ट्राफिकको बेवास्ताका कारण मृत्युको घटना !

 

ट्राफिक प्रहरीको चरम लापरबाहीका कारण झापाको गौरादहमा दुर्घटनामा परी एकजना कामदारको मृत्यु भएको छ।

शनिबार साँझ गौरादह - बैगुनधुरा सडकखण्डमा बिग्रिएर राखिएको ट्यांकरमा मोटरसाइकल ठोक्किदा स्थानीय राम हस्दाको घटनास्थलमै मृत्यु भएको हो। अन्दाजी ३८ वर्षका हस्दा मोटरसाइकलमा सवार थिए।

उनको मृत्युको कारक ट्राफिक प्रहरीलाई मानिएको छ। चारदिन देखि बीच सडकमै रहेको ट्यांकरलाई ट्राफिकले अनदेखा गर्दा दुर्घटना निम्तिएको बताइएको छ।

गौरादहमा ट्राफिक प्रहरीको दिनहुँ सवारी चेकजाँच हुनेगरेको भएपनि संवेदनशील विषयमा उनीहरुको ध्यान पुगेको पाइदैन। गौरादह - बैगुनधुराको कच्ची सडकमापनि सवारी चेकका नाममा ट्राफिकले असुलीधन्दा चलाउदै आएका छन्।

दुर्घटनामा मृत्यु भएका गौरादह - ९ का बासिन्दा हस्दा स्थानीय एक फर्निचरका कामदार हुन्। काम सकेर साँझ मोटरसाइकलमा घर फिर्दा उनी ट्यांकरमा ठोक्किन पुगेका हुन्।

ट्राफिक कार्यालय गौरादहमा इञ्चार्जका रुपमा प्रसनि लक्ष्मी ओझा कार्यरत छन्। उनी दिनहुँ एकजना सिपाहीसंगै सडकमा सवारी पुर्जी काट्नमै व्यस्त हुने गरेको पाइन्छ।

`ट्राफिक प्रहरीको सक्रियता नभएको होइन´ एक स्थानीयले भने - तर, दुर्घटना नियन्त्रणमा नभइ असुलउपरमा पो सक्रियता रहेछ।

ट्राफिकले टिफर, ट्याक्टर र अटो संचालकबाट हप्ता असुली नै गर्ने गरेको व्यापक जनगुनासो छ।

एक अटो चालकले नाम उल्लेख नगर्ने सर्तमा भने - एकदिन मात्रै ढिलो भए, यो वा त्यो कमजोरी देखाएर अटो नियन्त्रणमा लिने गरेका छन् । रोजीरोटीको सवाल छ, कसलाई के भन्नू र !

दुर्घटनामा परी मृत्युु भएका हस्दा सवार मे २ प २४७९ नम्बरको सुपरस्पिलेन्डर मोटरसाइकल क्षतिग्रस्त अवस्थामा छ ।

प्रकाशित मिति: : 2022-04-02 22:17:00

प्रतिकृया दिनुहोस्