अटेरीको पोखरा सपना- २०७९ 

साहित्यकार गनेस पौडेलले फागुनको एक बिहान फेसबुकमा एउटा स्टाटस लेखे।

जित वा हारभन्दा पर पनि एउटा लडाइँ हुन्छ। 
दशकौंको बहुमतले समेत कहिल्यै समेट्न नसकेको एकथरी अटेरी मत हुन्छ।

म त्यो लडाइँमा जाँदैछु।
यसपटक अटेर गर्दैछु।

आसन्न स्थानीय निर्वाचनमा मेयरको पदमा उम्मेदवारी दिने निर्णय गरेको छु

आउनुस केही गरौँ। अति भो अटेर गरौँ ...

यसै पनि सामाजिक सञ्जालमा अभिव्यक्ति आइ रहन्छन्। अहिले सबै खाले मानिसका लागि अभिव्यक्तिको राम्रो माध्यम पनि बनि रहेको छ, सामाजिक सञ्जाल। पौडेलका लागि पनि बनिदियो।

लेखक पौडेलले सबैलाई अटेर गर्न अपिल त गरे।

एकै छिनमा सञ्चारमाध्यमको हेडलाइन बन्यो, उनको यो अभिव्यक्ति। राष्ट्रियस्तरका सञ्चारमाध्यमले राम्रो स्पेश दिएर समाचार बनाए।

०००

रेडियो, पत्रपत्रिका, अनलाइन सञ्चारमाध्यमको हेडलाइन बने पनि धेरैले कम आँकेका थिए, उनलाई। जब पोखराबाट सुरु भएको अटेरी उम्मेदवारी दिनको लहर पूर्व दमकदेखि पश्चिमसम्म चल्यो। धेरैको ध्यान खिच्यो यो अटेरी अभियानले। अन्तत: एक, दुई, तीन हुँदै देशव्यापी रुपमा अटेरी अभियानमा सामेल हुने र अटेरी उम्मेदवारी घोषणा गर्नेको संख्या दुई सय नाघ्यो।

हो, पोखराबाट सुरु भएर देशव्यापी बनेको अटेरी अभियानले शनिबार पोखरामा एक कार्यक्रमकाबीच चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। स्वतन्त्र। तर, अटेरी भन्न रुचाउने यो समूहले चुनावी घोषणापत्रलाई घोषणापत्र भनेन। पोखरा लक्ष्य २०७९ कार्ययोजना नाम दिएर चुनावी घोषणा सार्वजनिक ग¥यो।

घोषणापत्रको सुरुआतमै भनिएको छ,‘निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन।’ जसको सोझो तरिकाले अटेरीले यसरी अथ्र्याएको छ, भाग्य निर्माणमा दिगो पर्यटन, अर्जुन दृश्टिमा शिक्षा र स्वास्थ्य, पहिचानमा सुशासन।

अटेरी उम्मेदवारी घोषणा गरेका अभियन्ताहरुलाई स्टेजमा बोलाएर सुरुआत भएको कार्यक्रम। घोषणापत्रको सार्वजनिकीकरण पनि सबैले एकसाथ गरेका थिए। घोषणापत्र सार्वजनिकीकरणपछि बोल्दै पोखरा महानगरका अटेरी उम्मेदवार घोषणा गरेका अभियन्ता गनेस पौडेलले अटेर बन्न अपिल गरेका छन्।

अटेरी अभियानको पहिलो मान्यता नै छ। स्थानीय तहलाई दलरहित बनाउने।

राजनैतिक दलको भागबण्डाले देश बर्बादीतर्फ गइरहेको बताउँदै अटेरी अभियानले स्थानीय तहलाई दलरहित बनाउनुपर्ने सुरुआतदेखि नै चट्टानी अडान लिदै आएको छ। घोषणापत्र सार्वजनिकीकरणपछि पौडेलले नेपालमा ५० लाख हाराहारीका पार्टी कार्यकर्तालाई रिझाउनुपर्ने बाध्यता राजनीतिक दलहरुलाई रहेको बताए।

‘कसैले भन्छन्, स्थानीय तह महँगो भयो। जनप्रतिनिधि पाल्न सकिएन,’ उनले भने, ‘होइन, जनप्रतिनिधि पाल्न नसकिने होइन। तिनका कार्यकर्ता पाल्न नसकिने हो।’

पौडेलले जुनकुनै राजनीतिक दलमा आस्था राखे पनि ज्ञान बुद्धि र विवेक प्रयोग गरि सही र गलत ठम्याउन आग्रह गरेका छन्। ‘तपाईंले भोट हालि रहेको मान्छे, तपाईंले भोट हालि रहने पार्टी। जुन विचारका कारण मन पराउनुभयो, त्यही विचारबाट चलिरहेको छ ?’ उनले भने, ‘उसले पठाएका नेता त्यस्तै छन् त। तपाई बामपन्थि हुनुस् या जुनुकुनै पार्टीमा हुनुस्। जुन कारण तपाईं हुनु भएको थियो ति छन् कि छैनन् हेर्नुस्।’

उनले जुन आर्दशको कारण पार्टी मन प¥यो। त्यो नभेटे अटेर गर्नुपर्ने अन्यथा सहि विचारबाट चलेको खण्डमा अटेर गर्नुपर्ने आवश्यक नरहेको समेत जिकिर गरेका छन्। सहि र गलत छुट्याएर गलतलाई साथ नदिन समेत उनले आग्रह गरेका छन्। पौडेलले गलत विचार बोकेर ढोँगी जीवन नबाँच्न् समेत सबैलाई आग्रह गरे।

उक्त कार्यक्रममा चर्चित लेखक कुमार नगरकोटीले दुई कविता वाचन गरेर सुनाएका थिए। काठमाडौंदेखि अटेरी युवाहरुलाई शुभेच्छा दिनका लागि पोखरा आएको उनले बताए। हालसम्म कुनै राजनीतिक पार्टीको आमसभा सुन्न इच्छुक नभएको बताउने नगरकोटीले अटेरी अभियानप्रति भने समर्थन जनाएका छन्।

कार्यक्रममा सिद्धार्थ नगर नगरपालिकाबाट अटेरी उम्मेदवारी घोषणा गरेकी इशा खड्काले पनि बोलकी थिइन्। एक सचेत नागरिकको हैसियतले अटेरी उम्मेदवारको घोषणा गरेर पोखरामा भेटिएका अभियन्ताहरुले थप उर्जा मिलेको समेत उनले बताइन्। अटेरी उम्मेद्वारी घोषणा गरेपछि उम्मेदवारी फिर्ता लिन प्रलोभनहरु समेत आएको उनले सुनाइन्। उनले सबै जना मिलेर अटेर गर्न समेत सबैलाई आग्रह गरिन्।

अटेरी अभियानले सुरुआतदेखि नै लिएको अर्को अडान हो, चुनावी खर्च कम गर्ने। घोषणापत्र छाप्न लाग्ने खर्च घोषणापत्र बिक्री गरेर उठाउने बताएको अभियानले न्युनतम १० प्रति घोषणापत्र किन्नुपर्ने सीमा निर्धारण गरेको छ।

हालसम्म पोखरामा नगरप्रमुख सहित १५ जनाको अटेरी उम्मेदवारी घोषणा गरि सकेका छन्।

प्रकाशित मिति: : 2022-04-09 20:22:00

प्रतिकृया दिनुहोस्