मेचीनगरको मेयरमा एमालेबाट को-को आकांक्षी ?

Breaknlinks
Breaknlinks

पूर्वकाे मेचीनगर नगरपालिकामा आसन्न स्थानीय तहको निर्वाचनमा मेयरका दाबेदार को–को हुन्, भन्ने चर्चा चलिरहेको छ।

चुनाव आउन अब ३९ दिनमात्र बाँकी छ। भित्रभित्रै दलहरुले आकांक्षीहरुको भित्री रुपमा दाैड धुपमा जुटेका छन्। तर, कसलाई टिकट दिने हो, कसले पाउने अन्तिम निचोड आउन बाँकी नै छ।

नेकपा (एमाले)बाट हालकी उपमेयर मिना पाेख्रेल उप्रेतीले मेयरमा जाने साेच बनाएकी छिन्। त्यस्तै पूर्व गा.वि.स अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा जनता माझ राम्रो छवि बनाएका डिल्लीराम घिमिरेले मेयरमा उठ्ने यसअघि नै घाेषणा गरिसकेका छन्।

प्रदेश कमिटी सदस्य तथा पूर्व गा.वि.स अध्यक्ष समेत रहेका निलकण्ठ तिवारीकाे नाम समेत चर्चामा आएको छ। पूर्व गा.वि.स उपाध्यक्ष बन्धककुमार मण्डाले समेत मेयरका आकांक्षी राखेकाे पाइएकाे छ। पार्टीका जिल्ला कमिटी सदस्य तथा नगर इन्चार्ज देवकुमार राइले समेत मेयरका लागि आफ्नाे इच्छा देखाउँदै आएका पाटीका कार्यकर्ता बताउछन्। याे सँगै नगर अध्यक्ष राजु पाेख्रेल पनि याे लहरमा देखिन्छन्। पार्टीले आधिकारिक नाम भने टुङ्याउन बाँकी छ। 

यसपटक भने झापाको कुल मतदाता संख्या घटेको छ। निर्वाचन आयोगले हालै प्रकाशित गरेको अन्तिम मतदाता नामावलीमा झापामा ६ लाख ४६ हजार २३४ जना मतदाता रहेकाे उल्लेख गरिएकाे छ।

निर्वाचन कार्यलय झापाले यसअघि ६ लाख ५० हजार २ सय ५८ जना मतदाता रहेको उल्लेख गरेको थियो। कार्यालयले अध्यावधिकपछि आयोगले मतदाता संख्या सार्वजनिक गर्दा ४ हजार २४ जना कम आएको छ।

निर्वाचन आयोगकाअनुसार ३ लाख २१ हजार ५२० जना पुरुष, ३ लाख २४ हजार ७०५ जना महिला र ९ जना अन्य रहेका छन्।

झापाको मेचीनगर नगरपालिकामा सबैभन्दा बढी मतदाता रहेका छन्। मेचीनगरमा ४५ हजार ११२ जना पुरुषसहित ९० हजार २०२ जना मतदाता रहेको आयोगले जनाएको छ। झापामा २८६ मतदान केन्द्र र ७५५ मतदान स्थल रहेका छन्।

मेचीनगर नगरपालिकाको प्रमुखका लागि विभिन्न दलका केन्द्रीय सदस्य, प्रदेश सभा सदस्य, प्रदेश सभा सदस्यमा पराजित उम्मेद्वारहरु तथा पार्टीका वर्तमान र पूर्व क्षेत्रीय सभापतिहरुले समेत आकांक्षा देखाएका छन्।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा झापाको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत ‘ख’बाट तत्कालिन बामगठबन्धनबाट विजयी गोपालचन्द्र बुढाथोकी, झापाको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत ‘क’बाट तात्कालिन बामगठबन्धनबाट विजयी श्रीप्रसाद मैनाली समेत मेयरकाे लाइनमा छन्।

झापाको निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत ‘ख’ बाट गोपालचन्द्र बुढाथोकीले नेपाली काँग्रेसका अशोक पोखरेललाई ७ हजार ८ सय ६१ मतान्तरले पराजित गरेका थिए। बुढाथोकीले १७ हजार ८ सय ३९ मत प्राप्त गर्दा पराजित उम्मेदवार पोखरेलले ९ हजार ९ सय ७८ हात पारेका थिए। नेपाली काँग्रसकातर्फबाट केशवराज पाण्डे प्रदेशसभा सदस्यतर्फ क्षेत्र नम्बर १ ‘क’ मा एमालेका श्रीप्रसाद मैनालीसँग पराजित भएका थिए। मैनालीले पाण्डेलाई ५ हजार ७ सय ३२ मतान्तरले पराजित गरेका थिए। मैनालीले २२ हजार ९ सय ७२ मत ल्याएर विजयी हुँदा पराजित उम्मेदवार पाण्डेले १७ हजार २ सय ४० मत प्राप्त गरेका थिए।

प्रकाशित मिति: : 2022-04-04 08:47:00

प्रतिकृया दिनुहोस्