सयाैँ महिलाकाे जीवन श्रृंगार्ने चेसाङ (भिडियाे)

१५ वर्षीया किशाेरी, २०६४ सालमा भर्खरै एसएलसी उत्तीर्ण गर्दै गर्दा घरबाट विवाहा गर्न प्रस्ताव आयाे। तर, उनले मानिनन्, बरू सीप सिकेर आत्मनिर्भर बन्ने कुरा परिवारलाई सुनाइन्। रूपमा सुन्दर, पढाइमा अब्बल सँगै साहसी स्वाभावकी उनी आफ्नाे इच्छाअनुसार परिवारकाे सल्लाहमा पार्लर सिक्न लागिन्। त्यसैबाट निरन्तर संघर्ष गर्दै उनी अहिले प्रतिष्ठित व्युटिसियन तथा फेसन डिजाइनरकाे रूपमा स्थापित भएर काम गरिरहेकी छिन्।

सुरूमा व्युटिपार्लरकाे तालिम गर्न जाँदा उनलाई छिमेकीहरू भन्थे,‘यस्ताे नक्कल पार्ने काम गरेर याे केटीले के गरी खान्छे।’ तर, उनी अहिले सयाैँ महिलालाई आत्मनिर्भर बनाएकी छिन्, हजाराैँ महिलाकाे प्ररेणाकाे स्राेत बनेकी छिन्।

उनै सफल उद्यमी हुन्, चेसाङ तामाङ। १७ वर्षअघि काभ्रेकाे धुलिखेलबाट व्युटिपार्लर व्यवसायकाे यात्रा सुरू गरेकी तामाङले अहिले कठमाडाैँकाे काेटेश्वरमा ‘मुस्कान व्युटी सलाेन एण्ड बुटिक सेन्टर’ सञ्चालन गरिरहेकी छिन्।

चेसाङकाे जन्म काभ्रेकाे तेमालमा घरकाे जेठी सन्तानकाे रूपमा भएकाे थियाे। सानैदेखि व्यवसायप्रति रूचि राख्ने उनले आफ्नाे औपचारिक शिक्षा एसएलसीसम्म मात्रै पुर्‍याएर स्थगित गरिन्। र, व्युटीपार्लरकाे तालिम लिन लागिन्। त्यही सीपकाे सदुपयाेग गरेर उनले धुलिखेलमा तीन वर्षसम्म पार्लर सञ्चालन गरिन्।

सीप सिकेर व्यवसाय गर्न थालेपछि उनकाे बारेमा नराम्राे बाेल्नेहरू पनि सहयाेग गर्न तयार भए। बनेपामा उनकाे व्यवसाय फस्टायाे। उनलाई त्याे बजार सानाे लाग्न थाल्याे। त्यसपछि आफ्नाे व्यवसाय काठमाडाैँकाे सिनामंगलमा सारिन्।

काठमाडाैँमा व्यवसाय गर्न धुलिखेलमा जस्ताे सहज थिएन। उनले निक्कै संघर्ष गर्नुपर्‍याे। उनी कुनै दिन त मध्यरातसम्म पसलमा बसेर काम गर्थिन्। ‘मैले आफूलाई चिनाउन दु:खलाई दु:ख नसम्झेर काम गरेँ। खाजा त स्कुस उसिनेर नुनसँग चोपेर खानुपर्ने अवस्था थियाे,’ उनले बिगत सुनाइन्।

त्यो समय ब्युटीपार्लर चलाउन अहिलेकाे जस्ताे सहज थिएन। कपाल काटेकाे १० रूपैयाँ र थ्रेडिङ गरेकाे ५ रूपैयाँ लाग्थ्याे। त्यही पैसा दिन पनि आनाकानि गर्थे, ग्राहक।

व्यवसाय गर्दा गर्दै चेसाङले वि.सं. २०६५ सालमा परिवारकाे सल्लाहविपरित प्रेम विवाह गरिन्।

उनलाई भीडमा गएर बोल्न तथा आफ्नाे अभिव्यक्ति दिन आउँदैनथ्यो। त्यसैले उनी सन् २०१६ मा ‘मिसेस नेपाल’मा सहभागी भइन्। जसमा सहभागी भएर आफूमा धेरै परिवर्तन ल्याएकाे उनी बताउँछिन्। त्यसलगत्तै उनले सन् २०१९ मा ‘मिसेस ब्युटी क्यून’मा समेत भाग लिइन्। उनले त्यसबाट विभिन्न विधामा टाइटल र ताज जित्न सफल भएकी थिइन्।

