रकम बुझेर ठेकेदार फरार, आयोजना अलपत्र [भिडियाेसहित]

पुल निर्माण नहुँदा राष्ट्रिय गाैरवका आयाेजना समेत अलपत्र

डोल्पा र पश्चिम रुकुमको सीमानाअन्तर्गत पर्ने त्रिवेणी–मुड्केचुला जोड्ने १ सय मिटर लामो पक्की पुल १७ महिनादेखि अलपत्र परेको छ। भ्याटसहित १४ करोड ८९ लाख २५ हजार ९ सय २८ रूपैयाँ लागतमा पुल निर्माणको जिम्मा पाएको क्याराभान कन्ट्रक्सनले लामो समयसम्म काम सुरु नगरेपछि निर्माण कार्य अलपत्र परेको हो।

पुल बनाउन अहिलेसम्म निर्माणस्थलमा एउटा ढुङ्गा पनि पल्टाइएको छैन भने आवश्यक उपकरण र निर्माण सामग्रीहरु समेत पुर्‍याइएको छैन्।

१०६ मेघावाटको जगदुल्ला हाइड्रो पावर कम्पनीले निर्माण सामाग्रीहरु आयोजनास्थलसम्म लैजान पुल अत्यावश्यक भएको भन्दै ०७७ साउनमा टेण्डर खुलाएको थियो।

टेण्डर हात पारेको केही समयमै प्रबन्धक चन्द्र थकालीले तत्काल काम सुरु गर्ने भन्दै आयोजनाबाट ७२ लाख पेश्की रकम लिएपनि अहिलेसम्म काम भने सुरु गरेका छैनन्।

आयोजना निर्माण प्रभावित

डोल्पामा निर्माण हुन लागेको १०६ मेघावाटको जगदुल्ला हाइड्रो अर्धजलाशययुक्त जलविद्युत आयोजनाको निर्माणकार्य प्रभावित भएको छ। त्रिवेणीस्थित ठूली भेरी र जगदुल्ला नदीमा बन्नुपर्ने पक्की पुलनै अलपत्र परेपछि आयोजनाको निर्माण कार्य पनि प्रभावित भएको हाे।

कुल १ सय मिटर लम्बाइ रहेकाे पुलमा ४० मिटर ट्रष्ट र ६० मिटर आर.सी.सी रहेको कम्पनीले जनाएको छ। हाइड्रो पावर कम्पनीले सयौँ टन तौलका निर्माण सामाग्रीहरु आयोजनास्थलसम्म लैजान पहिलो प्राथामिकता पुललाई दिएर ठेक्का आह्वान गरेको थियो। तर, पुलनै अलपत्र परेपछि आयोजनाको निर्माणकार्य समेत प्रभावित भएको कम्पनीले जनाएको छ।

७२ लाख पेश्की गयो, काम सुरु भएन

निर्माणको जिम्मा लिएको १७ महिना बितिसक्दा समेत क्याराभान कन्ट्रक्सनले काम सुरु गरेको छैन्। त्यतिमात्र नभई पुल निर्माणका बिषयमा समन्वय गर्न प्रबन्धक थकाली निर्माणस्थलमा नपुगेको र कामको भौतिक प्रगति शुन्य भएको त्रिवेणीका स्थानीय बताउँछन्।

ठेकेदार थकालीले ०७७ साउन १४ मा हाइड्रो पावर कम्पनीसँग सम्झौता गरेका थिए। डिजाइन स्टमेट र वातावरणीय प्रभाव मुल्याङ्कनको कामसहित ०८० साउन १२ भित्र काम सम्पन्न गरिसक्नुपर्ने आयोजनाका इन्जिनियर सुरेश वलीले जानकारी दिए।

कम्पनी सुरुको अवस्थामा ठेकेदारको सक्रियता देखेर भनेकै समयमा पुल बन्ने कुरामा ढुक्क भएपनि अहिलेसम्म निर्माणस्थलमा एउटा ढुङ्गा पनि पल्टाइएको छैन्।

पक्की पुल निर्माणको जिम्मा पाएको क्याराभान कन्ट्रक्सनले निर्माणकार्य सुरु नगरेको जगदुल्ला हाइड्रो पावर कम्पनीका आयोजना प्रमुख सञ्जय सापकोटाले बताए।

'६ महिना डिजाइन सम्पन्न गरेर दुई वर्षभित्र काम सक्नुपर्ने हो, एक वर्ष बितिसक्यो काम सुरु भएको छैन्', उनले भने,'कोभिडका कारणले पनि केही समस्या परेको हो, कन्ट्रक्सनलाई साइट भिजिट गरेर निर्माण सामाग्रीहरु लैजान भनेका छौँ, त्यसका लागि आवश्यक समन्वय गर्न परे पनि गर्छौ पनि भनेका छौँ, आशा छ पुलको निर्माण कार्य छिट्टै सुरू हुनेछ।'

