देश चिनाउने गाेर्खालीकाे योगदानको कदर खोई ?

मेजन पुन

पाेखरा
Breaknlinks
Breaknlinks

ब्रिटिश सेनामा गोरखालीहरु

एउटा सानो राज्य गोरखाबाट सन १७४३ (वि.सं. १७९९) देखि गोरखाका राजा पृथ्वीनारायण शाहले सुरु गरेको राज्य बिस्तार अभियान अन्तर्गत सन् १७६९ (वि.सं. १८२५) मा नेपाल (काठमाडाैँ) खाल्डो विजय गरेपछि गोरखाबाट राजधानी काठमाडौं सारेर नयाँ बिस्तारित राज्यलाई नेपाल भन्न थालेता पनि राज्य बिस्तार गर्नको लागि विभिन्न जातजातिको संगठित गोरखाको विजयी फौजलाई गोरखाली नै भनियो।

यो गोरखाली फौजले सन् १८१४ (वि.सं. १८७०) सम्म पूर्वमा टिस्टा नाघेर सिक्किमसम्म राज्य बिस्तार गरी चीनसँग र पश्चिमतिर सतलज नदी तरेर पञ्जाबका महाराज रणजित सिंहको सिख फौजसित भिड्ने भैसकेका थिए। गोरखालीहरुले यो राज्य बिस्तार अभियान अन्तर्गत देखाएको पराक्रम र रणकौशलकै कारण ईष्ट ईण्डिया कम्पनीको अंग्रेज साम्राज्य बिस्तार गर्ने योजनालाई असर पारेको थियो। यसर्थ सन् १८१४ मा विभिन्न बहाना बनाई झगडा गर्ने नीति अवलम्बन गर्न थाले।

अन्ततः नेपाल र अंग्रेजको युद्ध भयो। यस युद्धमा नेपाली फौजतिर १६ हजार भन्दा कम संख्या थियो भने अंग्रेजतिर ४६ हजार ६ सय २९ थियो। जसमा नेपालको हार भयो। सन् १८१६ (वि.सं. १८७२, पुष) को मार्च महिनामा सुगौली सम्झौतापछि गोरखालीहरुको पराक्रम र रणकौशलबाट प्रभावित भएका अंग्रेजहरुले उनीहरुलाई फौजमा भर्ती गर्न सम्झौता गरे। तर, शुरुवात भने सन् १८१५ अप्रिलमा कुमाउ–गढवाल युद्धमा पराजयपश्चात युद्धबन्दी बनाइएका केही गोरखाली सेनालाई लिएर सिरमुर बटालियन र नासिरी बटालियन खडा गरिसकेको इतिहास छ।

यसरी गोरखा राज्यबाट नेपाल र नेपालबाट पूर्व–पश्चिम क्षेत्रमा रहेको अन्य राज्य बिस्तारमा प्रयोग भएका सोझा पहाडी जनजाति लडाँकुहरु गोरखालीबाट गोर्खा वा गुर्खामा रुपान्तरित भएका हुन्। आफ्नो शासनलाई डग्न नदिन ब्रिटिसलाई खुशी पार्ने उद्देश्यले त्यतिखेरका राणा शासकहरु बिशेष गरी वीर शमशेर र चन्द्र शमशेरले केही थान बन्दुकको लागि आफ्नो स्वार्थ अनुकुल भर्ती नीति बनाएर ठाउँ–ठाउँमा भर्ती केन्द्र खोलेका थिए। उनीहरुले उर्दी नै लगाएर वा भर्ती हुन नचाहनेलाई सेना नै प्रयोग गरि राणा सिपाहीहरुले बलजफ्प्ती समातेर भर्ती गर्न पठाउने गरेका थिए।

अंग्रेजहरुले नेपाली समाजको अध्ययन गरी मतुवाली जातिका मानिसहरुलाई मात्र फौजमा भर्ती लिने नीति बनाएका थिए। मतुवाली मध्ये पनि बिशेषतः मगर–गुरुङ उनीहरुको प्राथमिकताको सूचीमा सबैभन्दा अगाडि थिए। पछि गएर मात्र राई र लिम्बु जातिले ब्रिटिश सेनामा प्रवेश पाएका हुन्। जातिगत आधारमा गोरखा ब्रिगेडका १० वटा रेजिमेन्टलाई विभाजित गरिएको थियो। जसअनुसार पहिलोदेखि छैठौँ तथा आठौँ गोरखा रेजिमेन्टमा मगर तथा गुरुङहरुको बाहुल्यता थियो भने सातौँ र दशौँ गोरखा रेजिमेन्टमा राई र लिम्बुहरु बढी मात्रमा थिए। नवौं गोरखा रेजिमेन्ट ठकुरी तथा खसका लागि भनेर छुट्टाइएको थियो।

