बेलबारीमा महेन्द्र सुबेदीको पल्लाभारी !

स्थानीय तहको निर्वाचन नजिकिएसँगै मोरङका गाउँ–नगरमा पनि चुनाबी चहलपहल शुरु भएको छ। २०७९को बैशाख ३० गते हुने निर्वाचनको लागि ठूला दलका नेताहरू टिकट प्राप्त गर्न लविङमा लागेका छन्।

यसैक्रममा मोरङको बेलबारीमा पनि नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरू टिकट प्राप्त गर्न शक्ति केन्द्र धाउन थालेका छन्। २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट चुनाब जितेका ज्ञानेन्द्र सुवेदी यस पटक पनि उम्मेद्वार बन्ने दाउमा छन्।

एमालेभित्र ओली र माधव नेपालको खटपट हुँदैगर्दा माधव नेपाल समूहको काठमाडौं भेलामा पुगेका सुवेदी पुनः मेयरको टिकट दिने आश्वासन पाएपछि ओली कित्तामा उभिएका थिए। तर, बोयर बाख्रा काण्ड, पुल काण्ड, खोला काण्ड, कमिसन काण्डमा मुछिएका सुवेदीलाई ओलीको किचन क्याविनेटले मन पराएको छैन। ज्ञानेन्द्रलाई नजिकबाट बुझ्नेहरू भन्छन्– एमालेले टिकट दिएन भने सुवेदी नेकपा एसबाट उम्मेद्वार बन्छन् र सूर्य चिन्हवाला उम्मेद्वारलाई हराउँछन्।

सुवेदीसँगै एमालेभित्र इरान राई, डिपी राई, प्रताप थापा र राजकुमार बस्नेतको नाम चर्चामा छ। डिपी राईलाई ओली सरकारले मोरङको सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष बनाएको थियो। त्यस कारण डिपी राई टिकटबाट पछि हट्न सक्छन्। तर, इरान राई, प्रताप थापा र राजकुमार बस्नेत तत्काल पछि हट्ने देखिँदैन। विश्लेषकहरू भन्छन्– साविकको बेलबारीमा एमाले कमजोर भइसकेको छ। बेलबारी नगरपालिकामा एमालेलाई जिताउने भनेको साविकको डाँगीहाटले हो। त्यसैले बस्नेतलाई टिकट दिनुपर्छ। बस्नेत डाँगीहाटका पूर्वगाविस अध्यक्ष हुन्।

गठबन्धन सरकारको सबैभन्दा ठूलो दल कांग्रेस भित्र उम्मेद्वार बन्नेको पंक्ति लामो छ। अघिल्लो निर्वाचनमा ज्ञानेन्द्र सुवेदीसँग झण्डै २ सय मतले पराजित राजकुमार लिम्बू अहिले पनि उम्मेद्वारको सूचीमा देखिएका छन्। तर, पार्टी गतिविधिमा त्यति सक्रिय नहुने लिम्बूलाई पुनः उम्मेद्वार बनाए कांग्रेसले हार्ने बताइन्छ। साना–साना कुरामा कार्यकर्तासँग रिसाउने उनको बानी नै लिम्बूका लागि घातक हुन्छ। दुई दिन अघि मात्र मोरङ क्षेत्र–३ बाट महासमिति सदस्य चयन गर्ने बैठक उनले बहिस्कार गरे।

लिम्बूले महासमिति भागवण्डामा आफ्नो नाम नपर्ने संकेत पाउनासाथ उनी बैठकमा गएनन्। कांग्रेस निकट समाचार स्रोत भन्छ– बैठकमा डा. सुनील शर्माले महासमिति सदस्यमा मानबहादुर लिम्बू र सुयर्माराज राईको नाम सिफारिस गर्ने सुइको पाएपछि लिम्बूले बैठक नै बहिस्कार गरे। लिम्बूले आफू महासमिति सदस्य बन्नु पर्ने बताउँदै आएका थिए।