त्रिवेणीको पुल सडक आयोजनाको मुटु भएकाे उनले बताए। जसकाे निर्माण कार्यमा ढिलासुस्ती गर्दा राष्ट्रिय गाैरवका आयोजना प्रभावित भएकाे उनीले बताउँछन्।

स्थानीय आक्रोशित

पुल अलपत्र परेपछि स्थानीयबासी ठेकदारसँग आक्रोशित भएका छन्।

पुल निर्माणको जिम्मा पाएका ठेकेदारनै पेश्की रकम लिएर बेपत्ताहुँदा मुड्केचुला र जगदुल्ला गाउँपालिकाका भविष्यसँग जोडिएको आयोजनाको निर्माण कार्य प्रभावित भएको भन्दै स्थानीयबासी आक्रोशित भएका हुन्।

लाखौँ रकम पेश्की लिएर पनि कामको नाममा सिन्को नभाचेकेले यथाशीघ्र काम सुरु नगरे जनता आन्दोलित हुने मुड्केचुलाका स्थानीय मानवीर बुढाले बताए।

'सडक र पुल  जलविद्युत आयोजनाको मात्र नभई जनताको जीवनस्तरमा परिवर्तन ल्याउने प्रमुख माध्यम हुन्, अझै पनि मुड्केचुलाबासी पिठ्युमा बोकेर ल्याएको खाद्यान्नले जीवन गुजारा गर्छन्, डोकोमा बिरामीको सास जोगाउँन बाध्यछन्, एक ठाउँमा अर्को ठाउँमा जान ज्यान हत्केलामा राखेर घण्टौँ पैदल यात्रा गर्नुपर्छ, त्यसकारण पनि सडक र पुल भनेकै समयमा बन्नुपर्छ,' बुढाले भने।

त्यस्तै अर्का स्थानीय कुमबहादुर बोहोराले पुल नबन्दा दुई वटा गाउँपालिकाका स्थानीयको जीवनस्तर समेत कष्टकर भएको बताए।

'त्यही ठाउँमा पुल बनाउने भनेर करिब दुई वर्षअघि थाहा पाएका थियौँ, तर अहिलेसम्म पुल बनाउने सुरसार छैन्,' उनले भने,'पुलका ठेकेदारको नाम चन्द्र थकाली हुन तर के कति कारणले ढिलासुस्ती भयो केही थाहा छैन्।'

त्रिवेणीमा पुल नबनेकै कारण मुड्केचुला गाउँपालिकाका विभिन्न गाउँबस्ती पुग्ने सडक निर्माणमा समस्या भएको र समग्र डोल्पाबासीको सपनाको रुपमा रहेको जगदुल्ला हाइड्रो पावरको निर्माणकार्य समेत प्रभावित भएको स्थानीय युवा बालकृष्ण बोहोराले बताए।

कमिशन खाँदै ठेक्का बेच्दै

पुल निर्माणको जिम्मा लिएको क्याराभान कन्ट्रक्सनले पनि अर्को स्थानीय कन्ट्रक्सनलाई ठेक्का बेचेको पाइएको छ। भ्याट रकमसहित करिब १५ करोड लागतमा जिम्मा लिएको क्याराभान कन्ट्रक्सनले छ प्रतिशत नाफा लिएर अर्को स्थानीय कन्ट्रक्सनलाई बेचेको हो।

यसअघि क्याराभान कन्ट्रक्सनका प्रबन्धक थकालीले अर्का ठेकेदार जनक विसिलाई ठेक्का बेचेका थिए। विसिले पनि काम नगरेपछि स्थानीय निर्माण व्यवसायि तथा रेट्रो टेक कन्ट्रक्सनका बादल बुढाले ठेक्का किनेका छन्। यसरी एउटै ठेक्का तीन पटक बेच्दा समेत पुल निर्माणको कुनै सुरसार छैन्।

क्याराभान कन्ट्रक्सनबाट आफूहरुको रेट्रो टेक कम्पनीले १४ करोड १७ लाखमा कामको जिम्मा लिएको निर्माण व्यवसायी जय रोकायले बताए। भर्खरै मात्रै आन्तरिक सम्झौता भएकाले यसै महिनाको अन्तिममा काम सुरु गर्ने तोकिएकै समयमा काम सम्पन्न गर्ने रोकायको भनाइ छ।

जग्गा धनीको पनि अवरोध

त्रिवेणीमा निर्माण हुन लागेको पुल पर्ने जग्गामा जग्गाधनीले पनि अवरोध गरेका छन्। आफ्नो जग्गामा पुल परेको भन्दै जग्गाधनी माधव रोकायले ठेकेदारसँग मुअब्जा मागेका हुन्।

