मूर्ति चोरीको कथा

काठमाडौंको हलचोकस्थित आकाश भैरव मन्दिर रित्तो भएको छ, यहाँको मूर्ति गत मंगलबार राति चोरी भयो। मंगलबार बिहान यहाँका पुजारी नारायण पुटुवार उदास मुद्रामा थिए। प्रहरीबाट सोधपुछको क्रम चलिरहेको थियो। उनले प्रहरीलाई मूर्ति चोरीको वृत्तान्त बताउँदै थिए।

हरेक दिन पूजा गर्न आउने स्थानीय अलमलमा थिए। मन्दिर परिसर नै उदास थियो, स्थानीयको मुहारमा आफ्नो आस्थाको धरोहर ढलेको भाव देखिन्थ्यो।

‘पहिले आदेश्वर, अस्ति इचंगु नारायण मन्दिरकाको मूर्ति चोरी भयो, आज यहाँको,’ भीडमा एक स्थानीय भन्दै थिए।

मन्दिर परिसरनजिकै तरकारी पसल गर्ने ६३ वर्षीया सुकु लामा खिन्न थिइन्। उनका लागि यो मन्दिर ठूलो भरोसा थियो। उनले मध्यराततिर मूर्ति चोरी भएको थाहा पाइन्। ‘एकाबिहानै मन्दिरमा गाइँगुइँ सुन्छु, आज कति चाँडै पूजा गर्ने मान्छे आए भनेर बाहिर हेरेको त मूर्ति चोरी भयो भनेर पुजारीबाजे कराइरहेका थिए,’ सुकु लामा हतास हुँदै भन्छिन्, ‘सधैँ पुजिरहेको, देखिरहेको मन्दिरमा मूर्ति नदेख्दा मन्दिर नै रित्तो लाग्दो रहेछ।’

प्रकाशित मिति: : 2021-12-09 10:31:00

प्रतिकृया दिनुहोस्