उर्लाबारी– ९ मा सुन्दर श्रेष्ठको बलियो दाबेदारी

Breaknlinks
Breaknlinks

भौगलिक बनावटअनुसार उर्लाबारी जति सुगम छ, यसका केही वडाहरु दूरदराजकै गाउँजस्ता प्रतीत छन्। मोरङकै दोस्रो ठूलो सहरमा गनिने उर्लाबारी मुख्य चाेकलाई आधार मान्दा ‘गुलजार’ देखिए पनि आसपासका गाउँ ठाउँ अझै पनि दुर्गम छन्।

उर्लाबारी नगरपालिकाको मुख्य चाेकबाट करिब ४ किलाेमिटर दक्षिण लागेपछि ९ नम्बर वडा प्रारम्भ हुन्छ। धुलो छिचोल्दै सिंगो वडा घुमेमात्र ९ नम्बर वडाको समग्र अवस्थिति बुझ्न सकिन्छ। मुलतः खेती किसानीमै रुमलिएका छन्, ९ नम्बर वडाका बासिन्दा। युवा कतिपय विदेशिएका छन्, कोही व्यापार व्यावसाय र श्रमसँग जोडिएका छन्। जीवन त जसोतसो चलाएकै छन्, स्थानीयले। अन्यत्रझै गरीब र धनीबीचको खाडल यो वडामा नहुने भन्ने कुरै भएन। तर, गाउँको विकास ज्युँका त्युँ छ। गाउँ विकास समितति हुँदाको अवस्था र नगरपालिका हुँदाको अवस्थामा तात्विक फरक छैन। अर्थात्, विकासको दृष्टिले पिछडिएको वडाभन्दा फरक पर्दैन, ९ नम्बरलाई। यही वडाको समग्र मुहार फेर्न अग्रसर भएका छन्, सुन्दर श्रेष्ठ।

उनी एक संघर्षशील युवा तथा सामाजिक अगुवा हुन्।

९ नम्बर वडाको खोपिडाँडामा जन्मेहुर्केका सुन्दरलाई आफ्नो गाउँलाई आफ्नै नामजस्तो ‘सुन्दर’ बनाउने हुटहुटी छ। आसन्न स्थानीय तहको निर्वाचनमा उर्लाबारी वडा नम्बर ९ को वडाध्यक्ष पदको बागडोर सम्हालेर गाउँको मुहार फेर्ने उनको अर्जुनदृष्टि छ। नेकपा एकिकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिने तयारीमा रहेका सुन्दरले खानेपानी, शिक्षा, कृषि, स्वास्थ्य र सडकलाई प्राथमिकतामा राखेर मतदाता भेटघाटको कार्यक्रम तय गरिएको बताए।

उर्लाबारी– ९ विगतदेखि नै वामपन्थिको अभेद्य किल्लाको रुपमा रहँदै आएको छ। गत स्थानीय चुनावमा यस वडामा नेकपा (एमाले)का उम्मेदवार प्यानलससिहत विजयी भए। चुनाव त उठ्ने तर एमालेको गढमा जित हात पार्न कति सहज होला ? भन्ने प्रश्नमा सुन्दरले भने,‘मतदाता भनेका कसैका बँधुवा मजदुर होइनन्, जनता बुझ्ने भैसकेका छन्, परिस्थिति फेरिएको छ, म जित्नकै लागि चुनावी मैदानमा उत्रिएको हुँ।’

जनसेवालाई ‘बैधानिकता दिन’ जनप्रतिनिधि हुने रहर साँचेको पनि उनले सुनाए। भन्छन्,‘पौडिमा पारंगत हुन हेरेर मात्रै नहुने रहेछ, पोखरीमा डुबुल्कि मार्नुनै पर्छ।’

उनकाअनुसार जनताकै प्रतिनिधि भएर समाजसेवामा सक्रियता देखाउँदा औचित्य हुने रहेछ। एमाले र कांग्रेसबीच प्रतिद्वन्द्विता ठानिएको वडा ९ मा सुन्दर श्रेष्ठको उम्मेद्वारी चर्चालाई निकै अर्थपूर्ण तरिकाले हेरिएको छ। सामाजिक कामबाटै जनप्रिय बनेका सुन्दरको बलियो दाबेदारीले अरु दल र समूहका लागि ‘फलामको चिउरा चपाउनु सरह’ आँकलन गरिएको छ। समाजसेवाबाट राजनीतिमा फड्को मारेसंगै सुन्दर ९ नम्बर वार्डमा जति चर्चित छन्, अरु सायदै होलान्।

त्यसो त, सुन्दर आबद्ध दल नेकपा (एकिकृत समाजवादी)ले सत्ता गठबन्धनमा रहेर उम्मेदवारी दिने बताउँदै आएको छ। नेपाली कांग्रेस, माओवादीलगायत दलसंगै मिलेर नेकपा एसले उम्मेदवारी तय गर्ने अवस्थामा उर्लाबारीको ९ नम्बर वडा कसको भागमा पर्ने भन्ने यकिन छैन।

उर्लाबारी– ९ को धरातलीय अवस्था फरक रहेको उल्लेख गर्दै एक स्थानीय भन्छन्,‘गठबन्धन नै भएर चुनावमा होमिदा पनि यहाँ कांग्रेसले एमालेलाई हराउने छनक देखिदैन। सामाजिक कामको लिगेपछि पनि जोडिएकाले गठबन्धनका तर्फबाट सुन्दर श्रेष्ठलाई उम्मेदवार बनाउनु उपयुक्त देख्छु।’

