आहा ! ‘भर्जिन ल्यान्ड’ (फाेटाे फिचर)

सलकपुरको सुन्तलाको चर्चा नेपाली बजारमा मात्रै होइन, भारतको काेलकात्तासम्म पनि हुन्छ। ‘गोल्डेन भ्याली’ को नामले चिनिने सलकपुरको सुन्तलाको नाम लिनेबित्तिकै सबैको मुख रसाउँछ।

भारतमा हुने महोत्सवमा सलकपुरको सुन्तला छुट्दैन। सुन्तला मात्रै होइन सलकपुरको आधुनिक कृषि हेर्न र अनुकरण गर्न लायक छ। सुन्तलाभन्दा अग्लो बोटमा झुप्पा लाग्ने सुपारी, मझौले बोटमा पहेँलपुर भएर पाक्ने रसिलो सुन्तला र सुन्तलाको छाहारीमा लहलह भएर बारी ढाकेको अलैँची। कस्तो लोभलाग्दो आधुनिक कृषिको नमुना। त्यसमा ठाउँठाउँमा राखिएको मौरीको आधुनिक घार, व्यवस्थित पशुपालनले सलकपुरको सुन्दरता बढाएको छ। 

सलकपुरबाट केही माथि उक्लिएपछि पुगिने झण्डिडाँडा छिमेकी जिल्ला झापाबाट सबैभन्दा छोटो उक्लिएपछि सूर्योदयको मनोरम दृश्यावलोकन गर्न पाइने ठाउँ हो। झण्डिडाँडाबाट झुल्के घाम मात्रै देखिने होइन, कञ्चनजंघाको काखमा परेको कलिलो घामको किरणको दृश्यले पनि मोहित बनाउँछ। झुल्के घामको किरणसँगै नेपाल र भारतको क्षितिजसम्म देखिने समथर फाँटमा आँखाको तिर्खा मेटुञ्जेल नियाल्न सकिन्छ। अर्कोतिर कन्यामको चियाबारी जौबारी र सन्दकपुरसम्मको भूभाग कलिलो घामको किरणमा उस्तै हेरिरहु लाग्छ। 

झण्डिडाँडा हुँदै भर्खरै बनाइएको पदमार्ग लम्किँदा गिद्देभीर उक्लिएको पत्तै हुँदैन। गिद्देभीर नाम मात्रको गिद्धेभीर होइन। प्रकृतिको कुचीकारको रूपमा चिनिने गिद्धको हुल देख्न पाइने भएकालेनै गिद्देभीर भएको हो।

अनेक नदीहरूले चिराचिरा परेजस्तो देखिने तराईको समथर भूमि अर्कोतिर कञ्चनजङ्घा हिमालको काखमा हरियो कार्पेट ओच्छ्याएजस्तो चियाका बगान नियाल्दै हिँड्न सकिने ‘केरसोङ पदमार्थ’ कम्ती आनन्ददायक छैन। २९ किलोमिटरमध्ये सात किलोमिटर पूरा भएको पदमार्गको नाम रोङ गाउँपालिकाले लोपोन्मुख लेप्चा जातिको भाषाबाट नामाकरण गरेको हो। गाउँपालिकाको नाम पनि लेप्चा जातिको भाषाबाटै राखिएको हो। गाउँपालिकाले नामाकरण गरेको ‘करसोङ’ भनेको नेपालीमा सुनाखरी पदमार्ग हो। नामै सुनाखरी पदमार्ग भएपछि सुनाखरी छुट्ने कुरा भएन।

सूर्योदय र रोङ गाउँपालिकामा फैलिएको हाँसपोखरी अर्किडको अध्ययन अवलोकनका लागि अदभूत क्षेत्र मानिन्छ। सुनाखरी (अर्किड) साइटिस (अन्तर्राष्ट्रिय व्यापार महासन्धि) सूचीको अनुसूची-२ मा सूचीकृत वनस्पति हो। यो क्षेत्रमा मात्रै ४१ प्रजातिका अर्किड पाइन्छ। तीमध्ये २५ प्रजाति रुखमा, १३ प्रजाति जमिनमा र तीनवटा प्रजाति रुख र जमिन दुवैमा पाइने गरेको छ।

अरु देशमा नपाइने १४ प्रजातिका अर्किड नेपालमा मात्रै पाइन्छ। त्यसमध्ये केही प्रजातिका अर्किड हाँसपोखरी क्षेत्रमा मात्रै पाइने अध्ययनले पुष्टि गरेको छ। अनेक रंगविरंगका सुनाखरीले पदमार्गको यात्रामा मोहित बनाउँछ। 

