महिलाको काँधमा सुरक्षा जिम्मा : जवानमा सबैभन्दा धेरै, कुन पदमा कस्तो छ उपस्थिति?

पहिलोपोष्ट

काठमाडाैँ

नेपाल प्रहरीमा पहिलो महिला अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) हुन्, डाक्टर दुर्गा थापा। सबैभन्दा उच्च पदमा पुगेकी दुर्गा प्रहरीको प्राविधिकतर्फ थिइन्, प्रहरी चिकित्सक। तीसवर्षे सेवा अवधिका कारण २०७६ पुसमा उनले अवकाश पाइन्। त्यही पदमा अहिले पनि एक जना महिलाले नेतृत्व दिइरहेकी छिन्।

उनी हुन्, डाक्टर आशा सिंह। नेपाल प्रहरी अस्पतालको कमान उनकै काँधमा छ।

नेपाल प्रहरीको ६५ वर्षे इतिहासमा अहिलेसम्म डीआईजीमा पार्वती थापा र विमला थापामात्र पुगेका छन्। त्यसपछि केही समय नेपाल प्रहरीमा प्राविधिकबाहेक महिला डीआईजी भएनन्। गत पुसमा भने डीआईजीमा अर्की एक महिला थपिइन्, पूजा सिंह।

पुस २३ गते बसेको बढुवा समितिको बैठकले सिंहलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो। उनी अहिले पनि प्रहरी सेवामा सक्रिय छिन्।

हरेक क्षेत्रमा महिला सहभागिता ३३ प्रतिशत सुनिश्चितता भए पनि व्यवहारमा लागू छैन। त्यसमाथि सुरक्षा फोर्समा त झनै कम। नेपाल प्रहरीमा अहिले २७ जना डीआईजी हुँदा त्यही पदमा एक्लै छिन्, सिंह। प्रतिशतमा हेर्दा यस पदमा ३ प्रतिशतको प्रतिनिधित्व गर्छिन् उनले। नेपाल प्रहरीभित्र नीतिगत तहको नेतृत्वमा महिलाको सहभागिता कति कम छ भन्ने दृश्य हो यो।

प्रकाशित मिति: : 2022-03-08 09:41:00

प्रतिकृया दिनुहोस्