विगतदेखि नै एमाले हावी हुँदै आएको उर्लाबारी– ९ मा सामाजिक योयदानले गर्दा पनि श्रेष्ठको पक्षमा जनलहर देखिएको छ। भए गठबन्धन, नभए एकल उम्मेद्वारी दिंँदा पनि सुन्दर श्रेष्ठले जित्ने उनले ठोकुवा गरे।

जन्मथलोको सेवा उनले सामाजिक काममार्फत् जेनतेन गरेकै छन्। असहाय दिनदुःखीलाई मात्रै नभएर सामाजिक काममा उनले कतिसम्म आर्थिक खर्चिए वडावासी बेखबर नरहेको उनी सुनाउछन्। टोलटोलमा सडक बत्ती जडान, विद्यालयमा जस्तापाताका छाना, खेलकुदका सामग्री वितरण, पूर्वाधारको क्षेत्रमा बाटोघाटो निर्माण उनका व्यक्तिगत सहयोगले वडामा भरथेग गरेको छ। भर्खरै मात्र स्थानीय पोखरीबाँधको सडकबत्ती जडानमा २० वटा ‘भ्यापर लाइट’ र तार सहयोग गरे, उनले।

‘अझै केही तार र बत्ती अपुग भएको कुरा आएको छ’, सुन्दरले भने,‘पूर्वाधार निर्माणमा अब गुरु योजना बनाएरै लाग्नुपर्ने देखियो।’

तत्काल सहयोग गरिहाल्नुपर्ने ठाउँमा सहयोग गर्ने तर दुरगामी महत्वका कुरामा योजना बनाएरै सहयोग गर्ने उनको भनाइ छ। आफ्नो उपस्थितिमै सहयोग गर्न पाउँदा खुसीको सीमा नरहने उनी बताउछन्। पछिल्लो पटक ९ नम्बर वडाकै भोटेपुलमा विश्रामस्थल निर्माण गरिदिए, सुन्दरले। त्यहाँ पत्रपत्रिका पढ्ने व्यवस्था मिलाइ पनि दिएका छन्। विश्रामालयमा बसेर पत्रिका पढिरहँदा पाठकहरु कति मग्न हुन्छन् त्यो त उनलाई थाहा छैन। तर, उनीहरुलाई हेरेर आफू भने मग्न हुने गरेको सुन्दर बताउछन्। एउटा विश्रामालय मात्रै नभएर हरेक सार्वजनिक थलोमा नागरिकले स्वच्छन्दता महशुस गर्ने वातावरण बने त्यहि नै समृद्धिको सुचक हुने उनी ठान्छन्।

‘हरेक व्यक्तिका हाँसो खुसी नै समृद्धि हो तर समाजका समग्र आकांक्षा पहिल्याउनु जरुरी छ। समृद्धि खोज्न अन्त जानु पर्दैन जस्तो लाग्छ’, उनले सुझाए। सुन्दरको विगत नै के थियो र ? परालको छाना र सण्ठीको बेरा भएको झुप्रो घरमा उनको बाल्यकाल बितेको थियो। घरको आर्थिक अभावमा जर्जर भएको उनी सुनाउछन्।

‘घरमा अहिले के खाउँ, भरे के खाउँको अवस्था थियो’ उनी भन्छन्,‘त्यो पनि एउटा पाठशाला रहेछ, जहाँको सिकाइ आज कामयावी भएको छ। दुःखका अतीतले नै संघर्ष गर्न सिकायो।’ जुङ्गाको रेखि नबस्दै उनी भविश्यको खोजिमा काठमाडौं हानिएका थिए। सबैसँग मिलनासर र घुलमिल हुने स्वभावपुगका सुन्दर काठमाडौंमा ठेक्कापट्टा र हाउजिङ व्यवसायमा जोडिन पुगे। आज उनी आफ्नै ल्याकतले आर्थिक रुपमा सुदृढ भएका छन्। उर्लाबारी ९ को खोपिडाँडा र काठमाडौंमा उनका घर छन्।

‘चाहेको भए युरोप र अमेरिकामै डेराडण्डा जमाइसकेको हुन्थे,’ सुन्दरले भने,‘जुन अवस्थामा रहौ, मलाई मेरो गाउँ नै प्रिय छ, म बाँकी जीवन यहीँ समर्पित गर्न चाहन्छु।’

भक्तपुरको सल्लाघारीमा उनको व्यवसायीक फर्म छ। सुन्दरले आफ्नो आयको केही हिस्सा समाजसेवामा खर्चिदै आएका छन्। राजधानीलाई ‘जीवन संघर्ष’ बनाएका सुन्दरले यता गाउँमा भने माछा र कुखुरा पालन सुरु गरेका छन्। कृषि तथा पशुपालनलाई व्यवसायिक रुपमै अघि बढाउन उनी लागेका छन्। नामले मात्रै हुदैन्, पहिचान पनि हुनुपर्नेमा उनको जोड छ। कृषिकर्मले नै वास्तविक पहिचान दिलाउनेमा उनी विश्वस्त छन्। भन्छन्,‘चुनावमा जितेपछि अर्को पहिचान थपिएला।’

प्रकाशित मिति: : 2022-04-17 13:44:00

प्रतिकृया दिनुहोस्