पोखरा गठबन्धन: नखाउँ भने निदभरिको सिकार, खाउँ भने कान्छा बा'को अनुहार

Breaknlinks
Breaknlinks

सत्तारुढ दल आसन्न स्थानीय तहको चुनावमा तालमेल गरेर अघि बढ्ने पक्षमा एकमत भए। तर, भागबण्डा नमिलेपछि एकअर्कासँग रुष्ट हुने अवस्था पैदा भएको छ। यसको पछिल्लो उदाहरण पोखरामा देखिएको छ।

पोखरा महानगरपालिकाको टिकट कांग्रेसले पाउनुपर्ने सुरूवाती दाबा गरिरहेको कस्केली कांग्रेसलाई पाखा लगाएर केन्द्रले नेकपा (एकीकृत समाजवादी)लाई टिकट दिएपछि यतिबेला पोखराको माहोल बिग्रिएको छ। केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस पोखरा महानगर कमिटीले कास्की कांग्रेसको कार्यालयमा ताला समेत लगाएकाे छ।

केन्द्रले आफूहरुको आत्मसम्मानमा चोट पुर्‍याएको भन्दै महानगर कमिटीका नेता तथा कार्यकर्ता कास्की पार्टी कार्यालयमा ताला लगाउन पुगेका हुन्। अहिले जिल्ला कमिटी र महानगर कमिटीबीच सहमतिका लागि छलफल चलिरहेको छ।

नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छा बा'को अनुहार

खुलेरै विरोधमा नउत्रिए पनि पोखरा महानगर प्रमुखमा दाबा बोलिरहेका माओवादी नेता तथा कार्यकर्ता रुष्ट बनेका छन्। केन्द्रको यो निर्णय: नखाउँ भने दिनभरिका सिकार, खाउँ भने कान्छा बा'को अनुहारजस्तै भएको माओवादी नेताहरुले प्रतिक्रिया दिएका छन्।

माओवादी प्रदेश कमिटी सदस्य विश्वप्रकाश लामिछाने प्राकृतिक न्यायको सिद्धान्तलाई फलो नगरेको जिकिर गरे। ‘म त पार्टीकाे इमानदार कार्यकर्ता हो, पुरानो कार्यकर्ता हो। निर्णय त मान्न पर्ला नि तर नखाउँ भने दिनभरको सिकार, खाउँ भने कान्छा बा'को अनुहार भने जस्तो भएको छ,’ उनले भने,‘केन्द्रको निर्णय मान्दिनँ कसरी भन्ने। मान्न मनले मानिरहेको छैन।’

२०७४ सालको चुनावमा यहाँ कांग्रेस माओवादी चुनावी तालमेल हुँदा टिकट कांग्रेसको पक्षमा छोडेको हुँदा यसपटक स्वत: आफूहरुले पाउनुपर्ने उनले सुरूवाती दिनदेखि नै दाबा बोलिरहेका थिए। ‘एकपटक पो हुन्छ। अघिल्लो पल्ट पनि छोड्यो। यो पल्ट पनि नपाउनु,’ उनी भन्छन्।

गठबन्धनको पहिलो पार्टी कांग्रेस भएकाले कांग्रेसले नपाए पनि दोस्रो पार्टी आफूहरु पाउनुपर्ने उनले जिकिर गरे। सांगठनीक रुपमा पनि न्याय नभएको उनको ठम्याई छ। ‘तर, न्याय भएन भने पनि हामी सामाजिक प्राणी हो। राजनीतिक रुपमा पनि के गर्न सकिन्छ ? संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन विद्रोह गरेर आएको हो। अझैं कति विद्रोह गर्ने ? पोखरेली जनताले पनि कति साथ दिन्छन्,’ उनले भने।

यता, कास्की कांग्रेस भने रुष्ट कार्यकर्तालाई रिझाउनपट्टी लागेको छ। बुधबार बिहान कार्यालयमा लागेको ताला खुलाउनका लागि छलफलमा बसिरहेको छ। कास्की सभापति किशोरदत्त बरालले कास्की कांग्रेसको एकमत बनाउन आफूहरु जुटिरहेको बताए। ‘हामी छलफलमै छौं। सहमति जुट्छ,’ उनले भने।

मंगलबार मादी– ९ ले गठबन्धन नमान्ने भन्दै कास्की कांग्रेसमा ज्ञापनपत्र समेत बुझाएको थियो। कांग्रेसबाट पोखरा महानगर मेयरका लागि बागी उम्मेदावर उठ्ने सम्भावना पनि होला नि कुरा नमिलेको भए ? भन्ने हाम्रो प्रश्नमा केन्द्रको निर्णयभन्दा बाहिर आफूहरु नजाने बरालले प्रतिक्रिया दिए।

प्रकाशित मिति: : 2022-04-20 19:22:00

प्रतिकृया दिनुहोस्