शीर्ष क्लब चेल्सी, आर्सनल र टोटनहमको जित

(Photo by Darren Walsh/Chelsea FC via Getty Images)
(Photo by Darren Walsh/Chelsea FC via Getty Images)

इंग्लिस प्रिमियर लिग फुटबलमा गय राति भएको खेलमा शीर्ष क्लब चेल्सी, आर्सनल र टोटनहमले जित हासिल गरेका छन्।

आइतबार राति भएको खेलमा चेल्सीले घरेलु टोली  एस्टन भिल्लालाई ३-१ ले पराजित गर्‍याे। जजिन्होले दुई गोल गरेपछि चेल्सीले सहज जित पायो। तीन अंक हासिल गर्ने क्रममा जर्जिन्होले दुई गोल गरे भने रोमेलु लुकाकुले १ गोल गरे। चेल्सीकै रिस जेम्सले २८ मिनेटमा आत्माघाति गोल गर्दा घरेलु टोली एस्टन भिल्लाले भिल्ला पार्कमा अग्रता बनाएको थियो। 

अर्काे खेलमा आर्सनलले नर्वीचलाई ५–० को भारी अन्तरले पराजित गर्‍याे। एकपक्षीय जितमा भ्रमणकारी टोली आर्सनलका लागि बुकायो साकाले दुई गोल गरे भने कियरान टिएर्नी, एलेक्जान्ड्रे लाकाजेटी र अमिल स्मिथ रोले १-१ गोल गरे। 

अर्काे खेलमा टोटनहमले क्रिस्टल प्यालेसविरुद्ध ३-० को जित निकाल्यो। उसको जितमा ह्यारी केन, लुकास मौरा र हङ मिन सनले १-१ गोल गरे। 

अर्काे खेलमा वेस्ट ह्याम युनाईटेड साउथह्याम्पटनसँग ३–२ ले पराजित भयो। 

गय राति नै भएको खेलमा म्यानचेस्टर सिटीले घरेलु मैदान इतिहादमा भएको खेलमा लेस्टर सिटीलाई ६–३ अन्तरले पराजित गर्‍याे।

सिटीको लागि रहिम स्टर्लिङले दुई गोल गरे। यस्तै केभिन डि ब्रुयन, रियाद महरेज, इल्काय गुन्डोगान र अमेरिक लोपार्टले १-१ गोल गरे। लेस्टरका लागि जेम्स माडिसन, एडेमोला लुकम्यान र केलेची इहेअनाचोले १-१ गोल गरे। 

जितसँगै सिटीले शीर्षस्थानमा  ६ अंकको अग्रता बनाएको  छ। सिटीको १९ खेलबाट ४७ अंक छ। एक खेल कम खेलेको लिभरपुलको १८ खेलबाट ४१ अंक छ। १९ खेल खेलेको चेल्सी ४१ अंक सहित तेस्रो स्थानमा छ। 

१९ खेलबाट ३५ अंक बनाएको आर्सनल चौथो स्थानमा रहँदा टोटनहम १६ खेलबाट २९ अंक सहित पाँचौ स्थानमा छ भने पराजित वेष्ट ह्याम १८ खेलबाट २८ अंक सहित छैटौं स्थानमा छ।

प्रकाशित मिति: : 2021-12-27 08:40:00

प्रतिकृया दिनुहोस्