाधीश जबरा) ले जबर्जस्ती गोला लिन र इजलासमा बस्न खोज्नुभयो भने हामी उहाँलाई स्वीकार गर्दैनौं ।’

प्रकाशित मिति: : 2021-11-26 08:04:00

प्रतिकृया दिनुहोस्