अन्धकारमा डोल्पा अस्पताल, मोबाइल बालेर उपचार गर्छन् चिकित्सक

डोल्पाको एकमात्र जिल्ला अस्पतालमा एक महिनादेखि विद्युत आपूर्ति बन्द भएको छ।

नेपाल विद्युत प्राधिकरण डोल्पा शाखा दुनै वितरण केन्द्रले अस्पतालका लागि दिँदै आएका छुट्टै लाइन काटेपछि अस्पतालमा विद्युत आपूर्ति बन्द भएको हो।

अस्पताल जस्तो संवेदनशील ठाउँमा विद्युत नभएपछि जिल्लाका विकट ग्रामिण गाउँबस्तीबाट उपचारको आसामा पुग्ने बिरामीको नियमित उपचारमा समस्या भएको छ।

अस्पतालका चिकित्सकहरुले रातिको समयमा आफ्नो मोबाइल बालेर बिरामीको उपचार गर्न बाध्य भएका छन्।

बत्ती नभएकै कारण रातिको समयमा प्रत्येक बिरामीको बेडमा पुगेर स्वास्थ्य जाँच, औषधि वितरणलगायतको काम गर्न निकै समस्या भएको स्वास्थ्यकर्मीको गुनासो छ।

एक महिनादेखि विद्युत आपूर्ति बन्द हुँदा स्वास्थ्यकर्मी र बिरामीका समेत मोबाइल बालेर उपचार गराउन बाध्य भएको डाक्टर अखण्ड उपाध्ययाले बताए।

‘दिउँसो जेततेन भएका सोलारले धान्छ, आफ्नै पालोमा पनि विद्युत नपाउँदा रातिको समयमा एक्सरे, यु.एस.जी मेसिनलगायतका उपकरण सञ्चालन गर्न असम्भव छ। बिरामीको विभिन्न टेष्ट गर्नु परेमा भोलि दिउँसो घाम लागुञ्जेल बिरामी होल्डमा राख्नुपर्छ’, उनले भने।

अस्पतालमा नियमित विद्युतको आपूर्तिका लागि जिल्ला प्रशासन, विद्युत प्राधिकरणलगायतका विभिन्न निकायमा धाए पनि सुनुवाई नभएको उनले बताए।

अप्रेसन नै गर्नुपर्ने बिरामीको उपचार जेनेरेटर प्रयोग गरेर गर्ने गरेता पनि अन्य केसहरुमा मोबाइलको धिपधिपे उज्यालेको भर पर्नु परेको उनको भनाइ छ।

अस्पताल अन्धकारमय हुँदा अक्सिजन लगाउनुपर्ने बिरामीलाई अझ समस्या भएको छ भने रातिको समयमा बिरामी र कुरुवालाई भित्र बाहिर गर्न पनि डर लाग्ने गरेको बिरामीको गुनासो छ।

डोल्पा अस्पतालमा रातिको समयमा अन्धकार हुँदा जेलमा बसेजस्तो महशुस हुने गरेको त्रिपुरासुन्दरी-१ का स्थानीय रणबिर नेपालीले बताए।

स्वास्थ्यकर्मीहरुको सेवा राम्रो भएपनि बत्तीकै कारण उपचारमा समस्या हुने गरेको पाइएको उनको भनाइ छ।

जैरीगार्ड जलविद्युतसँग भएका दुईवटा मेसिनमध्ये एउटाले काम नगरेपछि आलोपालो गर्दा अस्पतालमा बत्ती नियमितगर्न समस्या भएको दुनै वितरण केन्द्रले जनाएको छ।

प्रकाशित मिति: : 2022-04-20 18:00:00

प्रतिकृया दिनुहोस्