भ्रष्टाचार मुद्दामा काठमाडौं बाहिरको जेथा जमानत अमान्य

विशेष अदालतले विगो बापत भ्रष्टाचारीबाट जग्गा जमानतको सट्टा नगदै वा काठमाडौंको चार किल्ला भित्रको घर जग्गा वा बैंक जमानत मात्र लिने भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारका मुद्दा दायर गरेपछि दलाल र विचौलिया सलबलाउने गर्थे। कतिपय दलालको त भ्रष्टाचार मुद्दा चलेपछि भाग्य नै चम्किन्थ्यो। विशेष अदालतले भ्रष्टाचारको विगोको अनुपातमा मूल्याङ्कन गरी अभियुक्तलाई धरौटी तारिखमा छाड्ने प्रयोजनका लागि नगदै, बैंक जमानत वा जेथा माग्ने गर्छ।

भ्रष्टाचारको आरोप लागेको राष्ट्रसेवक वा अन्य कुनै व्यक्तिसँग स्पष्टीकरण, सोधपुछ वा बयान लिइसकेपछि त्यस्तो व्यक्तिलाई आवश्यकता अनुसार खोजेको बखत हाजिर हुने कागज गराई छाड्ने वा तारेखमा राख्ने अधिकार इजलासलाई छ। तर त्यस्तो राष्ट्रसेवक व्यक्ति फरार भई बेपत्ता हुनसक्छ भन्ने मनासिव कारण भएमा वा विगो हानीनोक्सानी भएको देखिएमा निजसँग प्रचलित कानुन बमोजिम धरौटी वा जमानतमा तारेखमा छाड्न सकिने कानूनी व्यवस्था छ।

यही व्यवस्थाको आडमा विचौलिया र दलालले आरोपित व्यक्तिका आफन्त र आसेपासेसँग मिलेमोतो गर्दै काठमाडौंको छिमेकी जिल्लाका विकट ठाउँको जग्गा धितोका लागि चलखेल गर्ने गर्थे। काभ्रे, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, र सुवालगायतका जिल्लाको जग्गा जेथा जमानतमा बार्गेनिङ नै चल्थ्यो।

प्रकाशित मिति: : 2021-12-27 09:12:00

प्रतिकृया दिनुहोस्