डोल्पामा टेलिफोन सेवामा १२ घण्टा लोडसेडिङ, टेलिकमले ब्याट्री नथप्दा सास्ती खेप्न बाध्य नागरिक

हिमाली जिल्ला डोल्पामा नेपाल टेलिकमको फोन सेवामा पनि लोडसेडिङ हुने  गरेको छ।

जिल्लाको ठुलिभेरी नगरपालिका–७ जुफालमा राखिएको टेलिफोन टावरबाट उपलब्ध फोनसेवामा दैनिक १२ घण्टा भन्दा धेरै लोडसेडिङ हुने गरेको हो। 

टावर सञ्चालन गर्न राखिएको सोलार ब्याट्री ब्याकअपले काम नगर्दा प्रत्येक दिन घण्टौँ लोडसेडिङको मार खेप्नु परेको सर्वसाधारणको गुनासो छ।

दुनैस्थित जैरीगार्ड जलविद्युतको घण्टौँ मार खेपिरहेका डोल्पालीले दुई साता यता फोन सेवामा पनि असुविधा खेपिरहेको ठुलिभेरी नगरपालिका–९ का स्थानीय अमर कठायतले बताए।

'एकसाता धेरै भयो विहान घाम छिप्पिएपछिमात्र टावर आउँछ, विहानको दश बजिसक्छ टावर हुँदैन्,साँझ घाम गएको केही समयमै टावर जान्छ'कठायतले दुखेसो पोखे।

'दुनैको बत्ती बिग्रेदेखि फोनसेवामा अवरोध छ,पहिला यस्तो हुन्थेन,रातदिन नियमित टावर आउँथ्यो।' उनले भने। 

दुर्गमलाइ सुगमताको महशुस गराउने फोनसेवानै अवरुद्ध हुन थालेपछि सर्वसाधारणले हैरानी खेप्न बाध्य भएको उनको भनाई छ।

टावर नआउँदा विहान रातीमा त्यस्तो कुनै घटना घटिहाले खबर आदानप्रदान गर्न धेरै समस्याहुने गरेको त्रिपुरासुन्दरी नगरपालिकाका १ का स्थानीय दुर्गाप्रसाद देबकोटाले बताए।

टावरमा लोडसेडिङ हुँदा त्रिपुरासुन्दरी र ठुलिभेरी नगरपालिकाका स्थानीय तहका सर्वसाधारणहरुले सास्ती खेपिरहेको उनको भनाइ छ।

'दुर्गमका नागरिकहरु दिउसो खेतबारीको काममा व्यस्त हुन्छन,विहान साँझ फुर्सद हुन्छ सोही समयमा फोनमा कुरागर्न खोज्दा टावर हुँदैन उनले गुनासो गरे, 'त्यतिमात्र नभई विशेषले जिल्ला बाहिर गएका आफन्त,बिरामी विद्यार्थीहरुसँग कुरागर्न समस्या भएको छ,तत्काल जानरी दिनुपर्ने खबरहरु आदानप्रदान गर्न पाइँदैन्।'

फोनमा कुरा गर्न आकाश हेर्न बाध्य

जुफाल टावरबाट उपलब्ध फोन सेवा लिन सर्वसाधारणहरु हिजो आज आकाश हेर्न बाध्य भएकाछन्।

ब्याट्री व्याकअपको अभावमा प्रत्येक दिन विहान बेलुकीनै टावर जाने गरेपछि सर्वसाधारणहरु आकाश हेर्न बाध्य भएका हुन्।

विहान घाम लागेर छिप्पिएपछि मात्रै टावर आउने भएकाले फोनमा कुरा गर्न सबैभन्दा पहिला आकाशमा बादल छ कि छैन भनेर हेर्नुपर्ने त्रिपुरासुन्दरी नगरपालिका १ का स्थानीय रमानन्द उपाध्यायले बताए।

'आकाशमा बादल भएमा टावर आउँदैन्, ब्याट्री चार्ज नहुने भएकाले टावर जाने गरेको हो,जनताले यस्तो असुविधा भोग्दा पनि कसैले वास्ता गरेका छैनन्' उनले भने, 'हिजो आज सर्वसाधारणहरु फोनमा कुरा गर्न पनि विहानै उठेर आकाश हेर्छन् अनि मात्र फोनमा कुरा गर्न पाउने कुरामा ढुक्क हुन्छन्।'

ब्याट्री थप्न माग
जिल्लाका दुई स्थानीय तहका हजारौँ नागरिकलाई नमस्ते र स्काइको फोन सेवा दिइरहेको नेपाल टेलिकमलाई ब्याट्री  थप्न सर्वसाधारणले माग गरेका छन्।

जनताले फोन सास्ती खेपिरहेकाले आफूलाई मुनाफा लिने संस्थामा पनि वेवास्ता गरेको भन्दै तत्काल ब्याट्री थपकालागि सर्वसाधारणले माग गरेका हुन्।

आफूले राखेको टावरबाट उपलब्ध फोन सेवालाई नियमित एवं प्रभावकारी बनाउन प्रमुख दायित्व टेलिकमको भएको सरोकारवालाले बताए।

तत्काल नागरिकको फोन समस्या समाधानका लागि गम्भीर बन्न नागरिकले आग्रह गरेकाछन्।

नागरिकले सञ्चार सास्ती खेपिरहँदा पनि नजिकको सिँहदरबारको रुपमा रहेको ठुलीभेरी नगरपालिकाले वेवास्ता गरेको भन्दै सर्वसाधारणले गुनासो गरे।

फोन सेवालाई नियमित र भरपर्दो बनाउन सम्बन्धित निकायलाई ताकेता गराउनुको साथै सानातिना समस्याहरु समाधानका लागि नगरपालिकाले पनि पहल गर्नुपर्ने राजनितिक नेतृत्वको बुझाइ छ।

प्रकाशित मिति: : 2022-01-02 20:38:00

प्रतिकृया दिनुहोस्