‘म तामाङ समुदायमा हुर्किएकी मान्छे, खासै बाेल्न पनि आउदैन थियाे। चुलोचौकामा सिमित थिएँ तर त्यहाँ गएर मैले बोल्नदेखि लिएर सबै धेरै कुरा सिकेँ,’ उनले भनिन्,‘मैले केही गर्न सक्ने रहेछु भन्ने हिम्मत जुट्यो एकदमै खुशी भएँ।’

त्यससँगै उनी ‘मिस जनजाति’मा पनि सहभागी भइन्। जसमा उनी दाेस्राे स्थानमा पर्न समेत सफल भएकी थिइन्।

काठमाडाैँमा पनि उनकाे व्यवसायीक यात्रा निक्कै सफल रह्याे। उनले सानाे लगानीमा सुरू गरेकाे व्यवसाय काठमाडाैँका चार ठाउँमा फैलियाे। त्यसपछि उनी यति धेरै व्यस्त भइन कि उनलाई परिवारलाई समेत समय दिन गाह्राे हुन थाल्याे।

‘परिवारबाट साथ सहयोग त थियो तर म आफैंले दु:ख नगरी हुँदैन भन्ने लागेर दुई बच्चा साथमा लिएर धेरै संघर्ष गरें, त्यसैले आज म यो स्थानमा छु,’ उनले आफ्ना संघर्षका दिन स्मरण गर्दै भन्छिन्,‘मैले चार स्थानमा पार्लर त खोलेँ तर बच्चा र परिवारलाई समय दिन नसक्दा अहिले एक स्थानबाट मात्र सेवा दिन थालेकी छु।’

अहिले पनि उनलाई काममा भ्याईनभ्याई छ। उनी पसलमा बसेर अरूकाे अनुहार मात्रै श्रृङ्गार गर्ने काम गर्दिनन्, आफू जस्तै अन्य महिला दिदी–बहिनीलाई व्युटीसियनका तालिम दिएर उनीहरूकाे जीवन श्रृङ्गार्ने काम गरिरहेकी छिन्। हाल उनले ८ जनालाई त राेजगारी समेत दिएकी छिन्। यस क्षेत्रमा भविष्य बनाउन चाहानेलाई सक्दाे सहयाेग पनि गरिरहेकी छिन्। उनले आर्थिक अवस्था कमजोर भएका महिलालाई निःशुल्क प्रशिक्षण पनि दिन्छिन्।

चेसाङ्ग आफूलाई  ब्युटिसियन भनेर परिचित गराउन पाउँदा निक्कै खुशी लाग्ने बताउँछिन्। ‘संघर्ष गर्ने हाे भने नहुने के रहिछ र, अन्धकारपछि सुन्दर बिहानी भेटिन्छ, भनेझै मैले पनि हिजो आफ्नो व्यवसायमा समर्थन नगर्नेहरूबाट पनि अहिले समर्थन र सम्मान पाएकी छु। अरूले व्युटीसियन भनेर बाेलाउँदा सारै खुशी लाग्छ,’ उनले आफ्नाे मनकाे कुरा खाेलिन्।

अनेकौँ दुःख र पीडा पर्दा पनि आफ्नो पेसा र व्यवसायबाट उनी कहिले  विचलित भइनन्। दिन/रातको मिहेनतले उनी आज एक सफल उद्यमी बन्न सफल भएकी छिन्। उनले पछिल्लो समय पार्लर मात्र होइन्, बुटिक पनि संचालनमा ल्याएकी छिन्। बुटिक मार्फत् लेहंगा, चोली, तामाङ्ग पोषाक र बच्चाहरुको पार्टी 'वयर'हरु तयार गर्दै आएकी छिन्।

उनले विदेश जानेहरुको लागि पार्लर सम्बन्धि विशेष कक्षाहरू पनि सञ्चालनमा ल्याएकी छिन्। साथै उनको पार्लरमा महिला/पुरुष दुवैको लागि तलिम र सुबिधा लिन सकिन्छ।

पछिल्लो समय पार्लरमा रोल्पा, रुकुम, दाङ, सुर्खेत लगायतका जिल्लाबाट सेवा लिन आउने गरेको उनी बताउँछिन। उनि भन्छिन्,‘धेरै टाढादेखि आउनुहुन्छ, सेवा लिनुहुन्छ। हाम्रो सेवा मन परेर फेरि दोस्रो पटक पनि आउनुभएकाे हुन्छ, त्याे कुराले म एकदमै खुशी छु।’

प्रकाशित मिति: : 2022-02-01 19:50:00

प्रतिकृया दिनुहोस्