पीएम कपः एपीएफको विजय सुरूवात

ओपनर ब्याटर प्रदीप ऐरी र आशिफ शेखले १२० रनको साझेदारी गरेको खेलमा विभागीय टोली एपीएफले प्रधानमन्त्री कप राष्ट्रिय टी(२० प्रतियोगितामा विजयी सुरुवात गरेको छ। 

सोमबार सुरू भएको प्रतियोगिताको तेस्रो खेलमा जितका लागि १६४ रनको लक्ष्य पाएको प्रदेश २ निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३९ रनमा समेटिएपछि एपीएफले २४ रनको जित पाएको हो। 

प्रदेश २ का लागि हरिशंकर शाहले सर्वाधिक ३६ रन बनाए। यस्तै, मोहम्मद आदिल अलामले ३५ रन बनाउँदा सुरज पटेलले १५ तथा विवेक यादवले १३ रनको योगदान गरे। अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। 

एपीएफका कमल सिंह ऐरी, अभिनाश बोहरा र भुवन कार्कीले २(२ विकेट लिँदा किशोर महतो र शरद भेषवाकरले समान एक विकेट लिए। 

यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफका लागि प्रदीप ऐरी र आशिफले १२० रनको साझेदारी गरेपछि एपीएफले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६३ रन बनायो। आशिफले ६३ रन र प्रदीपले ६० रन बनाए । सन्दीप जोराले १७ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। 

प्रदेश २ का रुपेश सिंहले सर्वाधिक चार विकेट लिँदा विवेक यादवले एक विकेट लिए। जितसँगै समूह बीमा एपीएफले महत्वपूर्ण दुई अंक जोडेको छ। 

प्रकाशित मिति: : 2022-01-10 17:34:00

प्रतिकृया दिनुहोस्