एसएलसी फेल हुँदादेखि नेता हार्दासम्म मिल्ने गीत : यसपालि त मनै फाट्यो...

यसपालि राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनबाट अध्यक्षमा राजेन्द्र लिङ्देलले जितेपछि अर्का प्रतिस्पर्धी नेता कमल थापाले सामाजिक सञ्जालमा लेखे, ‘मेरो अन्तर्मनभित्र मेरो मान्यतामाथि गम्भीर प्रश्न चिह्न खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो-

‘पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालेँ।
त्यही साल माया फाट्यो, त्यसलाई पनि मनले टालेँ।’ 

अरुणा लामाको स्वरमा रहेको गीत निकै चर्चित छ। नेपाली मनले रुचाएको गीत हो यो। आफ्नो गीत लोकप्रिय हुँदा र राष्ट्रिय राजनीतिमा घट्ने केही घटनासँग आफ्नो गीतको मर्म मिल्न गई चर्चा पाउँदा गीतकारलाई खुसी नै लाग्ने भयो। तर, राजेन्द्र थापाको एउटा गुनासो छ, नेपालमा गीतकारको नाम लिइँदैन।

‘केपी शर्मा ओलीले सदनमा प्रचण्डलाई संकेत गर्दै ‘मन फाट्यो भने सिलाइन्छ’ भन्दै अरुणा लामाको नाम लिएका थिए,’ गीतकार थापाले टेलिफोनमा भने, ‘त्यसबेला अरुणा लामाको नाम लिँदा कान्तिपुरको पाठक स्तम्भमा मैले लेखेको थिएँ, ‘प्रधानमन्त्रीले मेरो नैतिक अधिकार हनन गर्नुभो, त्यो गीत अरुणा लामाको होइन, अरुणा लामाको स्वर हो। शब्द प्रयोग गरेपछि गीतकारको नाम लिनुपर्छ।’ 

अस्ति भर्खर पनि ओलीले एक कार्यक्रममा थापाका शब्द ‘पर लैजाऊ फूलहरू, छोपी देऊ तारा जुन बन्द गीतहरू’कै शैलीमा भनेका थिए- ‘भत्काइदेऊ धरहरा, पुरिदेऊ रानी पोखरी, टालिदेऊ मेलम्ची, भत्काइदेऊ सडक पुल र विमानस्थलहरू। ओली याद आउने सबै चिजहरू।’ 

आफ्नो गीतलाई प्यारोडी बनाउँदा पनि ओलीले मेरो नाम नलिएको थापाको भनाइ छ। 

प्रकाशित मिति: : 2021-12-08 17:40:00

प्रतिकृया दिनुहोस्