यो पदमार्गमा यात्रामा सिजनअनुसारको जंगली फलफूल कन्दमूल, जंगली पशुपन्छी, लोपोन्मुख वनस्पति हेर्ने रहर पनि पूरा हुन्छ। पदमार्गले डोर्‍याउँदै पुर्‍याउने पाथिभरा, अलि छड्किएपछि पुगिने कन्याम, तारगाउँ पोखरी र त्यहाँको ब्यावसायिक तरकारी खेती नियाल्दा फर्किन मन लाग्दैन।

पदमार्गको अर्को आकर्षण ‘गुगल पोइन्ट’ हो। गुगल पोइन्टले सूर्योदय दृश्यावलोकनमा उत्तिकै पनि चर्चा कमाउँदैछ। मेची राजमार्गबाट छोटो दूरीमा पुगिने गुगल पोइन्ट पदमार्गको महत्त्वपूर्ण आकर्षण हो। पदमार्गलाई सजाउन २५ हजार गुराँसको बिरुवा लगाइएको छ। गुराँस फूल्न थालेपछि पदमार्गको रौनकता थप बढ्नेछ। तराईसँगै जोडिएको पदमार्गको यात्रा अनेक रसास्वादन गर्न पाइने छ। पर्यटकका लागि ‘भर्जिन ल्यान्ड’ हरुलाई समेटेर बनाइएको पूर्वकै लामो पदमार्ग पर्यटक आकर्षणको केन्द्र बन्नेछ। 

कोरोना महामारीको बेला विकास निर्माणको काम प्राय ठप्प हुँदा रोङ गाउँपालिकाले पर्यटकीय पोइन्टहरूलाई जोड्न पदमार्ग बनाएको हो। पदमार्ग निर्माणमा लागि गाउँपालिकाको मात्रै होइन, प्रदेश १ सरकार र संघीय सरकारको समेत बजेट खर्च भएको छ। गएको आर्थिक वर्षमा रोङ गाउँपालिकाको १५ लाख रुपैयाँ, संघीय सरकारको १५ लाख र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको १२ लाख रुपैयाँ खर्चियो। बाँकी काम पूरा गर्न संघीय सरकारले ६२ लाख रुपैयाँ विनियोजन गरेको छ। त्यसमा रोङ गाउँपालिकाको ३० लाख रुपैयाँ र प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको २० लाख रुपैयाँ खर्च गरेर पदमार्ग बनाइँदैछ।

पदमार्गले पर्यटनमार्फत स्थानीयको आर्थिक हैसियत पनि उकासिने रोङ गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर-५ का अध्यक्ष सुवास स्याङबो बताउँछन्। ‘पदमार्गले यो क्षेत्रको आर्थिक विकासमा ठूलो योगदान गर्छ’, स्याङबोले भने, ‘हामीले यो कार्यकालमा देखाउन लायक काम गरेका छौ भन्ने लागेकाे छ।’ 

रोङ गाउँपालिका-३ हाँसपोखरीबाट सुरु भएको पदमार्ग रोङ ५, ६ हुँदै सिमानाको मेची नदी, निन्दा सिरान हुँदै मेचीनगर नगरपालिकासम्म जोडिएको छ। २९ किलोमिटर दूरीमध्ये १६ किलोमिटरमा पदमार्ग निर्माण भइसकेको छ। पदमार्गमा १५ वटा पर्यटकीय पोइन्टहरू पर्छन्। पदमार्गमा यात्रा गर्ने पर्यटक लक्षित गरेर ६ ठाउँमा होमस्टे पोइन्टको विकास गरिएको गाउँपालिकाका प्रवक्ता सुवास स्याङबोले बताए।

‘हामीले विभिन्न संघसंस्थाको पहलमा होमस्टे पोइन्टहरू पनि विकास गरेका छौ’, उनले भने,‘होमस्टेको बसाई पर्यटकका निम्ति अर्को आकर्षण बन्छ।’ पदमार्ग बनिएपछि भरतीय पर्यटकहरूलाई पाथीभरासम्मको यात्रामा समेत सहज भएको छ। 

पालिकाले बनाएको पदमार्गमा साइक्लिङको सम्भावना उस्तै छ। हाँसपोखरीबाट अलि उकालो उक्लिएपछि ‘गुगल पोइन्ट’मा पुगिन्छ। त्यसका उताको दम्साइलो बाटोमा आरामका साथ साइक्लिङ गर्न सकिन्छ। पदमार्गमा साइक्लिङको समेत सम्भाव्यता अध्ययन भएको छ। पालिकाले पदमार्गको प्रचार प्रसारका लागि साइक्लिङ रेस, फुड फेस्टिभललगायतका कार्यक्रम आयोजना हुँदै छन्। 

प्रकाशित मिति: : 2021-12-23 14:21:00

प्रतिकृया दिनुहोस्