पुल निर्माणस्थलमा कुल ३५ रोपनी जग्गा भएको प्रतिरोपनी ५ लाखका दरले मुआब्जा नदिए कुनै हालतमा पुल बन्न नदिने माधव रोकायले बताए। जुन ठेकेदारले काम लिएपनि पैसा नदिउञ्जेल काम गर्न नदिने उनको भनाई छ।

यता ठेकेदारले भने जग्गाधनीसँगको बिवाद हाइड्रो पावरलेनै मिलाउनुपर्ने बताउँदै आएका छन्। आफूहरुको काम पुलमात्रै बनाउनु भएकाले पुल बनाउने रकमबाट जग्गाधनीलाई एक रुपैयाँ पनि दिन नसकिने उनिहरुको भनाइ छ।

जनप्रतिनिधिको पनि ताकेता

क्याराभान कन्ट्रक्सनले त्रिवेणीमा पक्की पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै मुड्केचुला गाउँपालिकाकाले आपत्ति जनाएको छ। स्थानीय मात्र नभई प्रदेश र संघ सरकारको समेत प्राथामिकतामा परेको राष्ट्रिय गौरवको आयोजनालाई लक्षित गरी टेण्डर आह्वान गरिएको पुल निर्माण ढिलासुस्ती गरेर राम्रो नगरेको वडा नं ४ का अध्यक्ष जगबहादुर बुढाले बताए।

'हाइड्रो पावरले पुलको टेण्डर गरेको हो, टेण्डर भएको लामो समय बित्यो प्रगति शुन्य छ, अब हाइड्रो पावरलाई पनि ताकेता गर्छौ, ठेकेदारलाई पनि ताकेता गर्छौ,' उनले भने,'एउटा ठेकेदारका कारण डोल्पालीको भविष्यसँग जोडिएको आयोजना प्रभावित हुन दिँदैनौ, काम नगरेको कारवाहीको लागि सिफारिश गर्छौ।'

कोभिड र वर्षाले काममा ढिला भयोः ठेकेदार

क्याराभान कन्ट्रक्सनका प्रबन्धक चन्द्र थकालीले कोरोना कहर र वर्षाले गर्दा काममा ढिलासुस्ती भएको बताएका छन्।

'नियतबस काममा ढिलासुस्ती भएको होइन्, सम्झौता गर्दा लकडाउन थियो काम गर्न सकिएन्, त्यसपछि वर्षालाग्यो, जसका कारण पुल बन्ने ठाउँमा त्यहाँको भुगोल बलियो छ कि छैन् नापजाँच गर्न कठिन भयो', थकालीले भने,'काममा धेरै ढिलानै भएको छैन्, पुलको डिजाइन पास भइसकेको छ,वातावरणीय प्रभाव मुल्याङ्कनको कामसहित सार्वजानिक सुनावाई पनि केही दिनभित्र गर्दैछौ।'

यही महिनाकाे अन्तिमबाट काम सुरू गर्ने तयारी थालिएकाे उनले बताए। वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन प्रदेश उर्जा मन्त्रालय वा संघीय सरकारको उर्जा मन्त्रालयमा कहाँ बुझाउने भन्ने प्रष्ट नहुँदा पनि लामो समय काम अन्योलमा पारेको उनको भनाइ छ।

आफूबाट पुलको कामको जिम्मा रेट्रो टेक कम्पनीलाई दिएको साँचो भए पनि ठूला काम आफैले गर्ने ठेकेदार थकालीले बताए।

सडक पुल लगायतकाअन्य पूर्वाधार निर्माण भए पाँच वर्षभित्र जल विद्युत आयोजना निर्माणकार्य सम्पन्न हुने हाइड्रो पावर कम्पनीले जनाएको छ। करिव २० अर्ब लागतमा बन्न लागेको उक्त आयोजनाको बाँध जगदुल्ला गाउँपालिकाको हुरीकोटमा र पावर स्टेसन मुड्केचुला गाउँपालिकाको इलमा बनाउने कम्पनीले जनाएको छ।

अहिले इल गाउँमा हाइड्रो पावरको दुई वटा परीक्षण सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको यही महिनाको अन्तिमसम्ममा काम सकिने कम्पनीले जानकारी दिएको छ। दुई वटा सुरुङ गरेर कुल लम्बाई ४ सय मिटर हुने बताइएको छ।

दुई वटा परीक्षण सुरुङ निर्माणको जिम्मा शेर्पा हाइड्रो कन्ट्रक्सनले ८ करोड ७४ लाखमा दुई वर्षअघि जिम्मा लिएको हो। त्रिवेणीदेखि पावर स्टेसन बनाइने स्थान इलसम्मको नाै किलोमिटर सडक निर्माणका लागि टेण्डर भएर पनि काम सुरु भइसकेको हाइड्रो पावरले कम्पनीले जनाएको छ।

प्रकाशित मिति: : 2021-12-26 18:25:00

प्रतिकृया दिनुहोस्