लाहोरका लाहुरेहरु

भारतको तत्कालिन अबोटाबाटको लाहोर (हाल पाकिस्तानमा) क्षेत्रमा भर्ती हुन जाने चलनबाट लाहोरमा जाने–लाहोरमा जाने भनिंदा भनिदै लाहोरमा भर्ती भएको व्यक्तिलाई लाहुरे भनिएको हो। पहिले शासकको उर्दीबाट जबरजस्ती भर्ती भएका थिए भने कालान्तरमा छुट्टिमा घर आएका लाहुरेहरुले समेत भर्ती हुन लायक गाउँघरका युवाहरुलाई केही पैसा दिएर लाहोर लगे र लाहुरे बनाए। यसरी केटाहरु लगेवापत उनीहरुलाई केही कमिसन पनि दिइन्थ्यो।

खान र लगाउने समस्या रहेको नेपालको पहाडी क्षेत्र र अवसरको अभावमा जीवन व्यतित गरिरहेका युवाहरु लाहुरे बनेपश्चात छुट्टी आउँदा उनीहरुले लगाएको लुगाहरु र कमाई ल्याएको पैसाबाट आकर्षित भएर सजिलै लाहुरे बन्न जाने सपना देख्न थाले। हुने खानेले मात्र (बिशेष गरी राणाहरु) पढ्ने जमानामा पहाडी क्षेत्रका जनजाती युवाहरु विदेशी सेनामा भर्ती भएर लडाइँको अग्र भागमा लड्ने स्थल सेना (ईन्फ्रन्ट्री) को रुपमा प्रयोग भएका थिए। गाउँघरको हावापानीमा रमाएका अनि 'क' समेत नपढेका युवाहरुलाई सेनाको कडा अनुशासन र लडाइँको युद्ध कला सिकाएर लडाइँको अग्र भागमा पठाएपश्चात मर्नु् भन्दा बाँच्ने आशामा अगाडि आएका जति दुश्मनलाई मारेर संसारमा उनीहरु बहादुर कहलिए। विश्वमा बहादुर जन्माउने देशको नामले समेत नेपाललाई चिनाएका छन्। बहालवाला लाहुरेहरुको तलब र अवकास आएका पेन्सनरहरुबाट देशमा अरबौं रेमिट्यान्स भित्रिएको छ भने शैक्षिक, स्वास्थ्य तथा विकासको क्षेत्रमा पनि उनीहरुको योगदान अतुलनीय रुपमा रहेको छ।

भारतमा भर्ती भएर प्रथम र द्वितिय युद्धमा हराएका र अत्तोपतो नलागेका गोर्खालीहरुको नाममा रहेको रहलपहल रकमबाट स्थापना भएको युद्ध पश्चात पुनः निर्माण कोषको लगानीबाट निर्माण भएको अमरसिंह उच्च मा.वि. मा अहिले २ हजार भन्दा बढी छात्रछात्राहरुले अध्ययन गरिरहेका छन् भने यहाँ दृष्टिविहिन छात्रछात्राहरुले समेत अध्ययन गरिरहेका छन्। यसै गरी सोल्जर्स बोर्ड अस्पताल हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल देशकै नमूना अस्पताल बन्ने क्रममा छ। जहाँ वर्षेनी लाखौ विरामीहरुले स्वास्थ्य सुविधा पाउनुको साथै नवजीवन प्राप्त गरिरहेका छन्।

गोर्खा वेलफेर स्किमबाट संस्थागत रुपमा यो पछिल्लो १० वर्षमा मात्र पनि १७ हजार ७५ जनाले १३ करोड १४ लाख ३३ हजार ४ सय २६ रुपैयाँको छात्रवृति प्रदान गरेको रेकर्ड पाउन सकिन्छ। साथै गोर्खा वेलफेर स्किमबाटै नेपालका ११ अञ्चल (कोशी, मेची, सगरमाथा, जनकपुर, वाग्मति, लुम्बिनी, राप्ती, नारायणी, गण्डकी, धौलागिरी र भेरी) मा १ सय २४ वटा स्कुललाई ४ देखि १० वटा कक्षा कोठा, फर्निचर र शौचालय निर्माण गरेको रेकर्ड प्राप्त गर्न सक्छौं। र, मुख्य विद्यालय निर्माण गरेको रकम हेर्दा १५ करोड २० लाख ७३ हजार ९ सय ९६ आर्थिक सहयोग गरेको देखिन्छ। साथै डिष्ट्रिक सोल्जर्स बोर्डबाट वर्षेनी छात्रवृत्ति प्रदान गर्नुको साथै विभिन्न ठाउँमा विद्यालय निर्माणको लागि आर्थिक सहयोग गरेको रेकर्ड पाउन सकिन्छ। यो सबै भारत र ब्रिटिश गोरखाली सैनिकहरुले विगतमा गरेको देनकै कारण हो।

