हिमा गाउँपालिकामा एमालेले टुंग्यायो उम्मेदवार

आउँदाे वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनका लागि नेकपा (एमाले) जुम्लाले हिमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुंगो लगाएको छ। 

अध्यक्षमा जयबहादुर खत्री र उपाध्यक्षमा भागरथी शाहीको नाम टुंगो लगाएको एमाले जुम्लाका सचिव धनकृष्ण पाण्डेले जानकारी दिएका छन्। 

'हिमा गाउँपालिका कमिटीले दुई जनाको नाम मात्र सिफारिस गरेको हुनाले सर्वसम्मत रुपमा उम्मेदवारकाे टुंगो लागेकाे छ,' उनले भने, 'हामीले जुम्लाका सबै पालिकामा उम्मेदवार यसरी नै टुङग्याउने तयारी गरेका छाैं।'

जुम्लामा एक नगरपालिका सहित ७ वटा गाउँपालिका छन्।

सचिव पाण्डेका अनुसार कनकासुन्दरीबाट मानबहादुर रोकाया र तिलाबाट रेशमबहादुर शाहीको नाममा अध्यक्ष पदको उम्मेदवारका लागि सिफारिस गरिएकाे छ। अन्य पालिकामा पनि उम्मेदवार छनाेट प्रक्रिया चलिरहेको उनले बताएका छन्।

एमालेले जिल्लामा पालिकाको उम्मेदवार टुंगो लगाउन नमिल्ने मापदण्ड बनाएको छ। सिफारिस भएका उम्मेदवारको नाम प्रदेश कार्यालयमा पठाइन्छ। 

सर्वसम्मत आएको खण्डमा पनि नाम प्रदेश कार्यालयमा पठाउने तयारी गरिएको सचिव पाण्डेले बताएका छन्। जिल्लामा तीन जनाभन्दा बढीको सिफारिस आएको खण्डमा छनौट गरेर तीन जनाको नाम मात्र प्रदेश कार्यालयमा पठाउने प्रावधान छ।

प्रकाशित मिति: : 2022-04-12 23:14:00

प्रतिकृया दिनुहोस्