बेलबारी कांग्रेसमा पछिल्लो समय महेन्द्र सुवेदी कांग्रेस भित्र लोकप्रिय बन्दै गएका छन्। सबै कार्यकर्तासँग सन्तुलित सम्बन्ध राख्दै आएका सुवेदी ६० वर्ष नाघिसक्दा पनि अबसर कुरेर बसेका नेता हुन्। बेलबारीका एक कांग्रेस कार्यकर्ताले भने कांग्रेस– कांग्रेस भन्दा भन्दै दारी कपाल फुलिसक्यो। झण्डा बोकेर हिँड्ने, कांग्रेसको निर्वाचन अभियान चलाइदिने मात्र होइन। अब महेन्द्र सुवेदीलाई नगर प्रमुखको उम्मेद्वार बनाउनुपर्छ। सुवेदी कांग्रेस भित्र मात्र होइन, अन्तर पार्टीमा पनि लोकप्रिय छन्। खानेपानीको निर्वाचनमा होस या सामाजिक संघ–संस्था जहाँ उनले नेतृत्व गरे त्यहाँ ति संस्थाहरूले छलाङ मारेका छन्।

कुनै पनि गुटमा नखुल्ने सुवेदी कांग्रेसकाे टोलदेखि जिल्लासम्मका कार्यक्रममा देखिने स्थायी कार्यकर्ता हुन्। न उनी जागिर खान्छन्। न ठेक्कापट्टा गर्छन्। न ब्यापार छ। न उद्योग धन्धा छ। तर, पनि उनी साडे तीन दशक यता कांग्रेसमा निरन्तर क्रियाशील छन्। सुवेदीसँगै मानबहादुर लिम्बू, नगेन्द्र जमरकट्टेल, शम्भु भट्टराई र  बेलबारी नगर सभापति छत्र लिम्बुको पनि नाम चर्चामा रहेको छ।

मानबहादुर लिम्बू कांग्रेसमा क्लिन चिट नेता हुन्। इमान्दार छबि निर्माण गरेका उनी पछिल्लो समय अभागी नेताका रुपमा चिनिन्छन्। २०७४ मै प्रदेश सभाको टिकटका प्रवल दावेदार थिए, लिम्बू। तर, कम्युनिष्टहरूको गठबन्धन सँग उनी डराएर ब्याक भए। त्यसपछि उनको पालो कटेको धेरैको बुझाई छ। माछा भए दुलो भित्र हात सर्प भए दुलो बाहिर हातको रणनीतिमा लिम्बू चलेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन्।

महेन्द्र सुवेदी, राजकुमार लिम्बू र मानबहादुर लिम्बू बाहेक अरु नेताले टिकट पाउने सम्भावना कम रहेको एक थरी कार्यकर्ता बताउँछन्। केहीले २०७४ मा मेयर र उप–मेयर पदमा नै कांग्रेसले जनजाति र आदिवासी उम्मेद्वार उठाएकोले हारेको टिप्पणी गर्न थालेका छन्। मानबहादुरलाई दिँदा राजकुमारको र राजकुमारलाई दिँदा मानबहादुरको नाक खुम्चिने भएकोले तेस्रो ब्यक्तिलाई टिकट दिनुपर्ने जानकारहरू बताउँछन्।   

उता माओवादी केन्द्रबाट मेयरको टिकट पाउनेमा तिलक राईको बढी चर्चा छ। उनी अघिल्लो स्थानीय निर्वाचनमा समेत मेयरका उम्मेदवार बनेर तेस्रो मत प्राप्त गर्न सफल भएका थिए। उनी बाहेक पर्शुराम सुवेदी र अशोक दाहालसमेत सम्भावित उम्मेदवारका रुपमा रहेका छन्।

एकीकृत समाजवादी पार्टीबाट भुपाल बस्नेत र जनता समाजवादी पार्टीबाट तिलक राईको नामसमेत सम्भावित मेयरको रुपमा चर्चा गर्न थालिएको छ।

प्रकाशित मिति: : 2022-04-05 21:24:00

प्रतिकृया दिनुहोस्