लाहुरेहरुको योगदान

पहाडी क्षेत्रमा सरकारले ध्यान दिन नसकेको अवस्था या भनौंं अवसरको अभावमा भर्ती भएर जुवा खेल्न विदेशीएका हुन्, लाहुरेहरु। ज्यानको जुवा खेल्न गएका त हुन्, उनीहरु। मरे, वीरहरुको पनि वीर महावीर– बाँचे सुख साथ परिवारसँग आफ्नो देशमा। प्रथम र द्वितिय युद्धमा मात्र होइन गोरखालीहरुले धेरै युद्धमा रगत बगाए। बाँचेर फर्केका भूपूहरु र अझै कार्यरत सैनिकहरुले देशमा शैक्षिक, आर्थिक, स्वास्थ्य, सडक निर्माण तथा खानेपानी व्यवस्था (भौतिक निर्माण) गर्ने क्रममा व्यक्तिगत तथा संस्थागत रुपमा योगदान दिईरहेका छन्।

लाहुरेहरुले निश्चित पनि अन्य देशको लागि रगत बगाए। ज्यानको आहुति दिए। तर, १८१६ मा त्रिदेशीय सम्झौता गरेको कारणले यो वातावरण बनेको हो। त्यो सम्झौता त देशकै सरकारले गरेको हो। सरकारले भर्ती गर्ने नीति लिएकै कारण जनजाति युवाहरु विदेशमा गएर आफ्नो श्रम, शक्ति, रगत अनि यौवन उतै दिएका हुन्। यसर्थ गोरखालीहरुको ती वीरताको व्यथा बेवारिसे हुँदै होइनन् त्यतिबेला राज्यको नीतिनै त्यस्तै थियो। यसर्थ वीरताका ती/यी कथाहरुलाई बेवारिसे होइन आफ्नो बनाउनु हाम्रो कर्तव्य र धर्म हो।

कदर खोई ?

अहिले त लाहुरे भन्दा पनि रोजगारको अभावमा विदेशमा काम गर्न गएका धेरै व्यक्तिहरुको कारणले देशमा रेमिट्यान्स भित्रिन्छ र देशको आर्थिक गति त्यति उद्यो लाग्न पाएको छैन। पहिले त देशमा रेमिट्यान्सको माध्यम भनेकै लाहुरेहरु थिए। जेहोस् राज्यको त्रिपक्षीय सम्झौताको कारणले विदेश पुगेका नागरिकहरु पनि नेपालीहरु नै हुन्। उनीहरुले रगत र पसिना विदेशमा बगाए। उनीहरूले कमाएको पैसा त देशमा पठाएकै हुन् तर अहिले मात्र बेलायतले वर्तमान लाहुरे तथा भूपू लाहुरे अनि परिवारलाई उतै बस्न सुविधा दिएकै कारण बेलायतबाट आउने रेमिट्यान्समा केही कमी आउने निश्चित छ। तर, देशलाई चिनाएको लाहुरेहरु, भीसीहरुको कदर देशभित्र भएको छैन।

अस्ति भर्खर बेलायतले दोश्रो विश्व युद्ध अन्त्य भएको ७५ वर्ष पुगेको अवसर पारेर भीसी तुलबहादुर पुनको नामबाट रेल सेवा नै सञ्चालन गरेको छ। यसको उद्घाटन भीसीका छोरा अर्जुन पुन र छोरी मेखकुमारी (मेगन) पुनले गरेका थिए।

यस्तैगरी बेलायतमा भीसी कुलवीर थापाको नाममा मुर्ती शिलान्यास गरिएको छ। तर, नेपाल जहाँ तिनै भीसीहरु जन्मेको देशमा उनीहरुको कुनै कदर गरिएको छैन। पोखरा नदीपुरस्थित ज्ञान चोकमा रहेको भीसी तुलबहादुर पुनको घर नजिकको बाटोलाई भीसी मार्ग भनेर नामांकन गरी बोर्ड राखिएको थियो तर अहिले निकालिएको अवस्थामा छ। राज्यबाट राखिएको पनि होइन यो। व्यक्तिगत रुपमा टोलबासीहरु मिलेर राखिएको थियो तर नगरपालिकाबाट बाटो बनाउने क्रममा उखालिएको छ। यो त एउटा नमुना मात्रै हो। नेपालका भीसीहरुले रगत विदेशमा बगाए। विश्वमा बहादुर कहलिए। नेपाललाई बहादुर जन्माउने देश भनेर चिनाए। तर, उनीहरुलाई देशले चिन्न सकेन। बेलायतले भीसीहरुको योगदानको कदर गर्न शुरुवात गरेको छ। यसप्रकारको काम राज्यबाट हुन्छ कि हुँदैन ? उनीहरुको योगदानको कदर गरिन्छ कि गरिदैन ?

प्रकाशित मिति: : 2022-01-09 14:46:00

प्रतिकृया दिनुहोस्